
१० फागुन, काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले स्थानीय खानेकुरालाई प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएका छन् । शनिबार स्वयम्भू महोत्सवको उद्घाटन गर्दै उनले नेपालको विशेषता भनेकै स्थानीय खानेकुरा, संस्कृति, धर्म, कला भएको बताए ।
स्थानीय पहिचान र सम्भावना प्रवद्र्धनका लागि काठमाडौँ महानगरपालिका अन्तर्गत वडा नं १५ को आयोजनामा एक हप्ते स्वयम्भू महोत्सव आजबाट सुरु भएको छ ।
महोत्सवले नेपालको संस्कार, संस्कृति, धर्म, कला र परिकारहरूको प्रवद्र्धन गर्ने बताउँदै उनले युवा पुस्तालाई स्थानीय परिकार, धर्म, संस्कृति र कलाको महत्त्व बुझाउनसके नेपालले धेरै प्रगति हासिल गर्ने बताए ।
‘हाम्रो विशेषता नै यही हो । हाम्रो धर्म संस्कृति, कला र खाने परिकार सँगसँगै जाने भएकाले यस्तो महोत्सवले यि तीन वटै कुरालाई प्रचार प्रसार गर्ने र नयाँ पुस्तालाई पनि हाम्रो परिकार के हो भन्ने बुझाउने मौका पनि हो,’ मेयर बालेनले भने, ‘अहिलेको नयाँ पुस्तालाई यो खानेकुरा खाँदा के असर गर्दछ, यसमा क्याल्सियम छ की छैन ? प्रोटिन छ की छैन । यस्तो कुराको जानकारी एकदमै लिन खोज्छ । हाम्रो स्थनीय परिकारहरुमा न्युट्रिसियन भ्याल्युहरु एकदमै धेरै हुन्छ । धेरै हुन्छ भन्नेकुरा हामीले प्रचार गरिरहेका हुँदैनौँ ।’
उनले नेपाली परिकारहरू धेरै नै पौष्टिक रहेको उल्लेख गर्दै अहिले विदेशीहरूले सिको गरेर खाने गरेको बताए ।
‘हाम्रो स्थानीय उत्पादनहरुमा के कति पाइन्छ भन्नेकुरा बिस्तारै नयाँ पुस्तालाई भन्दै गए हाम्रो खानेकुराप्रतिको आकर्षण अझै बढ्छ । हाम्रो खाना, हाम्रो खाजा यति सम्पूर्ण छ, अहिले विदेशीहरूले कुरा बुझ्दै हाम्रो खाने कुराहरू अपनाउन थालेका छन् । यसलाई प्रवर्द्धन गर्दै जानुपर्छ,’ बालेनले भने ।
प्रतिक्रिया 4