 
																			७ फागुन, काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा शीर्ष नेताहरूको अनुपस्थितिलाई लिएर असन्तुष्टि व्यक्त गरेका छन्।
सैनिक मञ्चमा आयोजित उक्त कार्यक्रममा प्रधानमन्त्री, उपप्रधानमन्त्रीलगायत उच्चपदस्थ व्यक्तिहरू उपस्थित भए पनि प्रमुख प्रतिपक्षी दलका नेतासहित पूर्वप्रधानमन्त्रीहरू कोही पनि उपस्थित नभएकोमा उनले सामाजिक सञ्जालमार्फत आफ्नो निराशा व्यक्त गरेका हुन्।
भट्टराईले प्रायः यस्ता राष्ट्रिय दिवसहरूमा यस्तो दृश्य देख्दा मन खिन्न हुने गरेको बताएका छन्। राष्ट्रिय दिवसहरूका बारेमा केही कुराहरू सच्याउनुपर्ने र संख्या घटाउनुपर्ने आफ्नो धारणा रहेको उनले उल्लेख गरेका छन्।
तर, अर्को निर्णय नभएसम्म राष्ट्रिय दिवसहरूलाई सबैले सम्मान गर्नुपर्ने उनको जोड छ। विशेषगरी राज्यको उच्च ओहोदामा बसिसकेका व्यक्तिहरूले आ-आफ्ना फरक राजनीतिक आस्थाका बाबजुद राष्ट्रिय दिवसहरूको सम्मान गर्ने न्यूनतम दायित्व निर्वाह गर्नुपर्ने डा. भट्टराईले बताएका छन्।
के भने डा. भट्टराईले ?
फागुन ७ गते ‘प्रजातन्त्र दिवस’ को उपलक्ष्यमा राज्यद्वारा सैनिक मंचमा आयोजित र शीर्ष ६ उपस्थित निकै आकर्षक कार्यक्रममा सरकार पक्षकै पूर्व प्रधानमन्त्री तथा वहालवाला उपप्रधानमन्त्री लगायतका वरिष्ठ व्यक्तित्वहरू र प्रमुख प्रतिपक्षी दलका नेता लगायतका पूर्व प्रधानमन्त्रीहरू (यो बबुरो बाहेक!) कोही पनि उपस्थित नभएको देख्दा निकै नमिठो अनुभूति भयो।यस पटक मात्र हैन प्रायः सधैं यस्तो दृश्य देख्नुपर्दा मन खिन्न हुन्छ! आखिर किन यस्तो हुन्छ? राष्ट्रिय दिवसहरूबारे कतिपय सच्याउनुपर्ने कुरा छन्। तीबारे पुनर्विचार गरेर संख्या घटाउनुपर्छ भन्ने मेरो सुरूदेखि नै दृढ मत छ।
तर अर्को निर्णय नभएसम्म राष्ट्रिय दिवसहरूलाई सबैले सम्मान गर्नुपर्दछ। खासगरी राज्यको उच्च ओहदामा बसिसकेका व्यक्तिहरूले आआफ्ना फरक राजनीतिक आस्थाका बावजुद राष्ट्रिय दिवसहरूको सम्मान गर्ने न्यूनतम दायित्व निर्वाह गर्नैपर्छ।
साथै विशेषतः सेना/प्रहरी/सशस्त्र प्रहरीका जवान र सांस्कृतिककर्मीहरूले सधैं निकै मेहनत गरेर उच्चकोटीको र देशभक्तिपूर्ण प्रस्तुती दिने गर्दछन्। अनि स्थानीय पालिकाहरूको सांस्कृतिक झाँकी, राष्ट्रिय खेलाडीहरूको तेक्वान्दो प्रदर्शन लगायतका प्रस्तुती प्रशंसायोग्य हुन्छन्। तिनलाई हौसला दिने कथित ठूलाबडाहरूको कर्तव्य होइन? कि चुनावको बेला मात्रै दाँत ङिच्याउँदै जाने हो?
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                .jpeg) 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4