७ चैत, काठमाडौं । केही दिनअघि सम्पन्न आईसीसी च्याम्पियन्स ट्रफीको विजेता भारतीय क्रिकेट टोलीलाई भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले नगद पुरस्कार घोषणा गरेको छ ।
उपाधि जितेको टोलीलाई ५८ करोड भारु नगद पुरस्कार दिने बोर्डले घोषणा गरेको हो। यो पुरस्कार खेलाडी, प्रशिक्षक, सहयोगी टिम तथा चयन समितिका सदस्यहरूको योगदानको सम्मानस्वरूप प्रदान गरिन लागेको हो ।
कप्तान रोहित शर्माको नेतृत्वमा भारतीय टोलीले प्रतियोगितामा प्रभावशाली प्रदर्शन गरेको थियो । भारतले समूह चरणमा बंगलादेश, पाकिस्तान र न्युजिल्याण्ड तथा सेमिफाइनलमा अस्ट्रेलिया र फाइनलमा न्युजिल्यान्डविरुद्ध जित दर्ता गर्दै उपाधि जितेको थियो ।
बीसीसीआईका अध्यक्ष रोजर बिन्नीले लगातार दुईवटा आईसीसी उपाधि जित्नु भारतीय क्रिकेटका लागि ऐतिहासिक उपलब्धि भएको बताउँदै यो नगद पुरस्कार खेलाडी र सहयोगी टिमको मेहनतको सम्मानको रूपमा प्रदान गरिएको उल्लेख गरे।
भारतले सन् २०२४ मा टी-२० विश्वकप पनि जितेको थियो । २०२५ मै आईसीसी यू-१९ महिला विश्वकप जितिसकेको छ, जसले देशको क्रिकेट संरचना बलियो रहेको देखाएको बिन्नीको भनाइ छ।
बोर्डका सचिव देवजित साइक्याले भारतीय टोलीले विश्व क्रिकेटमा आफ्नो प्रभुत्व जमाएको भन्दै प्रशंसा गरे। उनले यो जितले भारतको ह्वाइट बल क्रिकेटमा शीर्ष स्थान पुष्टि गरेको र आगामी दिनमा टोली अझ उत्कृष्ट प्रदर्शन गर्नेमा आफूहरू विश्वस्त रहेको बताए।
उपाध्यक्ष राजीव शुक्लाले खेलाडीहरूले दबाबमा पनि उत्कृष्ट खेल प्रस्तुत गरेको बताउँदै टोलीको जित भारतीय क्रिकेटको मजबुत आधार, मानसिक दृढता र जित्ने मानसिकताको उदाहरण भएको उल्लेख गरे।
-बीसीसीआईको आधिकारिक वेबसाइटबाट
                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
    
    
    
    
    
                            
                            
                            
                            
                            
                            
प्रतिक्रिया 4