 
																			६ फागुन, काठमाडौं । भारतको ओडिसा राज्यस्थित एक कलेजमा भएको नेपाली विद्यार्थीको मृत्यु घटनालाई नेपाल र नेपालीहरूको स्वाभिमानसँग जोडेर सांसदहरूले सरकारको ध्यानाकर्षण गरेका छन् ।
मंगलबार राष्ट्रिय सभामा बोल्दै सांसदहरूले विदेशी भूमिमा नेपालीबारे धावा बोल्ने काम भएकोले सरकारले उचित कूटनीतिक कदम चाल्नुपर्नेमा जोड दिएका छन् ।
भारतको ओडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा अध्ययरत छात्रा प्रकृति लम्सालको रहस्यमय मृत्यु भएको छ । यो विषयमा आवाज उठाउने नेपाली विद्यार्थीहरूमाथि गलत व्यवहार भएको सांसदहरूले बताएका छन् ।
‘दुःखका साथ भन्नुपर्ने छ । यो देशको स्वाभिमान निहुरिएको छ’ ओडिसा घटनाबारे सरकारको ध्यानाकर्षण गर्दै सांसद तुलप्रसाद विश्वकर्माले भने, ‘पुनः नेपालीको स्वाभिमानमाथि विदेशी भूमिमा धावा बोलिएको छ ।’
अर्का सांसद राधेश्याम पासवानले ओडिसा घटनाको अविलम्ब र सत्यतथ्य छानबिन हुनुपर्ने बताए । यसका लागि नेपाल सरकारले बलियो कूटनीतिक पहल गर्नुपर्ने उनको आग्रह छ ।

सांसद कृष्णबहादुर रोकाया भविष्यको सुन्दर सपना बोकेर भारत पढ्न गएकी ती विद्यार्थीको मृत्यु रहस्यमय रहेको बताउँछन् । सुरक्षाको सहयोग माग्न कलेज प्रशासनमा गएको लगायतका विषयलाई ख्याल नगरी आत्महत्या भनेर गुपचुप गराउन खोजिएको हो कि ? भन्ने उनको आशंका छ ।
विद्यार्थीमाथि दमन भइराखेको उल्लेख गर्दै उनले अघि भने, ‘आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन म सरकारलाई शिघ्र कूटनीतिक पहल चाल्न आग्रह गर्न चाहन्छु ।’
सांसद मदन कुमारी शाह ‘गरिमा’ले गरिब देशको नागरिक हुनुको पीडा ओडिसा घटना उदाहरण भएको बताइन् । ओडिसा घटनाबारे सरकारको ध्यानाकर्षण गराउँदै उनले भनिन्, ‘गरिब देशको नागरिक हुनुको पीडाबोधले थिचिएका छौं । नेपालीका छोराछोरी जताततै असुरक्षाको जालोले घेरिएको देख्दा आफूले केही गर्न नसकेर ग्लानीको आगोमा जलिरहेका छौं ।’

बैठकमा बोल्दै उनले प्रश्न गरिन्, ‘के नेपालीले सपना देख्न पाउँदैन ?’
यो प्रश्नले नेपालीहरूलाई लखेटिरहेको उनले बताइन् । गरिब देशको नागरिक भएकै कारण उडिसामा विद्यार्थीहरूलाई ‘औंला ठड्याएर तिमी गरिब छौ त्यसकारण न्यायका लागि आवाज उठाउन सक्दैनौ भनेर धम्क्याएको’ पनि उनले बताइन् ।
उडिसा घटनाले नेपालीको स्वाभिमान घाइते हुन पुगेको उनको भनाइ छ ।
अर्का सांसद मोहम्मद खालिदले एक हजार दुई सय नेपाली विद्यार्थीमाथि धावा बोल्ने काम भएको भन्दै दुःख व्यक्त गरे । नेपाली विद्यार्थीमाथि कुटपिट गर्ने, अपमानित गर्ने काम भएको, होस्टेलबाट निकालेर अलपत्र पारिएको उनले बताए । जसप्रति खेद प्रकट गर्दै उनले सरकारले यो घटनालाई स्वाभिमानको रुपमा लिएर कूटनीतिक पहल लिनुपर्नेमा जोड दिए ।

सांसद रेणु चन्द नेपाली विद्यार्थीका लागि भारत असुरक्षित भएकै हो ? भनेर भारत सरकारलाई सोध्न सक्नुपर्ने बताउँछिन् ।
उनी भन्छिन्, ‘नेपाल सरकारले तुरुन्त भारत सरकारलाई प्रश्न गरोस् कि भारतका विश्वविद्यालयहरू नेपाली विद्यार्थीका लागि असुरक्षित भएकै हुन् त ?’
यो प्रश्नसहित कुटनीतिक पहलका लागि सरकारले तुरुन्तै एक्सन लिनुपर्ने उनको आग्रह छ ।
सांसदहरूले उडिसा घटनालाई गम्भीर रुपमा उठाएपछि राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले पनि सरकारको ध्यानाकर्षण गरे ।
‘यस विषयमा सत्यतथ्य छानबिन गरी यथार्थ अवस्था पहिचान गरी निज छात्रालाई उचित न्याय प्रदान गर्न यथाशिघ्र गम्भीर रुपमा कूटनीतिक पहल गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउँछु,’ अध्यक्ष दाहालले भनेका छन् ।
साथै उक्त कलेजमा अध्ययनरत नेपाली छात्र छात्राले सुरक्षित वातावरणमा निर्भिकताका साथ अध्ययन गर्ने वातावरण बनाउन पनि सरकारलाई आग्रह गरेका छन् ।
 
                









 
                     
                                 
 
 
 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                .jpeg) 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4