 
																			चैत १४, काठमाडौं । काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्स (धुलिखेल अस्पताल) का मानसिक रोग विभागका दुई डाक्टरले नेपाल मेडिकल काउन्सिललाई स्पष्टीकरण पठाएका छन् ।
मानसिक रोग विभागका प्रमुख डा. अजय रिसाल र डा. दीपक कुँवरले स्पष्टीकरण पठाएको काउन्सिल स्रोतले जनाएको छ ।
धुलिखेल अस्पतालको एमडी पहिलो वर्षमा अध्ययनरत एक विद्यार्थीले गत ४ फागुन (आइतबार) आत्महत्याको प्रयास गरेकी थिइन् । आत्महत्या प्रयास गर्नुको कारणमा चिकित्सकले निरन्तर दिएको मानसिक दबाब र गालीगलौज गरेको आवासीय चिकित्सकहरूको आरोप छ ।
गत ३ चैतमा बसेको काउन्सिल पूर्ण बैठकले यी दुई चिकित्सक माथि ‘कारबाही किन नगर्ने ?’ भनेर स्पष्टीकरण सोधेको थियो । ‘स्पष्टीकरणको जवाफ आएको छ । हामीले अध्ययन भइरहेको छ,’ स्रोतले अनलाइखनबरसँग भन्यो, ‘अब बस्ने काउन्सिलको पूर्ण बैठकलले निर्णय गर्नेछ ।’
एमडी पहिलो वर्षकी ती विद्यार्थीले विभागीय प्रमुख सहितका शिक्षकहरूले मानसिक दबाब दिँदा आफू आत्महत्याको प्रयास गरेको बताएकी छिन् ।

आवासीय चिकित्सकहरूले घटनाबारे आंशका जनाउँदै सत्य तथ्य छानबिन गर्न माग गरेका छन् । यस्तो घटना पहिलोपटक भएको नभई यसअघि पनि पटकपटक भएको उनीहरूको आरोप छ ।
निरन्तर शिक्षकले आफूमाथि मानसिक यातना र गाली गलोज गरेकै कारण आत्महत्या प्रयास गर्न बाध्य भएको ती चिकित्सकले अनलाइनखबरसँग बताइन् ।
‘सानो गल्तीलाई पनि ठूलो बनाएर गाली गर्नुहुन्थ्यो । तिमीहरू यति पनि नजान्ने, तिमीहरू धर्तीको बोझ हौ लगायतका सुन्नै नसक्ने शब्द प्रयोग गर्नुहुन्थ्यो,’ ती चिकित्सकले अनलाइनखबरसँगको कुराकानीमा भनिन्, ‘४ फागुन गतेको घटनाले मलाई आत्महत्या गर्ने सोचमा पुर्यायो ।’
उनका अनुसार डा. अजय लगायतका अन्य चिकित्सकले बिरामीकै अगाडि फाइल फाल्दै प्रत्येक दिन गाली गरिरहन्थे । शिक्षकबाट हुने गरेको मानसिक तनाबकै कारण आफूमा डर पैदा भएको र त्यसले आफ्नो अध्ययनको गुणस्तर पनि खस्किएको उनले अनलाइनखबरसँग बताइन् ।
‘बिहान उठेपछि वार्ड जानै मन लाग्दैनथ्यो । राउन्ड जाँदा कुन डाक्टरको गाली खाइने हो भने तनाव भइरहन्थ्यो,’ विगतका दिन सम्झिँदै उनले भनिन्, ‘राउन्डमा जाँदा हात–खुट्टा काम्थ्यो । जसका कारण मैले मानसिक रोगको औषधि समेत सेवन गर्नुपर्यो ।’
उनले आत्महत्याको गर्नुको पछाडि गत ४ गतेको घटनासँगै त्यसभन्दा अगाडिका शिक्षकबाट निरन्तर हुने गरेको मानसिक तनाव नै रहेको आरोप लगाइन् ।
विभागीय प्रमुख र एसोसिएट प्रोफेसरबाट पटकपटक दुव्र्यवहार भएको आवासीय चिकित्सकको भनाइ छ । अस्पतालको मानसिक रोग विभागमा ७ जना आवासीय चिकित्सक अध्ययन गर्छन् । एमडी पहिलो वर्ष ३ जना, दोस्रो र तेस्रो वर्ष २–२ जना अध्ययन गरिरहेका छन् ।
एक वर्षअघि पनि एक विद्यार्थीले दुर्व्यवहारकै कारण आत्महत्याको प्रयास गरेका थिए भने अर्का एक विद्यार्थीले बीचमै पढाइ छोडेका थिए ।
 
                









 
                     
                                 
 
 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4