२४ माघ, काठमाडौं । पुष्पसदन विद्यालयस्तरीय टेबलटेनिस प्रतियोगिता बिहीबारदेखि कीर्तिपुरमा सुरु भएको छ । पुष्पसदन सेकेण्डरी बोर्डिङ स्कुलको आयोजनामा भएको प्रतियोगिताको पहिलो दिन प्राइम ग्लोबल स्कूलले वर्चस्व कायम गरेको छ ।
छात्र र छात्रा दुवैतर्फको टिम इभेन्ट्समा प्राइम ग्लोबल विजेता भएको छ । छात्रतर्फ प्राइम ग्लोबल पहिलो हुँदा मंगल सेकेण्डरी स्कूल दोस्रो भएको छ भने हिल टाउन सेकेण्डरी स्कूल र आइडियल मोडल स्कूल संयुक्त रुपमा तेस्रो भएका छन् ।
यसैगरी छात्रातर्फ प्राइम ग्लोबल विजेता बन्दा स्वर्णिम स्कूल दोस्रो तथा मंगल सकेण्डरी स्कूल र आयोजक पुष्पसदन तेस्रो भएका छन् ।
बिहीबार नै सम्पन्न यू–११ छात्रतर्फको उपाधि वृहस्पति विद्यासदनका विनम्र घिमिरेले जितेका छन् । आइडियल मोडल स्कूलका सत्भीक रत्न शाक्य दोस्रो हुँदा डिलाइट किण्डर गार्डेन स्कूलका रुसन शाक्य र केटिएम ग्लोबल स्कूलका कीर्तन श्रेष्ठ तेस्रो भएका छन् ।
बिहीबार यू–११ को छात्रातर्फको प्रतिस्पर्धाबाट विजयी हुँदै पुष्पसदनकी क्रिष्टल भूषाल र प्राइम स्कूलकी नमिला फाइनलमा पुगेका छन् । यो इभेन्टको फाइनल प्रतिस्पर्धा शनिबार हुनेछ ।
शुक्रबार यू–१३ का छात्र र छात्रा तथा सिनियर छात्र र छात्रातर्फको प्रतिस्पर्धा हुनेछ । यी इभेन्ट्सको फाइनल खेल पनि शनिबारै हुनेछन् ।
माघ २६ गतेसम्म चल्ने प्रतियोगितामा ३० वटा विद्यालयका २ सय ३० जना विद्यार्थीले सहभागिता जनाएका छन् ।
प्रतिक्रिया 4