 
																			१९ माघ, पोखरा । माघ २२ गतेदेखि फागुन ६ गतेसम्म देशभर सञ्चालन भइरहेको पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप गण्डकीमा एक लाख किशोरीले पाउने भएका छन् ।
१० देखि १४ वर्ष उमेर समूहका १ लाख ५ हजार ४७९ जना किशोरीलाई गण्डकी प्रदेशका ११ जिल्लाका २ हजार ५०४ खोपकेन्द्रमार्फत खोप दिन लागिएको हो ।
गण्डकीका किशोरीलाई खोप लगाउने अभियानको तयारी पूरा भएको प्रदेश स्वास्थ्य निर्देशनालयका महानिर्देशक खिमबहादुर खड्काले जानकारी दिए ।
‘प्रदेशका ११ वटै जिल्लामा खोप दिने तयारी गरिएको छ । १० देखि १४ वर्षसम्म समूहका किशोरीलाई एचपीभी खोप किन दिइँदै छ, किन यो खाप लगाउन जानैपर्छ भन्ने प्रचार र सचेतना पनि बनाउनुपर्ने छ,’ खड्काले भने, ‘कास्कीमा मात्र ४०१ खोप केन्द्र तोकिएका छन् ।’
खोपकेन्द्रहरु विद्यालयमा आधारित गरिएको र कास्कीमा मात्र २६ हजार २ सय ९६ जना किशोरीलाई खोप दिन लागिएको स्वास्थ्य मन्त्रालयका सचिव विनोदविन्दु शर्माले जानकारी दिए ।
ह्यूमन प्यापिलोमा भाइरसबाट संक्रमण हुनु पाठेघरको मुखको क्यान्सरको मुख्य कारण भएको चिकित्सकहरुले बताइरहेका छन् । पाठेघरको मुखको क्यान्सर बनाउने भाइरसलाई एचपीभी भाइरस भनिन्छ ।
पाठेघरको मुखको क्यान्सर भएमा यौनसम्पर्कपछि योनीबाट रगत आउने, तल्लो पेट दुख्ने, योनीबाट गन्हाउने पानी बग्ने, योनीबाट अनियमित रूपमा रगत बग्ने, धेरै रगत बग्ने, रक्तअल्पता हुने, कमजोर महसुस हुने लक्षण देखा पर्ने स्वास्थ्य सचिव शर्माले जानकारी दिए ।
९ वर्षअघि कास्की र चितवनमा पाइलट प्रोजेक्टरुपमा यो खोप अभियान थालिएको थियो । कक्षा ६ र विद्यालय नगएका १० वर्ष उमेर समूहका किशोरीलाई खोप दिइएकोमा प्रभावकारी भए पनि देशभर विस्तार गर्ने लक्ष्य लिइएको थियो । तर, कोभिडका कारण अभियोन विस्तार हुन नसकेपछि फेरि खोप अभियान थालिएको हो ।
गत वर्ष सातै प्रदेशका १/१ वटा अस्पतालबाट १४ वर्ष उमेरका करिब १० हजार किशोरीहरूलाई ६–६ महिनाको फरकमा दुई मात्रा एचपीभी खोप दिइएको थियो ।
पहिलो चरणमा एचपीभी खोप लगाउने, दोस्रो चरणमा हरेक महिलाको पाठेघरको मुखको परीक्षण (स्क्रिनिङ) गर्ने र तेस्रो चरणमा तृतीय तहमा क्यान्सर निदान भएका महिलाको उपचार गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpeg) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4