
१४ चैत, काठमाडौं । समाजवादी मोर्चाले भोलि गर्ने प्रदर्शनको समय एक घण्टा पछि सारेको छ ।
बिहान ११ बजेसम्म एसईई परीक्षा सञ्चालन हुने भएकाले दिउँसो १२ बजेबाट मात्रै जुलुस सुरु गर्ने कार्यक्रम तय भएको समाजवादी मोर्चाको कार्यक्रम व्यवस्थापन सचिवालयले जानकारी दिएको छ ।
यसअघि बिहान ११ बजेबाट जुलुस सुरु गर्ने समाजवादी मोर्चाको निर्णय थियो ।
मोर्चाल काठमाडौंको भृकुटीमण्डपमा विरोध सभा आयोजना गर्दैछ । विरोधसभा अघि मोर्चाले काठमाडौंको विभिन्न स्थानबाट जुलुस प्रदर्शन गर्दैछ ।
हजारौंको संख्यामा मानिस उतार्ने तयारी गरेको समाजवादी मोर्चाले विरोध प्रदर्शनलाई व्यवस्थित बनाउन रुट निर्धारण गरेको छ ।
कोटेश्वर हुँदै (पूर्वबाट आउनेहरू) बबरमहल, ललितपुर हुँदै (दक्षिणबाट आउनेहरू) कुपण्डोल, कलंकी हुँदै (पश्चिमबाट आउनेहरू) त्रिपूरेश्वर र बालाजु हुँदै (उत्तरपश्चिमबाट आउनेहरू) सोह्रखुट्टेमा भेला हुने जुलुसको नेतृत्व नेकपा माओवादी केन्द्रले गर्ने छ ।
यसैगरी मैतीदेवी, डिल्लीबजार चोक र शान्तिबाटिकाबाट निस्कने जुलुसको नेतृत्व एकीकृत समाजवादीले गर्नेछ भने नेपाल कम्युनिस्ट पार्टीले सुन्धारा र नेपाल समाजवादी पार्टीले न्यूरोड गेटबाट निस्कने जुलुसको नेतृत्व गर्नेछ ।
प्रतिक्रिया 4