२६ फागुन, हेटौंडा।दशौं राष्ट्रिय हेटौंडा भेट्रान्स कप फुटबलको उपाधि काठमाडौंको किङकम भेट्रान्स क्लबले जितेको छ ।
हेटौंडा-४, स्थित हुप्रचौरमा सोमबार भएको फाइनल खेलमा किङकमले काठमाडौंकै फ्रिडम फाइटर भेट्रान्सलाई पेनाल्टी सुटआउटमा ३-२ गोल अन्तरले पराजित गरेको हो ।
निर्धारित समयमा १-१ गोलले बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । फ्रिडम फाइटरले गोल गर्दै खेलमा लिएको अग्रता किङकमले १३ मिनेटमा उल्ट्याएको थियो ।
खेलको १४औं मिनेटमा फ्रिडम फाईटरका कृष्ण मालाकारले एक गोल गर्दै टिमलाई अग्रता दिलाए । २७औं मिनेटमा किङकमका जगतमान लामाले गोल गर्दै खेल बराबरीमा ल्याए । दुवै टिमका आधा दर्जन बढी प्रहारले गोलपोष्टको जाली चुम्न नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुग्दा नतिजा किङकमले आफ्नो पक्षमा पार्न सक्यो ।
आइतबार भएको सेमिफाइनल खेलमा किङकम भेट्रान्सले आयोजक हेटौंडा भेट्रान्स क्लबलाई ५-३ गोलले र फ्रिडम फाइटर भेट्रान्सले बानेश्वर फ्रेण्डसिप भेट्रान्सलाई १-० गोलले पराजित गर्दै फाइनल यात्रा तय गरेका थिए ।
उपाधि विजेता किङकमले नगद १ लाख ५० हजार ५ सय ५५सहित रनिङशिल्ड जितेको छ । उपविजेतामा चित्त बुझाएको फ्रिडम फाइटरले ७५ हजार ५ सय ५५ रूपैयाँ पाएको छ । प्रतियोगिताको सर्वोत्कृट खेलाडी फ्रिडम फाईटरका तेन्जिङ लामा भए । उनले नगद १० हजारसहित ट्रफी प्राप्त गरे ।
विद्यागततर्फ किङकमका सरोज थापा उत्कृष्ट फर्वाड, अमित प्रधान उत्कृष्ट गोलरक्षक, सञ्जय राना मगर उत्कृष्ट डिफेन्डर, राजकुमार पन्त उत्कृष्ट प्रशिक्षक र फ्रिडम फाईटरको उदयबहादुर गुरूङ उत्कृष्ट मिडफिल्डर घाेषित भएका छन् । उनीहरूले जनही ५ हजार नगदसहित ट्रफी प्राप्त गरेको प्रतियोगिताका संयोजक मणिराज गौतमले जानकारी दिए ।
हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मिनाकुमारी लामाले खेलाडीहरूलाई पुरस्कार प्रदान गरेकी छन् । समापन समारोहलाई सम्बोधन गर्दै प्रमुख लामाले भेट्रान्स प्रतियोगिताले फुटबल खेलको समग्र विकासमा भूमिका खेल्ने बताइन् ।
कार्यक्रमलाई हेटौंडाका वडा अध्यक्षहरू नवीन सिग्देल, सुशील घिमिरे, विष्णुबहादुर दाहाल, दामोदर गौतम, राम थापा, सुकराम केसी, जुना दाहाल, एन्फाका केन्द्रीय सदस्य टिका लामालगायतको आतिथ्यता थियो।
हेटौंडा भेट्रान्स क्लबको आयोजनामा भएको प्रतियोगितालाई हेटौंडा उपमहानगरपालिका, हेटौंडा स्कुल अफ म्यानेजमेन्टले प्रयोजन गरेका थिए।
 
                    










 २०८१ फागुन  २६ गते २०:१२
                        २०८१ फागुन  २६ गते २०:१२                     
                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
     
     
     
     
     
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4