
एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल जुन बेला भृकुटीमण्डपमा समाजवादी मोर्चाको गणतान्त्रिक सभालाई सम्बोधन गर्दै थिए, ठिक त्यसै बेला उनको पार्टी कार्यालय तथा भाइको निवासमा आक्रमण हुँदै थियो ।
राजा ज्ञानेन्द्रको उक्साहटमा राजावादीहरूले विध्वंश मच्चाएको उनको विश्लेषण छ । तीनकुने, कोटेश्वर क्षेत्रका सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड हुँदा पनि रोक्न नसकेको भन्दै उनले सरकारको आलोचना पनि गरेका छन् ।
नेपालसँग अनलाइनखबरको कुराकानी :
तीनकुने क्षेत्रका घर, पसलसँगै तपाईंको पार्टी कार्यालयमा पनि राजावादी प्रदर्शनकारीले क्षति पुर्याए, के भन्नुहुन्छ ?
अत्यन्तै निन्दनीय, आपराधिक, अराजनीतिक गुन्डागर्दी हो यो । विचार आ–आफ्ना हुन सक्छन्, तर कुनैपनि शान्तिपूर्ण आन्दोलन यस्तो हुन सक्दैन । प्रदर्शन गर्छौं भन्नेहरूले सबै सीमा नाघेका छन् । यस्तो आपराधिक क्रियाकलाप गर्नेलाई तुरुन्तै गिरफ्तार गरी छानबिन तथा आवश्यक कारबाही गर्नुपर्छ ।
आजको घटनाको जिम्मा कसले लिनुपर्छ ?
छानबिनमा दोषी देखिएका जो जो छन्, तिनले नै यसको जिम्मा लिनुपर्छ । उनीहरूमाथि कडा कानुनी कारबाही हुनुपर्छ । हिंसा र अराजकतालाई प्रोत्साहन गर्नेहरू समेत कारबाहीको भागीदार हुनुपर्छ ।
पूर्वराजा ज्ञानेन्द्रको निर्देशन तथा उक्साहटमा आजको घटना भएको हो ? तपाईंको भनाई के छ ?
उनको उक्साहट छ भने उनी पनि कारबाहीको भागीदार बन्नुपर्छ । आज जे भयो, यो पूरै निन्दनीय हर्कत हो ।
राजावादी केही नेताहरूले विगतमा तपाईंहरूले गर्ने शान्तिपूर्ण भनिएका आन्दोलनमा पनि यस्तो गतिविधि हुन्थ्यो भन्दै प्रतिप्रश्न गरिरहनुभएको छ नि ?
बेइमान कुरा हो त्यो । त्यो बेला पनि उग्रताहरू देखियो होला, तर के त्यस बेला सर्वसाधारणको घरमा घुसेर सम्पत्ति तोडफोड भयो ? पसलहरुमा आगो लगाइयो ? आततायी ढंगले आक्रमणहरू गरेर पनि कहिँ शान्तिपूर्ण आन्दोलन हुन्छ ? हाम्रो पार्टी कार्यालयमा, मेरो भाइको घरमा पनि आक्रमण भएको छ । के यो शान्तिपूर्ण आन्दोलन हो ? उनीहरूले जवाफ दिनुपर्छ ।
सरकारको आवश्यक पूर्वतयारी र सुरक्षा प्रणालीबारे केही टिप्पणी छ ?
खासमा मैले पहिल्यै भनेको थिएँ, कि यिनीहरुले विध्वंश मच्चाउन सक्छन् । तर पर्याप्त सुरक्षा तयारी नअपनाउँदा यो कमजोरी हुन पुग्यो । विरोधी तत्वहरूले अराजक शैलीमा घुसपैठ गराएका थिए । र यसमा विभिन्न पक्षहरू मिसिएका हुन सक्छन् । त्यसबारे पहिल्यै ख्याल हुनुपथ्र्यो । शान्तिपूर्ण भने पनि उनीहरुको तयारी शान्तिपूर्ण प्रदर्शन गर्ने थियो भन्ने मलाइ लाग्दैन ।
तपाईंहरू अब के गर्नुहुन्छ ?
आज एकैछिनमा हाम्रो वक्तव्य आउँछ । त्यसमा हामीले परिस्थितिबारे आफ्नो धारणा राख्छौं । भोलि बिहान बैठक बसेर आगामी योजनाहरू बाहिर ल्याउँछौं ।
प्रतिक्रिया 4