२४ माघ, बुटवल । रुपन्देहीको सैनामैनामा भोलि बिहीबारदेखि सुरु हुने राष्ट्रियस्तरको पुरुष भलिबल प्रतियोगिताको तयारी पूरा भएको छ ।
सैनामैना नगरपालिकाको रामापुर कलोनी खेल मैदानमा फागुन ३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा तीन विभागीय सहित ७ टिमले लिग कम नकआउटका आधारमा उपाधिका लागि प्रतिस्पर्धा गर्ने आयोजकले जनाएका छन् ।
आयोजक दूधराक्ष युवा क्लबले बिहीबार पत्रकार सम्मेलन गरी विजेता र उपविजेता टिमले प्राप्त गर्ने ट्रफी अनावरण गरेको छ ।
प्रतियोगितामा त्रिभुवन अर्मी क्लब,नेपाल पुलिस क्लब, एपीएफ क्लब,गण्डकी प्रदेश भलिबल संघ,कोशी प्रदेश भलिबल संघ,गल्कोट भलिबल क्लब बागलुङ र मणिमुकुन्द भलिबल क्लब रुपन्देहीले प्रतिस्पर्धा गर्ने क्लबका अध्यक्ष किरण पोखरेलले जानकारी दिए ।
खेल अवलोकनका लागि ३ हजार दर्शक क्षमताको प्याराफिट निर्माण गरिएको र अन्य तयारीका काम पूरा भएको उनले बताए ।
प्रतियोगिताको उपाधि विजेताले ५ लाख ५५ हजार ५ सय ५५, उपविजेताले ३ लाख ३३ हजार ३ सय ३३, तेस्रो टिमले एक लाख ११ हजार १ सय ११ र सान्त्वना टिमले ५५ हजार ५५५ रुपैयाँ नगद पुरस्कार पाउने अध्यक्ष पोखरेलले बताए ।
यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले १५ हजार ५५५ तथा उत्कृष्ट स्पाइकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सर्भिस, उत्कृष्ट प्रशिक्षक र उत्कृष्ट सेटरले ७ हजार ७७७ रुपैयाँका दरले नगद पुरस्कार पाउने खेल संयोजक राजकुमार चौधरीले जानकारी दिए ।
प्रतिक्रिया 4