९ फागुन, काठमाडौं । कुनै पनि खेलको दक्षिण एसियाली स्तरको प्रतियोगिता भनेको नेपालको लागि अन्तर्राष्ट्रिय स्तरमा अगाडी बढ्ने एउटा बाटो हुनेछ । दक्षिण एसिया हुँदै एसिया र अन्य अन्तर्राष्ट्रिय यात्रामा निस्कनको लागि दक्षिण एसियाली प्रतियोगिता राम्रो अवसर बन्न सक्छ ।
बास्केटबलमा पनि नेपालले दक्षिण एसियाली स्तरको प्रतियोगिता साबा च्याम्पियनसिपहरु खेल्दै आएको छ । तर पछिल्लो समय यही प्रतियोगिता पनि निरन्तर हुन सकेको छैन ।
नेपाली बास्केटबल टिमका लागि अहिले खेल्ने मध्येको ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता नै साबा नै बनेको छ ।
नेपाली राष्ट्रिय महिला बास्केटबल टोलीले भारतमा हुने तेस्रो साबा वुमन्स च्याम्पियनसिप खेल्दैछ । तर त्यसका लागि टिमको तयारी र नेपालको सहभागिता नै सुनसान रुपमै भयो ।
आयोजक भारतसहित नेपाल र माल्दिभ्स सहभागि हुने उक्त प्रतियोगिता फेब्रुअरी २६ देखि २६ सम्म भारतको नयाँ दिल्लीमा आयोजना हुँदैछ । यसका लागि नेपालले करिब एक महिना अघि देखि तयारी थालेको थियो । तर खासै चर्चा भने पाउन सकेन ।
प्रतियोगिता खेल्न जाने नेपाली महिला बास्केटबल टोली पनि शुक्रबार बिहान भारत प्रस्थान गरेको छ । तर यसको कुनै आधिकारिक जानकारी बाहिर आएन । टिमको बिदाईका कुनै औपचारिक कार्यक्रम पनि भएन । यसबारे नेपाल बास्केटबल संघ (नेबा) अध्यक्षलाई सोध्दा उनले राष्ट्रिय खेलकुद परिषद (राखेप) ले बिदाई कार्यक्रम गर्नुपर्ने बताए । राखेपले बजेटमा पनि कुनै सहयोग नगरेको गुरुङले बताए ।
यद्यपी अनुशा मल्लको कप्तानीमा रहेको नेपाली टोली भने आफ्नो तयारीबाट राम्रो नतिजा ल्याउनेमा विश्वस्त छ । ‘हामीले राम्रो तयारी गरेका छौँ यस पटक । हाम्रो टिममा विश्वास छ ।’ कप्तान मल्लले अनलाइनखबरसँग भनिन् ।
अनुसाको कप्तानीमा नेपालले पहिलो पटक साबा महिला बास्केटबल खेल्ने लागेको हो । यसअघि दुई संस्करण खेल्दा उनी टिमको सदस्य थिइन् ।
यसअघि उनको कप्तानीमा नेपालले सिक्किमा भएको स्थानिय महिला बास्केटबल प्रतियोगिता खेलेपनि त्यो अफिसियल अन्तर्राष्ट्रिय प्रतियोगिता थिएन । त्यसैले साबामार्फत नै अनुसाको अन्तर्राष्ट्रिय कोर्टमा कप्तानी डेब्यु पनि हुनेछ । यसलाई लिएर पनि उनी उत्साहित छिन् । ‘एकदमै खुशी छु । उत्साहित पनि छु । साथै लिडरको रुपमा जिम्मेवारी फिल गरिरहेको छु ।’
नेपालको लक्ष्य उपाधि
नयाँ दिल्लीमा चार दिन चल्ने प्रतियोगितामा तीन राष्ट्र मात्र सहभागि छन् । भारतले पहिलो पटक साबा वुमन्स च्याम्पियनसिप खेल्दैछ भने नेपाल र माल्दिभ्स लगातार तेस्रो पटक खेल्दैछ ।
यस पटक पनि विगतमा जस्तै नेपालको लक्ष्य उपाधि जित्नेमै छ । यसअघि भएको दुवै संस्करणमा नेपाल उपविजेता बनेको थियो । त्यसैले पनि नेपाली टोलीमा त्यो च्याम्पियन बन्ने भोक कायम छ ।
सिनियर र युवा खेलाडीको मिश्रणमा टिम राम्रो बनेको र स्वर्ण नै जित्ने लक्ष्य रहेको कप्तान अनुशाले बताइन् । ‘यस पटक भारत पनि सहभागि छ । तर भारत भएपनि हाम्रो लक्ष्य गोल्ड नै हो । हामी हाम्रोतर्फबाट सक्दो प्रयास गर्दै शतप्रतिशत दिनेछौँ ।’ उनले भनिन् ।
नेपालले च्याम्पियनसिपको पहिलो खेलमै आयोजक भारतसँग खेल्दैछ । दोस्रो खेल नेपाल र माल्दिभ्सबीच हुनेछ भने भारत र माल्दिभ्सले लिगको अन्तिम खेल खेल्नेछन् । तीन खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
दोस्रो संस्करण भएको साढे दुई वर्षपछि साबा वुमन्स च्याम्पियनसिपको तेस्रो संस्करण आयोजना हुन लागेको हो । पछिल्लो पटक २०२२ मा माल्दिभ्समा भएको च्याम्पियनसिमपा नेपाल उपविजेता बनेको थियो ।
सन् २०१६ मा नेपालमै भएको पहिलो संस्करणमा पनि श्रीलंकाले उपाधि जित्दा नेपाल उपविजेता बनेको थियो । पहिलो र दोस्रो संस्करणमा सहभागि नभएको भारत पहिलो पटक खेल्दैछ । दुई पटकको विजेता श्रीलंका भने यस पटक सहभागी छैन ।
समयसँगै परिवर्तन भइरहेको महिला बास्केटबल
नियमित घरेलु र अन्तर्राष्ट्रिय प्रतियोगिता नहुनु, खेलाडीहरु विदेश जानु र भविष्य सुनिश्चित नहुँदा महिला बास्केटबल पनि समय अनुसार परिवर्तन भइरहेको छ ।
अहिलेसाबा खेल्न जाने टिम हेर्दा पनि त्यो प्रमाणित हुन्छ । यसअघि दुवै साबा खेलेको कप्तान अनुशा बाहेक नेपाली टोलीमा सिनियर र अनुभवी खेलाडी छैनन् ।
सन् २०१९ मा काठमाडौंमै भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा फुल कोर्टतर्फ खेलेको टिमबाट अनुशा र प्रेदिका मर्हजन मात्र अहिले टिममा छन् । यस्तै सन् २०२२ मा माल्दिभ्समा भएको दोस्रो संस्करणको सामा वुमन्स च्याम्पियनसिपमा पहिलो पटक टिममा परेकी गरिसा सिलवाल र मिना गुरुङले पनि धेरै अन्तर्राष्ट्रिय खेल खेल्न पाएका छैनन् ।
गरिसा, मिना र रिन्छेन लामाले २०२३ मा चीनको हान्झाउमा भएको १९औं एसियन गेम्समा थ्री बाई थ्री तर्फ प्रतिस्पर्धा गरेका थिए । त्यसैले नेपाली टिममा अन्तर्राष्ट्रिय अनुभव भएको खेलाडी थोरै छन् । धेरै खेलाडी पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दैछन् । तर पनि नेपाली टिम राम्रो गर्नेमा विश्वस्त छ ।
युवा र नयाँ खेलाडीहरुका लागि पनि यो आफ्नो खेल देखाउने र एक्सपोजर बटुल्नका लागि राम्रो अवसर बन्न सक्छ । कप्तान अनुशाले पनि नयाँ खेलाडीहरुका लागि यो अवसर हुने बताइन् । ‘समयसँगै महिला बास्केटबल टिम पनि परिवर्तन भइरहेको छ । यस पटक हाम्रो टिममा युवा र सम्भावना बोकेका खेलाडीहरु छन्,’ उनले भनिन्, ‘उनीहरुले जति खेलको एक्पोजर पायो उनी नै राम्रो हुन्छ । जुनियर खेलाडीको साथले हाम्रो पूरा टिमलाई नै राम्रो हुन्छ ।’
प्रतियोगिताहरु धेरै नहुँदा पनि नयाँ खेलाडी नदेखिएको र भएका खेलाडीहरुले पनि खेल्न पाउँदैनन् । त्यसले गर्दा खेलाडीहरुले पनि खेल्ने अवसर पाएका छैनन् । तर खेलाडीहरु बास्केटबल खेल हुन्५ भन्ने आशामा अघि बढिरहेका छन् । ‘नेपालमा महिला बास्केटबलको खेलहरु त्यति हुन सकेको छैन । तर अन्तर्राष्ट्रिय रुपमा भने गेमहरु भइरहेको नै हुन्छ । अब हामीले सबैमा सहभागि हुन मिल्दैन । कुनै प्रतियोगितामा विभिन्न कारणले सहभागि हुन सकिँदैन,’ उनले भनिन्, ‘तर विस्तारै राम्रो हुन्छ भन्ने आशा छ । सबै खेलाडीहरु त्यही आशाका साथ अघि बढिरहेका छन् ।’
नेपाली टोली:
अनुशा मल्ल (कप्तान), गरिसा सिलवाल, मिना गुरुङ, रिन्छेन लामा, प्रेदिका महर्जन, सबिता खड्का, अस्मिता केसी, रोशनी श्रेष्ठ, सुहाना मल्ल, कृति चौधरी, जेनिशा श्रेष्ठ, प्रथा वैद्य
प्रतिक्रिया 4