+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

भारतीयबाट बरामद हिरा गुपचुप राख्दा निलम्बनमा परे दुई घुमुवा

प्रहरी स्रोतका अनुसार भारतीय नागरिकले अरु २ किलो सुन ल्याउन लागेको थाहा पाएपछि त्यो सुन समाउन हिरा समाएको घटना गोप्य नै राखेको ती घुमुवा प्रहरीले बताएका छन् ।

अमृत सुवेदी अमृत सुवेदी
२०८१ माघ २८ गते २०:११
सांकेतिक तस्वीर

२८ माघ, पोखरा । एक जना भारतीय नागरिकले बहुमूल्य गरगहना अवैध रुपमा लिएर हिँडेको सुराक कास्कीका २ जना घुमुवा प्रहरीले पाउँछन् । निगरानी गर्दै जाँदा शंकास्पद नै देखिएपछि घुमुवा प्रहरीले ती भारतीय नागरिकलाई समाउँछन् र खानतलासी गर्छन् ।

भारतीय नागरिकको साथबाट हिराजस्तै देखिने ६ थान धातु फेला पर्छ । घुमुवा प्रहरीले त्यो हिरा राख्छन् र भारतीय नागरिकलाई छाडिदिन्छन् । त्यो धातु कहाँ लगियो र अब कसरी कारबाही प्रक्रिया अगाडि बढ्छ भन्ने अन्योलबीच एक दिन बित्छ । आफूबाट हिरा लगिएको २ दिनपछि ती भारतीय नागरिकले प्रदेश प्रहरी कार्यालय गण्डकीमा उजुरी गर्छन् र भन्छन्, ‘प्रहरी हुँ भन्दै मसँग भएको हिरा २ जनाले लिएर गए ।’

सूचना प्राप्त हुनासाथ प्रदेश प्रहरी कार्यालयले जिल्ला प्रहरी कार्यालयसँग यस विषयमा सोधिखोजी गर्‍यो । तर जिल्लाले घटनाबारे अनविज्ञता देखायो । ‘हामीलाई खबर आउनेबित्तिकै जिल्लामा बुझ्यौं, सोधिखोजी गर्‍यौं,’ प्रदेश प्रहरी प्रमुख भोलाबहादुर रावलले भने, ‘यो घटना नै शंकास्पद लागेपछि थप कारबाही प्रक्रिया अगाडि बढायौं ।’

प्रदेश प्रहरीमा उजुरी गर्ने भारतीय नागरिक प्रशान्त सिंहलाई प्रहरीले पक्राउ गर्‍यो र उनीसँग हिरा लिने प्रहरीसँग पनि सोधपुछ गर्‍यो । घुमुवा प्रहरीले सिंहबाट ६ वटा हिरा लिएको तर कमाण्ड सम्हाल्ने अधिकारीलाई जानकारी नै नदिई गुपचुप राखेको पत्ता लाग्यो ।

पोखरामा केही दिन अगाडि घटेको घटना हो यो ।

भारतीयबाट हिरा लिएर उपल्लो निकायमा रिपोर्टिङ नगरेको खुलेको भोलिपल्टै प्रहरीले सहायक हवल्दार धनप्रसाद थापा र जवान दलबहादुर खड्कालाई निलम्बन गर्‍यो भने पक्राउ परेका भारतीय नागरिक र प्राप्त हिरा राजस्व अनुसन्धान कार्यालय काठमाडौंमा बुझाइएको प्रहरीले जनाएको छ ।

बहुमूल्य गरगहना अवैध रुपमा लिएर हिँडेको टोली, जो अहिले प्रहरी हिरासतमा छन् ।

‘ती भारतीय नागरिक शंकास्पद लागेर नै उनीहरुले निगरानी गरिरहेका थिए । पछि उनलाई पक्राउ गरी समातिएको हिरासहित राजस्व अनुसन्धान विभागमा बुझायौं,’ कास्की प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले भने, ‘हिरा लिएर पनि बेलैमा रिपोर्टिङ नगर्ने २ जना घुमुवा प्रहरीलाई निलम्बन गरेर कारबाही प्रक्रिया अगाडि बढाएका छौं ।’

ती भारतीय नागरिक काठमाडौंमै गरगहनाको काम गर्ने खुलेको छ । पोखराबाट पक्राउ गरी ल्याइएका भारतीय नागरिकले हिरा भारतबाट खरिद गरेर ल्याएको बताएको तर बिल नभएको पाइएपछि धरौटी लिएर छाडिएको राजस्व अनुसन्धान विभागका महानिर्देशक चण्डीप्रसाद घिमिरेले जानकारी दिए ।

उनको साथमा फेला परेका ६ वटा धातुमध्ये ४ वटा सक्कली हिरा नै रहेको र २ वटा पत्थर रहेको विभागका सूचना अधिकारी नवराज अधिकारीले जानकारी दिए ।

‘२ वटा पत्थर र ४ वटा सक्कली हिरा रहेछन् तर त्यसको बिल नभएपछि ५० लाखभन्दा कम मूल्य देखिएकाले धरौटी र जरिवाना लिएर छाडिएको हो,’ अधिकारीले भने, ‘१ लाख ७६ हजार बिगो र त्यति नै रुपैयाँ जरिवाना गरी ३ लाख ५२ हजार रुपैयाँ धरौटी लिएर रिहा गरिएको छ ।’

अवैध धातु लिएर हिँडेको आरोपमा पक्राउ गरी राजस्व अनुसन्धान विभागमा बुझाइएका भारतीय नागरिक छुटे पनि हिरा समाएर रिपोर्टिङ नगर्ने घुमुवा प्रहरीलाई भने निलम्बनमै राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रहरी स्रोतका अनुसार भारतीय नागरिकले अरु २ किलो सुन ल्याउन लागेको थाहा पाएपछि त्यो सुन समाउन हिरा समाएको घटना गोप्य नै राखेको ती घुमुवा प्रहरीले बताएका छन् ।

‘तिनै भारतीय नागरिकमार्फत २ किलो सुन पनि बरामद गर्ने भन्दै उनीहरुले हिरा राखेर माथि रिपोर्टिङ नगरेको बताएका छन्,’ प्रहरी स्रोतको दाबी छ, ‘घुमुवा प्रहरीको कुरा सुन्दा नियत खराब देखिँदैन तर माथि रिपोर्टिङ नै नगरी नियम उल्लंघन गरेपछि निलम्बन गरेर कारबाही प्रक्रिया अगाडि बढाउनु परेको हो ।’

ती घुमुवा प्रहरी जिल्ला कार्यालयमा कार्यरत थिए । ‘भारतीय नागरिक शंकास्पद नै भए पनि समयमै रिपोर्टिङ नगरेका कारण उनीहरुलाई निलम्बन गरी कारबाही प्रक्रिया अघि बढायौं,’ एसपी ओलियाले भने ।

कतिपयले प्रहरी कमाण्डमाथि नै यो विषयमा प्रश्नसमेत उठाइरहेका छन् ।

लेखक
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?