+

६ गल्ती, जसले बढाउँछ मुटुरोगको जोखिम

२०८१ फागुन  ७ गते १२:३८ २०८१ फागुन ७ गते १२:३८
Shares
६ गल्ती, जसले बढाउँछ मुटुरोगको जोखिम

पछिल्लो समय मुटुका बिरामीको संख्या बढ्दो छ। उमेर पाको भएको अवस्थामा मात्र नभई  कम उमेरमै  पनि मुटुको समस्या देखिने क्रम पनि बढिरहेको छ। यसरी संख्या दिनानुदिन बढ्नुको कारण हाम्रा आनीबानी र गतिविधि धेरै हदसम्म जिम्मेवार छन् ।

दैनिकी र खानपानमा हुने सामान्य गल्तीहरूले पनि मुटुरोगको जोखिमलाई बढावा दिइरहेको  छ। थाहा नभएर वा बेवास्ता गरी गर्ने यी सामान्य लाग्ने गल्तीले धेरैलाई अल्पायूमै मृत्युको मुखमा पुर्‍याइरहेको छ ।

१. अल्छी हुनु

स्वस्थ मुटुका लागि सबैभन्दा महत्वपूर्ण कुरा भनेको शारीरिक कसरत नै हो। हामीले दैनिक गर्ने कामहरू शारीरिक परीश्रम नपर्ने खालका छन् भने नियमितरुपमा शारीरिक व्यायाम गर्नैपर्छ। घरभित्रै वा घर वरिपरि सामान्य दौडने वा हिँड्ने कसरतले पुग्दैन। मुटु स्वस्थ हुनका लागि स्याँ-स्याँ हुने खालकै कसरत गर्नुपर्छ।

व्यायाम गर्नुपर्छ भन्ने हामीलाई थाहा हुन्छ तर आज होस्, अर्को दिन गरौँला भन्दै हामी अल्छी गरिरहेका हुन्छौँ। यसरी हामीले धेरैजसो दिनमा व्यायाम गर्दैनौँ । यो बानीले हामीलाई मुटुरोगको जोखिम पुर्‍याउन सक्छ।

हरेक दिन फरक-फरक समयमा गर्नुपर्ने खालको काम छ भने, कुनैदिन बेलुका, कुनैदिन दिउँसो वा अनकुल समयमा व्यायाम गर्ने गरी रुटिन बनाउनु आवश्यक छ। दिनमा आधा घण्टा कुनै न कुनै समय व्यायामका लागि छुट्याइयो भने त्यसले मुटुरोग लाग्नबाट बचाउँछ। त्यो गर्न नसक्नु हाम्रो ठूलो गल्ती हो।

२ .अनियमित दैनिकी

मुटु स्वस्थ राख्नका लागि शारीरिक कसरतसँगै शरीरलाई आराम पनि चाहिन्छ। कतिजनाको दैनिकी कस्तो हुन्छ भने-सुत्ने, उठ्ने, खाने कुनै कुराको पनि निश्चित हुँदैन।राति ढिलो सुत्ने, बिहान ढिलो उठ्ने गर्दा शारीरिक व्यायाम गर्ने समय हुँदैन । समयको व्यवस्थापन एकदमै महत्वपूर्ण छ । कुनबेला के गर्ने भनेर रुटिनअनुसार चल्नुपर्छ ।

हामीलाई दिनमा कम्तिमा ७ घण्टा आराम चाहिन्छ । सकेसम्म दिनमा ८ घण्टा नभए कम्तिमा ७ घण्टा सुत्नुपर्छ । समयमा सुत्ने, समयमा उठ्ने गर्नुपर्छ ।

३. गलत खानपान

खानपानको कुरामा उच्च क्यालोरीयुक्त खाना, प्रशोधित खाना, ‘ट्रान्सफ्याट’, ‘सेचुरेटेड’ फ्याट भएका खानेकुरा धेरै खाइरहेका छौँ हामीले। बजारमा तयारी खाना जतिपनि छन् । ती सबैमा ट्रान्सफ्याट, एनिमल फ्याट धेरै छ। यी खालका खानेकुरा बढी खाने गल्ती हामीले गरिरहेका छौँ।

सकेसम्म जनावरको बोसो भएको खानेकुरा, चिल्लोमा तारेको, भुटेको खानेकुरा कम खाने गर्नुपर्छ । धुम्रपान मद्यपान गर्नु हुँदैन ।

४. तनाव व्यवस्थापन नगर्नु

तनावयुक्त जीवनशैली पनि मुटुरोगको मुख्य कारण हो। हामीले सकेसम्म तनावलाई कम गर्नुपर्छ । तनाव कम गर्छु भनेर मात्रै त हुँदैन।कहिलेकाँही परिस्थिति नै प्रतिकूल भइरहेको हुन्छ। तर कतिपय अवस्थामा हामीले उचित व्यवस्थापन नगर्दा पनि तनावपूर्ण वातावरण बनिरहेको हुन्छ।

तनावको व्यवस्थापन पनि एक खालको जीवन जिउने कला हो ।त्यसका लागि रमाइला कुराहरूमा भुल्ने, गीत सुन्ने, नाच्ने, मन परेका फिल्म हेर्ने गर्न सकिन्छ ।

फुर्सदको समयमा रमाइला ठाउँमा जाने, सातामा एक पटक कतै भ्रमण गर्ने होकि, हाइकिङ जाने होकि त्यसमा ध्यान दिनुपर्छ । फुर्सद हुँदा मन पर्ने किताब पढ्ने, परिवार वा मनपर्ने मान्छेसँग समय बिताउने गर्नाले तनाव कम भएर जान्छ । यसबाट मुटुरोगको जोखिम कम हुन्छ ।

५. अनावश्यक खाना

मोटोपना मुटुरोगको जोखिम बनिरहेको छ । सुन्दा अप्ठ्यारो लाग्ला तर मोटो हुनुको मुख्य कारण भनेको बढी खाएर नै हो । अझ प्रष्ट भन्नुपर्दा चाहिने भन्दा बढी खाएर हो । मोटो हुँदै गएपछि पेटको आकार पनि बढ्दै जाने हुन्छ । त्यसो भएर मोटो मान्छेले कम खान्छु भन्दा पनि सकिरहेको हुँदैन। थोरै खाएर अघाउँदैन।

बढी खाएपछि त्यसले मोटोपना बढाउँछ। मोटोपनाले अन्य धेरै रोगका साथै मुटु रोगको पनि जोखिम हुन्छ । मोटो भएपछि शारीरिक गतिविधिका लागि मान्छे झन् अल्छी बन्छ। कोलेस्टेरोल बढ्ने हुन्छ, यसले मुटुरोगको जोखिम बढ्छ।

६. एउटै कुरामा धेरै भुल्नु

सधैँभरि एउटै कुरा गरिरहँदा जीवनशैली निरस हुनसक्छ । त्यो हुनबाट बच्न फरक–फरक गतिविधिमा संलग्न हुनुपर्छ । सामाजिक सञ्जालमा मात्रै धेरै भुलिरहने, भिडियो गेम वा कुनै कुरामा धेरै समय बिताउने जस्ता बानीले पनि एक खालको तनाव सिर्जना गर्नसक्छ। त्यस खालका गतिविधिलाई सीमित गनुपर्छ । यसबाट मुटुरोगको जोखिम कम हुन्छ।

बानी मुटुरोग
डा. अनिल भट्टराई
लेखक
डा. अनिल भट्टराई
सहप्राध्यापक तथा कार्डियोभास्कुलर सर्जन

डा. भट्टराई महाराजगन्जस्थित त्रिवि मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा कार्यरत छन् । उनी सो अस्पतालका कार्डियो थोरासिक भास्कुलर सर्जरी विभागीका प्रमुख हुन् । ‘सेभ द र्हाट फाउन्डेशन’ का अध्यक्ष समेत रहेका उनले  कार्डियोभास्कुलर सर्जरीमा एमएस, आइएमसिएस र पीएचडी गरेका छन् ।  उनको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर ३६०२ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय