२६ माघ, काठमाडौं । नेपाल ट्रायथलन संघको सातौं वार्षिक साधारण सभा शनिबार सकिएको छ ।
अध्यक्ष निलेन्द्र श्रेष्ठले संघको निर्वाचन पश्चात संघले गरेका क्रियाकलाप र समस्याबारे साधारण सभामा आफ्ना धारणा राखेका थिए । उनले संघका गतिविधिलाई सहजतापूर्वक गर्न चाल्नुपर्ने कदमबारे पनि सदस्यसँग राय मागेका थिए ।
अध्यक्ष श्रेष्ठले आगामी बैशाख १३ र १४ गते पोखरामा आयोजना हुने एशिया ट्रायथलन कपलाई सफलता प्रदान गर्न केन्द्रीय कार्य समितिलाई एकजुट भएर लाग्न निर्देशन दिएका थिए । यसैगरी चैतमा आयोजना हुने १० औं बृहत राष्ट्रिय खेलकुदको तयारी र तदर्थ समितिमा सिमित प्रदेश संघको गठनलाई तीव्रता प्रदान गर्न निर्देशन दिएका थिए ।
संघका संस्थापक अध्यक्ष तथा मानार्थ अध्यक्ष गणेशमान पुनले संघको आगामी दिनमा आयोजना हुने कार्यक्रमको सफलताका साथै आफ्नो तर्फबाट हुन सक्ने सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । संघका उपाध्यक्ष पूर्वप्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले संघलाई मजबुत बनाउने कार्यमा आफ्नो तर्फबाट सक्दो सहयोग बताए ।
प्रतिक्रिया 4