 
																			काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दाहिने हातको रुपमा स्थापित अर्बपति एलन मस्कको पछिल्लो एउटा अभिव्यक्तिलाई लिएर व्यापक चर्चा भइरहेको छ ।
वास्तवमा गत जनवरीमा जो बाइडेन प्रशासनलाई लक्षित गर्दै उनले प्यालेस्टाइनको गाजामा अमेरिकी सरकारले ५ करोड डलरको कण्डम पठाएको आरोप लगाएका थिए । त्यस विषयमा मंगलबार ओभल अफिसमा राष्ट्रपति ट्रम्पसँगको संयुक्त पत्रकार सम्मेलनका क्रममा मस्कलाई एकजना पत्रकारले त्यस विषयमा प्रश्न सोधे ।
‘तपाईले प्यालेस्टाइनको गाजामा अमेरिकाले ५० मिलियन डलरका कण्डम पठाएको भनेर सामाजिक सञ्जाल एक्समा लेख्नुभएको थियो । जबकि तथ्यजाँचका क्रममा उक्त गाजा क्षेत्र प्यालेस्टाइनमा नभई मोजाम्बिकको गाजा प्रान्त रहेछ, तपाईले गल्ती लेखेको बारे के भन्नुहुन्छ ?’, पत्रकारले सोधे।
त्यसको जवाफमा मस्कले प्यालेस्टाइनको गाजामा ५ करोड डलका कण्डम पठाइएको आफ्नो अभिव्यक्ति गलत रहेको बताउँदै त्यसलाई सच्चाउनुपर्ने बताए । तर त्यति धेरै रकम मोजाम्बिक किन पठाइयो ?
गाजा नामको प्रान्तले खडा गरेको कन्फ्युजन
पत्रकारहरुसँग मस्कले आफ्नो कुरा गलत हुनसक्ने स्वीकार गरे । यो सबै भ्रम मोजाम्बिकस्थित एकै खालको नामधारी गाजा प्रान्तका कारण सिर्जना भएको हो । आखिर मोजाम्बिकको गाजामा अमेरिकाले किन त्यति ठूलो रकम पठायो त ?
आफ्नो पूरानो गलत अभिव्यक्तिका विषयमा एलन मस्कले पत्रकार सम्मेलनमा स्वीकार गरेको गल्तीको विषय सोसल मिडियामा निकै चर्चित बनिरहेको छ । वास्तवमा मोजाम्बिकको उक्त गाजा क्षेत्र ठूलो संख्याका एचआइभी संक्रमित मानिसहरु बस्ने क्षेत्र हो । सायद त्यहीँ भएर उनीहरुको सहयोगका लागि बाइडेन प्रशासनले ठूलो रकमको सहायता गरेको हुनसक्छ । तर मस्कले ठाउँका विषयमा आफ्नो गल्ती स्वीकार गरेपनि एड्स प्रभावित क्षेत्रमा गरिएको करोडौँको कण्डम सहयोगको औचित्यमाथि चाँहि प्रश्न उठाइरहे ।
गत जनवरीमा ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेविटले बाइडेन प्रशासनले गाजा क्षेत्रमा कण्डम वितरण कार्यक्रम अन्तरगत पाँच करोड डलर सहयोग गर्ने विषयलाई स्वीकृति दिएको तथ्य मस्क नेतृत्वको सरकारी कार्यदक्षता विभागका साथै बजेट र व्यवस्थापन कार्यालयले फेला पारेको बताएकी थिइन् । तर ट्रम्प सरकारले उक्त निर्णयमा रोक लगाएको थियो ।
हमासमाथि कण्डमलाई हतियार बनाएको आरोप
अझ रोचक त के भने प्यालेस्टाइनको गाजामा हमास लडाकुहरुले कण्डमलाई हतियारको रुपमा प्रयोग गरिरहेको दाबी पनि गरिएको थियो । विद्रोहीहरुले कण्डममा बेलुन जस्तै ग्यास भरेर इजरायलतर्फ छाडिरहेको आरोप लगाइएको थियो । ह्वाइट हाउसको उक्त अभिव्यक्तिपछि एलन मस्कले एक्समा एक पोस्ट गर्दै हमासको उक्त क्रियाकलापको एउटा रिपोर्ट पनि शेयर गरे । त्यसमा उनले आखिर सबै कण्डम किन म्यागनमबाटै अर्डर गरिएको छ ? भनेर प्रश्न उठाएका थिए ।
स्मरण रहोस् म्यागनम भनेको धेरै ठूलो आकारका (एक्स्ट्रा लार्ज) कण्डम बिक्री गर्ने कम्पनी हो । मस्कको यस्तो दाबीलाई पूर्ववर्ती बाइडेन सरकारका एक अधिकारीले चाहीँ झुटो बताएका थिए । एजेन्सीहरूको सहयोगमा
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                .jpeg) 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4