 
																			२७ फागुन, विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार कोशी प्रदेशसभालाई सम्बोधन गरेका छन् । एक घण्टा लामो सम्बोधनमा प्रधानमन्त्री ओलीले कोशी प्रदेशको ऐतिहासिक–धार्मिक सन्दर्भदेखि विकास निर्माणका प्रयत्नहरूबारे समेत जानकारी दिए ।
यसअघि प्रधानमन्त्री ओलीले सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेश सभालाई सम्बोधन गरेका थिए । ५ फागुनमा लुम्बिनी, २५ फागुनमा सूदुरपश्चिम र २३ फागुनमा कर्णाली प्रदेश सभालाई सम्बोधन गरेका हुन् ।
प्रदेश सरकारको आग्रहमा देशका राष्ट्रपति, प्रधानमन्त्री, सभामुख र राष्ट्रिय सभाका अध्यक्षले प्रदेश सभामा सम्बोधन गर्ने वैधानिक व्यवस्था बमोजिम प्रधानमन्त्री ओलीले सम्बोधन गरिरहेका हुन् । एकपछि अर्को प्रदेश सभामा प्रधानमन्त्रीले सम्बोधन गर्दा उक्त प्रदेशका समस्या, संघीय सरकारले गरिरहेको प्रयत्नदेखि प्रदेश सरकारसँग हुने समन्वयबारे प्रतिवद्धता समेत जनाइरहेका छन् ।
कोशी प्रदेशका सत्तारुढ नेताहरू प्रधानमन्त्रीले प्रदेशसभालाई सम्बोधन गर्नुलाई सकारात्मक पहलकदमी मान्छन् । प्रदेशको समस्या सम्बोधनमा प्रधानमन्त्रीको प्रतिबद्धता आउने भएकाले पनि प्रदेशसभा सम्बोधन अर्थपूर्ण हुने उनीहरू बताउँछन् । ‘आजको मूल कार्यभार निर्माण गर्ने हो, दशवटा बखेडा गर्ने होइन’, कोशी सरकारका प्रवक्ता एवं आन्तरिक मामिला मन्त्री रेवतीरमण भण्डारी भन्छन् ।

मुलुक निर्माणको एजेण्डामा सरकार समर्पित भएर लागेको सन्देश प्रदेशसभा मार्फत प्रधानमन्त्रीले दिने काम भइरहेको मन्त्री भण्डारी बताउँछन् । ‘यातायातको सम्पूर्ण अधिकार आइसक्यो, भूमिको दिने प्रकृया सुरु भयो,’ उनी भन्छन्, ‘खाली प्रहरीको विषयलाई मात्रै हेरेर हुँदैन ।’
कांग्रेस नेता तथा भौतिक पूर्वाधारमन्त्री भूपेन्द्र राई प्रधानमन्त्रीको सम्बोधनले दुई सरकारबीचको सम्बन्ध सुधारमा बल पुग्ने बताउँछन् । ‘संघ र प्रदेशको सम्बन्धलाई सुमधुर बनाउन खोज्नुभएको हुनुसक्छ,’ मन्त्री राई भन्छन् ।
प्रमुख विपक्षी नेकपा माओवादी केन्द्रका नेताहरू भने प्रधानमन्त्रीले प्रदेशसभाहरुमा गरिरहेको भाषणलाई औचित्यहीन भएको टिप्पणी गर्छन् । ‘यहाँ आएर संघीयतालाई बलियो बनाउने कुरा, प्रदेशलाई अधिकार सम्पन्न गर्ने, कानुन निर्माणको कुरा गर्नुपथ्र्याे, किनभने प्रदेशले सरकारको स्वरुप नै ग्रहण गरिसकेको छैन,’ माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो भन्छन्, ‘तर, प्रदेशलाई अधिकार सम्पन्न गर्ने कुरा केही आएन्, ओलाङचुङगोला र किमाथाङ्कासम्म गाडी पुगेको हावादारी गफ दिनुभयो ।’
प्रदेशप्रति प्रधानमन्त्रीले उपेक्षा देखाएको उनी बताउँछन् । ‘संघीयतालाई बलियो बनाउने होइन, संघीयताप्रति, प्रदेशप्रति उहाँको उपेक्षा देखियो,’ उनी भन्छन्, ‘औपचारिकता पूरा गरेजस्तो मात्रै भयो, अर्थहीन र औचित्यहीन छ यो सम्बोधन ।’
सम्बोधनमा समृद्धि
प्रधानमन्त्री ओलीले प्रदेशसभा बैठकलाई सम्बोधन गर्दा घोचपेच गर्ने चिन्ता प्रतिपक्षी दलहरूलाई थियो । सोही विषयलाई लिएर माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले प्रधानमन्त्रीको सम्बोधन अघि बैठक बहिस्कार घुर्की लगाएका थिए ।
तर मुख्यमन्त्री हिक्मतकुमार कार्कीले त्यस्तो नहुनेमा आश्वस्त पारेपछि प्रतिपक्षी दलहरू बैठकमा सहभागी भए । नभन्दै प्रधानमन्त्री ओलीको सम्बोधन आश्वासन बमोजिम नै भएको विपक्षी नेताहरू बताउँछन् ।
‘यसरी घोचपेच नगरी बोलेको सुन्नुभएको थियो ?’, प्रधानमन्त्रीको सम्बोधनपछि माओवादी नेता आङ्बोले भने । पूर्वसहमतिकै कारण प्रधानमन्त्री ओलीले कसैप्रति चर्को टिप्पणी नगरेको उनी दाबी गर्छन् ।

प्रदेश मन्त्री एवं कांग्रेस नेता राई पनि प्रधानमन्त्रीको सम्बोधनलाई उदारणीय मान्छन् ।
‘आज उहाँको मन्तव्य व्यावहारिक, नेपाललाई समुन्नत बनाउनका लागि कसरी काम गर्न सकिन्छ भन्ने परिकल्पनाहरू सुनाउनु भयो,’ उनी भन्छन्, ‘नेतृत्वले प्रदेश र प्रतिनिधिसभामा बोल्दै गर्दा घोचपेच अथवा राजनीतिक भाषण मात्रै होइन, यस्ता व्यावहारिक भाषण पनि गर्न सकिन्छ भन्ने प्रस्तुत गर्नुभएको छ, यो एउटा उदारणीय पक्ष पनि हो ।’
एमाले प्रमुख सचेतक विदुर लिङ्थेप प्रधानमन्त्रीको सम्बोधनले ठूलो अर्थ राख्ने बताउँछन् ।
‘प्रधानमन्त्रीको सम्बोधनले ठूलो अर्थ राख्छ, केन्द्रदेखि प्रदेशसम्मको बजेट निर्माणको तयारी भइरहेको छ, त्यो सन्दर्भदेखि विकास निर्माण र समसामयिक राजनीतिका विषयमा पनि अवगत हुने अवसर प्राप्त भयोे,’ उनी भन्छन्, ‘संघ र प्रदेशको सम्बन्धनलाई मजबुद बनाउँछ, प्रदेश र संघ मिलेर नै राष्ट्रको उन्नती गर्छ ।’
‘भगवान विष्णु पनि यतै तिरका थिए’
प्रधानमन्त्री ओलीले प्रदेशसभा सम्बोधनका क्रममा हिन्दू धर्ममा वर्णित पात्र विष्णु भगवान कोशी प्रदेशकै भएको समेत बताए । हलेसी महादेवको मन्दिरबारे ब्याख्या गर्दै भगवान विष्णु यतैका भएको दाबी गरेका हुन् ।
उनले मुलुकलाई पछि पार्ने नभइ अघि बढाउने बताए । ‘मुलुकलाई अगाडि बढाउने हो । मदन भण्डारी राजमार्ग, मध्य पहाडी लोकमार्गजस्ता ठूलो आयोजनाको काम तीव्र गतिमा भइरहेको छ । दीगो विकास लक्ष्य भेट्नका लागि मुलुकमा ४८ प्रतिशत काम अघि बढेको छ,’ उनले भने ।
कोशी आफ्नो गृहप्रदेश भएको बताउँदै ओलीले कोशी प्रदेशको विकास तीव्र गतिमा हुनुपर्नेमा जोड दिएका छन् । व्यवस्थाविरुद्ध आवाज उठ्न थालेकोप्रति आक्रोश पोखे ।
‘अहिले व्यवस्था र संविधानविरुद्धमा पनि केही आवाज उठ्न थालेको छ । स्पष्ट के हो भने, चाहियो के त ? यो भन्दा बेटर प्रणाली कुनै छ भने ठिक छ ? यो भन्दा राम्रो प्रणाली के हो ?,’ प्रधानमन्त्री ओलीले भने, ‘एकाध मान्छेका स्वार्थहरूको पछाडि देश लाग्न सक्दैन । बेटर प्रणालीका लागि संविधान र सरकार तयार छ । जनता तयार छन् ।’
त्यसका लागि शान्तिपूर्ण, संवैधानिक र लोकतान्त्रिक प्रणालीको बाटोमा सरकार रहेको बताए ।
‘शान्तिपूर्ण, संवैधानिक र लोकतान्त्रिक प्रणाली, बाटो त्यसका लागि तयार गरेका छौं । आजको हाम्रो तरिका त्यो हो । सामाजिक मूल्यमान्यतालाई दखल नपारि अघि बढ्ने बाटो हो । त्यो गर्छौ । यसरी हामी राजनीतिक हिसाबले स्पष्ट छौं,’ प्रधानमन्त्रीले भने ।
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4