 
																			काठमाडौं । फिल्म ‘होस्टेल ३’मा डेब्यु गरेसँगै अहिले चर्चित टिकटकर ‘कुल ब्वाय’ अर्थात पारस बम ठकुरीको चर्चा चुलिएको छ । कुनैबेला घण्टौं टिकटक लाइभमा बिताउने र हजारौं फ्यानको मन जितेका उनले ठूलो पर्दामा भाग्य खोज्ने प्रयास गरेका छन् ।
अर्की टिकटकर सिम्रन पन्तको कथा पनि कुल ब्वायकै जस्तो छ । यी चर्चित टिकटकरले पनि ‘होस्टेल ३’बाट डेब्यु गर्दैछन् । फिल्मको ट्रेलर हेर्दा, यी दुईजनालाई जोडीको रुपमा रहेको अनुमान गर्न सकिन्छ ।
छायांकनअघि भारतमा बसेर अभिनय सिक्दै आएकी सिम्रन अब नेपाली फिल्ममा करिअर अघि बढाउने योजनामा छिन् । किनभने, पारस र सिम्रन दुबैजना नेपालका चलेका ‘कन्टेन्ट क्रिएटर’ हुन् । सामाजिक संजालमा उनीहरूको लोभलाग्दो फ्यान फलोइङ छ ।
यतिबेला दुबैजना २३ फागुनदेखि रिलिज तयारीमा रहेको फिल्मको प्रवद्र्धनमा ब्यस्त छन् । यही सिलसिलामा यस सप्ताहन्तमा उनीहरू अनलाइनखबरसँग गफिए । टिकटकमा मात्र सीमित रहेका उनीहरूले केही फरक गर्नुपर्छ भन्ने सोचले आफूहरू फिल्ममा आएको एकैस्वरमा बताए ।
राम्रो कथा र मिलेको टिम भयो भने आफूलाई राम्रोसँग अभिनयमा उतार्न सकिने उनीहरू बताउँछन् । आफूहरूलाई सुहाउँदो पात्र भएकाले यो फिल्मलाई गुमाउनु हुँदैन भनेर अनुबन्धित भएको उनीहरूले बताए । उनीहरूले फिल्म साइन गर्ने कार्यलाई अहिलेसम्मकै राम्रो निर्णयको रुपमा अथ्र्याए ।

पारसले टिकटकबाट राम्रो आम्दानी र फ्यान कमाइरहेका थिए । राम्रै चलिरहँदा कन्टेन्ट क्रियसनबाट फिल्ममा लाग्नुको कारणबारे उनी भन्छन् -‘आफूले बनाएको कन्टेन्टलाई त दर्शकले त्यति मनपराउनु भएको छ, यदि राम्रो कथामा राम्रो टिमले आफूलाई देखाउन सक्नुभयो भने कस्तो गर्न सकिएला भन्ने थियो । सधैँ आफूलाई एउटै काममा सीमित बनाएर पनि हुन्न । त्यही सोचले फिल्ममा लागेको हुँ ।’
अहिले अभिनयमा लागे पनि रुचि भने फिल्म निर्माणमा रहेको उनले बताए । ‘मेरो रुचि फिल्म बनाउनमा धेरै छ । कथा लेख्न अनि निर्देशन गर्न मलाई एकदम मनपर्छ । फिल्म रोज्नुको कारण यी सबै सिक्छु भन्ने भएर पनि हो’ पारसले भने ।
‘कन्टेन्ट क्रिएसन’बाट फिल्मसम्म आएका पारस पहिलो व्यक्ति भने होइनन् । यसअघि पनि धेरै ‘कन्टेन्ट क्रिएटर’ फिल्ममा आएका छन् तर टिक्न भने सकेका छैनन् । यही कुरामा पारस भन्छन्- ‘फिल्ममा टिक्ने नटिक्ने कुरा आफ्नो क्षमतासँगै कथामा पनि भर पर्छ । साथै मिडियाले पनि उसलाई कसरी देखाउँछ भन्ने कुराले पनि फरक पर्ने गर्छ ।’
उनले कुन व्यक्ति कहाँबाट आयो भन्दा पनि काम कस्तो गर्छ भन्ने कुरामा चर्चा हुनु जरुरी रहेको बताए । ‘को कहाँबाट आयो भन्दा पनि कसले कस्तो काम गर्यो भन्ने कुरामा ध्यान दिन सके सबैको लागि राम्रो हुने थियो ।’ आफूलाई फिल्मसम्म ल्याउनमा टिकटकको ठूलो हात रहेको उनले बताए ।
पारसले आफ्नो पहिलो फिल्मको अनुभव सुनाउँदै भने- ‘टिम सोचेजस्तो हुनाले पहिलो फिल्म हो भन्ने डर भने लागेन । सबै सोचेजस्तै भयो । आफ्नो तर्फबाट सकेको गरेको छु । नतिजा रिलिजपछि नै थाहा होला ।’ फिल्मको रिलिजअघि म्युजिक भिडियोको अफर पनि आएको तर, नगरेको उनले बताए ।
सिम्रनले पनि डेब्यु अनुभव सेयर गरिन् । उनले भनिन्, ‘फिल्म सोचेकोभन्दा निकै रमाइलोसँग सम्पन्न भयो । म्युजिक भिडियो गर्दै आएता पनि फिल्ममा अभिनय गर्ने कुरा सुन्दा सुरुमा कता–कता डर भने थियो तर अहिले आफ्नो कामबाट निकै सन्तुष्ट छु ।’

यसअघि पनि फिल्मबाट अफर आएको तर अभिनय गर्न तयार नभएकाले साइन नगरेको उनले बताइन् । त्यसपछि अभिनय सिक्न भारत गएको उनले सुनाइन् । ‘अहिले अभिनयको लागि तयार छु । सिकेर गरेको काममा निकै फरक हुँदो रहेछ ।’ अबको समय अभिनयमा खर्चिने उनको तयारी छ ।
पारस र सिम्रन दुवै जनाले सामाजिक सञ्जालले गर्दा आफूलाई चिनाउन धेरै मद्दत गरेको बताए । सरकारले हालै संसदमा पेश गरेको सामाजिक संजाल विधेयकबारे उनीहरू भन्छन्, ‘सामाजिक सञ्जाललाई सुधार गर्नुपर्ने त छ तर बन्द गर्नुभन्दा कस्तो कुरा देखाउने, कस्तो देखाउन नमिल्ने भनेर नियम बनाए निकै प्रभावकारी हुने थियो ।’
शब्द : प्रतिक्षा रिजाल
तस्वीर : शंकर गिरी 






 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4