
५ फागुन, काठमाडौं । कलेज प्रशासनको गम्भीर लापरबाहीका कारण उच्च शिक्षा अध्ययनका लागि भारतको ओडिसा गएकी एक नेपाली छात्राको ज्यान गएको छ ।
कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा पढ्ने एक जना विद्यार्थीले आफूलाई मानसिक यातना दिइरहेको भनेर दुई पटक लिखित उजुरी दिँदा समेत आरोपीले उन्मुक्ति पाएका कारण रुपन्देही स्थायी घर भएकी २० वर्षीया प्रकृति लम्सालको मृत्यु भएको हो ।
प्रकृतिका आफन्त सिद्धान्त सिग्देलले कलेज प्रशासनलाई अड्विक श्रीवास्तवले पटकपटक दिइरहेको मानसिक यातनाबारे प्रमाणसहित दुई पटक उजुरी दिँदा पनि कुनै सुनुवाइ नभएको अनलाइनखबरलाई बताए ।
‘कलेज प्रशासनलाई सबै विगत थाहा थियो, पहिलो पटक उजुरी पर्दा केही दिन कलेजबाट निलम्बन पनि गरेको थियो’, भुवनेश्वरबाट उनले टेलिफोनमा भने, ‘दोस्रो पटक पनि उजुरी गर्दा आइन्दा बहिनीसँग सम्पर्कमा नरहन भनेर लिगल एक्सन नलिई छाडेको रहेछ ।’
पटकपटक विना कारबाही छाडिएपछि श्रीवास्तवको मनोबल बढेको उनले बताए । ‘दुवै पटक बहिनीले कलेजको इन्टरनेशनल रिलेशन अफिसर (आईआरओ) मा निवेदन दिएकी थिइन्’, उनले अनलाइनखबरसँग भने, ‘कलेजले गरेको लापरबाहीकै कारण बहिनीलाई गुमाउनु पर्यो ।’
कारबाही नभई छाडिएपछि उनले पछिल्लो समय प्रकृतिलाई धम्कीपूर्ण सन्देशसहित म्यासेज र कल गर्दै आएको खुलेको छ । प्रकृतिका साथीहरुले सार्वजनिक गरेको एउटा अडियो संवादमा उनलाई ती व्यक्तिले माफी माग्न भन्दै पटकपटक आपत्तिजनक शब्दहरु बोलेको भेटिएको छ ।
जवाफमा प्रकृतिले आफूले केही नगरेको भन्दै रुँदै याचना गरेको सुनिन्छ । ‘मैले केही गरेको छैन’ भन्दै उनले जवाफ दिएकी छन् । युवकले त्यो संवादमा अधिकांश समय अपाच्य शब्दहरु प्रयोग गरेका छन् ।
आइतबार अपराह्न ३ देखि ४ बजेको आसपासमा उनको शव कलेजको छात्रावासमा भेटिएको थियो । त्यहाँ अध्ययरत नेपाली विद्यार्थीहरुका अनुसार, प्रकृतिको कोठामा उनका अरु दुई जना साथीहरु पनि सँगै बस्दै आएका थिए । तर, घटना भएका बेला दुवै जना बाहिर थिए ।
प्रकृतिको मृत्यु भएको जानकारी पाएलगत्तै आरोपी श्रीवास्तव आइतबार राति नै भागेर घरतिर जान खोजेका थिए । कलेजका नेपाली विद्यार्थीहरुले त्यसबारे थाहा पाएसँगै हल्लीखल्ली गरेका थिए ।
त्यसक्रममा उनले राति साढे ८ बजे विजुपटनायक अन्तर्राष्ट्रिय विमानस्थलबाट कोलकाताको सुवासचन्द्र बोस अन्तर्राष्ट्रिय विमानस्थल जानलाई टिकट काटेको फेला परेको थियो ।
तर, विद्यार्थीको प्रदर्शन र दबाबबीच उनको टिकट रद्द भयो भने प्रहरीले उनलाई त्यहीँबाट पक्राउ गरेको छ ।

भुवनेश्वर प्रहरीका डेपुटी कमिस्नर (डीसीपी) पिनाक मिश्राले अनलाइनखबरसँग कुरा गर्दै लम्साल मृत्यु प्रकरणमा आरोपी श्रीवास्तवलाई आइतबार नै प्रहरीले नियन्त्रणमा लिएको पुष्टि गरे ।
‘आरोपी पक्राउ परिसकेका छन् र उनीमाथि अबेटमेन्ट अफ सुसाइड (आत्महत्या उक्साहट) सम्बन्धी कसुरमा छानबिन थालेका छौं’, उनले भने, ‘मृतकको मोबाइल, ल्यापटप लगायत समेत बरामद गरेर जाँच गरिरहेका छौं ।’
भारतको दण्ड संहिताको धारा ३०६ मा आत्महत्या गर्न उक्साउन नहुने सम्बन्धी कसुर छ । त्यसमा अधिकतम १० वर्षसम्म जेल सजाय हुनसक्ने प्रावधान छ ।
विद्यार्थीमाथि कलेज प्रशासनको दमन
लम्सालको मृत्यु भएको विषय सार्वजनिक भएलगत्तै गम्भीर छानबिन माग गर्दै विद्यार्थीहरुले विरोध प्रदर्शन थालेका थिए ।
‘सामान्य आत्महत्या जस्तो गरी कलेजले विवरण सार्वजनिक गरेपछि विगतका उजुरी र मोबाइलमा भेटिएका अरु सामग्रीसहितका कुरा हेरेर गम्भीर अनुसन्धानको माग गर्दै प्रदर्शन गरेका थियौं’, एक विद्यार्थीले अनलाइनखबरसँग भने, ‘यद्यपि, कलेज प्रशासनले छानबिन गर्ने प्रतिबद्धता जनाउनको साटो सुरुमा उल्टै विद्यार्थीलाई दुःख दिने काम गर्यो ।’
उनका अनुसार, त्यहाँ अधिकारीहरुले कलेजको साखमा असर पर्ने भन्दै लम्साल मृत्यु प्रकरणलाई ढाकछोप गर्न खोजेका थिए । ‘तर, हामीले निरन्तर प्रदर्शन गरेर दबाब दिइरह्यौं’, अर्का एक विद्यार्थीले भने, ‘त्यस क्रममा कलेजका सुरक्षाकर्मी प्रयोग गरेर हामीलाई पिट्ने र तर्साउने काम गर्यो ।’
सोमबार दिउँसो केआईआईटी प्रशासनले सूचना नै जारी गरेर नेपाली विद्यार्थीलाई कलेज र होस्टल छाडेर जान उर्दी जारी गरेको थियो । ‘हामी बसेको कोठा कोठामा आएर ढक्ढक्याउँदै निकाल्न थाल्यो, प्रतिवाद गर्दा विद्यार्थीहरुलाई लाठीले हान्यो’, उनले अनलाइनखबरसँग भने, ‘त्यसपछि नेपाली विद्यार्थीहरु झन् समस्यामा परे ।’
केआईआईटी कलेजमा नेपाली विद्यार्थी पठाउने काठमाडौंस्थित एड्मिज एजुकेशन नेपालकी सञ्चालक रिता थापाका अनुसार, त्यहाँ अहिले कम्तिमा १४ सय नेपाली विद्यार्थी अध्ययनरत् छन् ।
‘इञ्जिनियरिङ, व्यवस्थापन, कानून, मेडिकलसहितका विभिन्न कोर्समा नेपाली विद्यार्थी पढ्नलाई त्यहाँ जाने गरेका छन्’, उनले भनिन्, ‘त्यहाँ पिएचडी तहमा पनि नेपाली पढिरहेका छन् ।’
पछिल्लो घटनाबारे भने त्यहीँको कलेजबाट नै जानकारी हुने उनले बताइन् । कलेजले नेपाली विद्यार्थीमाथि दमन गरेपछि विरोध थप चर्किएको छ । घटनाको सूचना सार्वजनिक भएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले चासो राखेका थिए । परराष्ट्र मन्त्रालय हुँदै भारतस्थित नेपाली दुतावासले यसमा तुरुन्तै जानकारी लिएको थियो ।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल एक्समा सूचना राख्दै नयाँ दिल्लीस्थित नेपाली दूतावासबाट दुई जना अधिकारीहरुलाई ओडिसामा पठाइएको जानकारी दिएका छन् ।
‘दिल्लीस्थित हाम्रो दूतावासले नेपाली विद्यार्थीसँग समन्वय गर्न दुई जना अधिकारी त्यहाँ पठाएको छ’, उनले भनेका छन्, ‘यसमाथि नेपाली विद्यार्थीहरुलाई आफ्नो इच्छा अनुसार होस्टलमै बस्न वा घर फर्किन मिल्ने व्यवस्था मिलाइएको छ ।’
विद्यार्थीको निरन्तर आन्दोलन र नेपाली पक्षको दबाबपछि कलेज प्रशासनले पनि अर्को सूचना जारी गरेर नेपाली विद्यार्थीलाई होस्टलमा फर्किन भनेको छ ।
‘हिजो कलेजमा एकदमै अप्रिय घटना भयो, यो मामलामा पुलिसले अनुसन्धान गरिरहेको छ, आरोपी पक्राउ परेका छन्’, रजिष्टारले सोमबार अपराह्न जारी गरेको सूचनामा भनिएको छ, ‘हामी सबै हाम्रा नेपाली विद्यार्थीलाई कलेजमा आउन र कक्षाहरु लिन अपिल गर्छौं ।’
काठमाडौंस्थित भारतीय दूतावासले पनि सूचना जारी गरेर कलेजले होस्टलमा फर्किन सूचना जारी गरिसकेको भन्दै भारत सरकारले नेपाली विद्यार्थीको सुरक्षा प्रत्याभूति दिलाउन आवश्यक कदमहरु चाल्ने भनेको छ ।
— IndiaInNepal (@IndiaInNepal) February 17, 2025
बुबा पुगे ओडिसा, भोलि मात्र पोष्टमार्टम
कलेज प्रशासनले पीडतले आत्महत्या गरेको भनेर आइतबारै विज्ञप्तिमा किटान गरिसकेको छ । तर, उनको पोष्टमार्टम भने भइसकेको छैन । पोष्टमार्टम जाँचबाट मानिसको मृत्युको यकिन कारण थाहा हुन्छ ।
भुवनेश्वर प्रहरीका डीसीपी मिश्रका अनुसार, मृतक लम्सालको अभिभावक सोमबार दिउँसो त्यहाँ पुगेका छन् र मंगलबारदेखि पोष्टमार्टमको प्रक्रिया सुरु हुनेछ । ‘कानूनी प्रक्रिया हो, त्यसैले बुबाआमा नआइपुगुञ्जेल शव अस्पतालमै राखिएको थियो’, उनले टेलिफोनमा भने, ‘यसमा गम्भीरतापूर्वक अनुसन्धान भइरहेको छ ।’
अनलाइनखबरलाई प्राप्त प्रहरीमा दर्ता प्रारम्भिक घटना रिपोर्ट (एफआईआर) मा लम्सालका आफन्त सिद्धान्त सिग्देलले उनको मृत्युमा विद्यार्थी अड्विक श्रीवास्तव मुख्य दोषी भएको उल्लेख गरेका छन् ।
‘बहिनीको मोबाइल फोनमा म्यासेज, कल रेकर्ड र यस सम्बन्धी अन्य महत्वपूर्ण प्रमाणहरु छन्, बरामद गरेर अनुसन्धान गरिपाउँ’, एफआईआरमा भनिएको छ, ‘मोबाइल फोन र अन्य महत्वपूर्ण चिजहरु वार्डेनका साथमा छन्, तत्काल बरामद होस् र एक्सन लिइयोस् ।’ त्यसमा बहिनीलाई ब्ल्याकमेल र ह्यारेसमेन्ट गरेको प्रमाण रहेको उल्लेख छ ।
सिग्देलले अनलाइनखबरलाई बताएअनुसार, आइतबार अपराह्नको घटना भए पनि सोमबार बिहान मात्र प्रहरीको फरेन्सिक टोली घटनास्थलमा पुगेको थियो । डीसीपी मिश्राले भने प्रहरीले सूचना पाएलगत्तै घटनास्थलमा पुगेर कोठालाई ‘कस्टडी’मा लिएको भनेका छन् ।
‘रुम सिल गरेर प्रमाणहरु संकलन गरेका थियौं, विद्यार्थीहरुको प्रदर्शन उहाँहरुको मागअनुसार गम्भीरतापूर्वक वैज्ञानिक टिम पनि पठाएका थियौं’, उनले भने, ‘यसमा सिनियर अफिसर आफैं पनि त्यहाँ पुगेका थिए ।’
मृतकको ल्यापटप, मोबाइल लगायतका सामग्रीको डिजिटल जाँच सुरु हुने उनले बताए । सोमबार राति नै सामाजिक सञ्जाल एक्समा एउटा थ्रेड भाइरल भएको थियो, जसमा उनलाई एक जना व्यक्तिले दुर्व्यवहार गरेर शहर छाडेर भाग्न लागेको भनिएको थियो ।
कलेजले पहिले उनले दिएको सूचनामा केही नगरेका कारणले यस्तो घटना भएको त्यसमा उल्लेख गरिएको थियो ।
‘एउटा जिन्दगी एक व्यक्तिको टक्सिसिटीले गरेर मात्र सकिएन, कलेजको लापरबाहीले पनि सकियो’, थ्रेडमा भनिएको छ, ‘अहिले जिम्मेवारी लिन छाडेर कलेजले घटनालाई ट्वीस्ट गर्न खोजिरहेको छ । सत्यलाई छोपेर आफ्नो साख मात्र जोगाउन खोजिरहेको छ ।’
प्रतिक्रिया 4