+
+
Shares

अस्पतालबाट डिस्चार्ज भए लेबनानमा आक्रमणमा परेका उपरथी ढकाल

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ५ गते ११:३४

५ फागुन, काठमाडौं । संयुक्त राष्ट्र संघको शान्ति मिसन अन्तरगत युनाइटेड मिसन इन्टरिम फोर्स इन लेबनान (युनिफिल) मा कार्यकाल पूरा गरेर फर्किने क्रममा प्रदर्शनकारीको आक्रमणबाट घाइते भएका नेपाली सेनाका उपरथी चोकबहादुर ढकाल उपचारपछि डिस्चार्ज भएका छन् ।

यूएनको लेभल थ्री अस्पताल बेरुतमा उपचारपछि उनलाई आइतबार डिस्चार्ज गरिएको नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीले अनलाइनखबरलाई बताए । उनले अनलाइनखबरसँग भने, ‘अब उहाँ स्वदेश फर्किने क्रममा हुनुहुन्छ ।’

आफ्नो दुई वर्षे कार्यकाल सकेर शनिबार स्वदेश फर्किने क्रममा उनी मध्यराति प्रदर्शनकारीको आक्रमणमा परेका थिए । नाकुरास्थित युनिफिल फोर्स हेडक्वार्टरबाट विमानस्थलतर्फ जाने क्रममा मध्यराति प्रदर्शनकारीहरुले उनको गाडी रोकेका थिए ।

उपरथी ढकाल सवार गाडी बीचमा थियो, अगाडि र पछाडि दुवैतर्फ सुरक्षाकर्मीहरु रहेको जिपले इस्कर्ट गरिरहेको थियो । पहिलो गाडी क्रस गर्ने बित्तिकै ढकाल सवार बीचमा रहेको गाडीलाई प्रदर्शनकारीले रोकेर उनलाई निकालेर कुटपिट गरेका थिए ।

त्यसक्रममा उनको टाउकोमा चोट लागेको थियो । उक्त गाडीमा रहेका थप चार नेपाली शान्ति सैनिक सामान्य घाइते भएका थिए । केहीबेरमा लेबनानी सेनाले उनलाई उद्दार गरेर अस्पताल पुर्‍याएको थियो ।

उपरथी ढकाललाई आक्रमणमा संलग्न रहेको आरोपमा सरकारी अधिकारीहरुले कम्तिमा २५ जनालाई नियन्त्रणमा लिएका छन् ।

समाचार संस्था एपीका अनुसार, इरानबाट आएको एउटा यात्रु विमानलाई बेरुत जाने अनुमति रद्द गर्ने सरकारी अधिकारीहरुको निर्णयविरुद्ध अहिले त्यहाँ विरोध प्रदर्शन चलिरहेको छ ।

लेबनानका सरकारी अधिकारीहरुले इरानले ती उडानमार्फत उग्रवादी समूह हिज्बुल्लाहलाई नगद पठाउने गरेको शंकामा यो निर्णय लिएको भनेका छन् । त्यसअघि नै इजरायली सेनाले इरानले नागरिक उडानमार्फत उग्रवादी समूह हिज्बुल्लाहका लागि नगद तस्करी गर्ने गरेको आरोप लगाएको थियो ।

पछि लेबनानको सरकारले विमानमा प्रतिबन्ध लगाएपछि प्रदर्शनकारीहरुले इजरायलको धम्कीसामु लेबनान झुकेको आरोप लगाएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले उल्लेख गरेका छन् । यसको विरोधमा विमानस्थल जाने मार्गसँगै राजधानी र अन्य सडकहरु अबरुद्ध पारिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?