 
																			वीरेन्द्रनगर । कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको दोस्रो संस्करण आइतबारदेखि सुरु भएको छ । रेड चेरीको आयोजना तथा चलचित्र विकास बोर्डको सहकार्यमा आयोजित महोत्सव फागुन २५ देखि २६ गतेसम्म कर्णालीमा सम्पन्न हुनेछ ।
महोत्सव उद्घाटन कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले गरे । उद्घाटन गर्दै मुख्यमन्त्री कँडेलले कर्णाली प्रदेश फिल्म छायांकनको लागि सर्वोत्कृष्ट भएको बताए ।
उनले भने, ‘तपाई चलचित्रकर्मीले केही चलचित्र बनाएर कर्णालीको पर्यटन विकासमा योगदान पुर्याउनुभएकोमा धन्यवाद दिन चाहन्छु । हामीले हाम्रो क्षेत्रको विकासका निम्ति पहिला नै गर्नुपथ्र्यो तर त्यो समयमा गर्न सकेनौं । अहिले तीनै तहका सरकार मिलेर पूर्वाधारको विकासलाई जति छिटो पुग्न सक्छौ यस्ले चलचित्र क्षेत्रलाई पनि सहयोग र सार्थक सिद्ध हुनेछ ।’

‘कर्णालीको गुराँस, दैलेख, जुम्ला र रारामा गरिने कार्यक्रमले नेपाल भाषाको उद्गम थलो सिँजा सभ्यतालाई पनि प्रचार गर्ने र प्रदेशले राखेका महान लक्ष्य यो कार्यक्रमले पुरा गर्नेछ’ उनले भने ।
विशेष अतिथिका रूपमा पूर्वमुख्यमन्त्री जीवनबहादुर शाही, पूर्वराज्यमन्त्री कुन्ती शाही, पूर्वमन्त्री रामकुमारी झाँक्री, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी, अभिनेता प्रदीप खड्का, फिल्म ‘पुजार सार्की’ फेम्ड लेखक एवं निर्देशक विकास सुवेदी सहभागि थिए ।
महोत्सव निर्देशक चक्रबहादुर चन्दले कर्णालीलाई चलचित्र पर्यटन गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बताए । यस अवसरमा विकास सुवेदीको निर्देशनमा बन्न लागेको ‘२६ करोड’ नामक फिल्मको कर्णालीमै छायांकन गर्ने औपचारिक सम्झौता समेत गरियो ।

उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणा, मुक्तिनाथ विकास बैंकका सीईओ प्रधुम्न पोखरेल, कलाकार, चलचित्रकर्मी तथा स्थानीय बौद्धिक व्यक्तित्वहरूको समेत उपस्थिति थियो । महोत्सवअन्तर्गत सोमबार गुराँस गाउँपालिकामा ‘गुराँस चलचित्र संवाद’ कार्यक्रम आयोजना गरिँदैछ ।
उक्त संवादमा कर्णाली प्रदेशमा चलचित्रको भविष्य, स्थानीय कथावस्तुको सम्भावना र क्षेत्रीय चलचित्र विकासका विषयमा छलफल गरिनेछ । चलचित्र विकास बोर्डको सहकार्यमा आयोजित महोत्सवले कर्णालीलाई नेपाली तथा अन्तर्राष्ट्रिय चलचित्रका लागि प्रमुख छायांकन स्थलका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । कर्णालीका मौलिक कथा, प्राकृतिक सौन्दर्य, र सांस्कृतिक धरोहरलाई नेपाली चलचित्रमा समेट्न विशेष पहल गरिने आयोजकको दाबी छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4