१७ चैत, पोखरा । नेपाल हाप्किडो संघको दोस्रो साधारण सभा शनिबार पोखरामा सम्पन्न भएको छ । कार्यक्रममा संघको वार्षिक प्रतिवेदन, आर्थिक विवरण, भावी योजनाहरू, नीतिगत निर्णयहरू तथा महत्त्वपूर्ण प्रस्तावहरूमा छलफल भएको थियो ।
साधारण सभाको उद्घाटन राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष ध्रुव आचार्यले गरेका थिए । उनले खेलकुद राष्ट्रको समृद्धि र श्रमशक्तिको विकासमा महत्त्वपूर्ण साधन भएको उल्लेख गरे । साथै उनले नेपाललाई खेलाडीहरूको राष्ट्रका रूपमा चिनाउन चाहेको बताए ।
उनले खेलकुद सामाजिक सद्भाव, पर्यटन र संस्कृतिको विकासका लागि अपरिहार्य रहेको औँल्याउँदै खेलकुद व्यवस्थापनमा राजनीति आवश्यक भएको बताए ।
नेपालमा हाप्किडोले विशेष पहिचान बनाइसकेको उल्लेख गर्दै उपाध्यक्ष आचार्यले यसलाई दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश गर्न पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेका एक दर्जनभन्दा बढी खेलाडीहरूलाई सम्मानित भएका थिए । साथै, नेपाल हाप्किडो संघको वार्षिक कार्यक्रमको स्मारिका विमोचन पनि गरिएको थियो ।
नेपाल हाप्किडो संघका अध्यक्ष काली बहादुर घर्ती मगरले नेपालका ६६ जिल्लामा हाप्किडो सक्रिय रहेको जानकारी गराउँदै हजारौँ खेलाडीहरूले अन्तर्राष्ट्रिय स्तरमा नेपालको झण्डा फहराइरहे पनि राज्यले खेललाई उचित स्थान नदिएको गुनासो गरे ।
‘हाम्रा खेलाडीहरू अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई प्रतिनिधित्व गरिरहेका छन्, तर राज्यबाट अझै पनि विभेद र असमान व्यवहार भइरहेको छ ।’
राष्ट्रिय गरिमा, सामाजिक रूपान्तरण र युवा सशक्तिकरणलाई संघको मुख्य लक्ष्य भएको उल्लेख गर्दै उनले राज्यले हाप्किडो खेललाई उचित सम्मान दिनुपर्ने माग गरे ।
अध्यक्ष घर्ती मगरले हाप्किडो खेलको व्यवस्थित विकासका लागि वार्षिक योजना प्रस्तुत गर्दै योजनाबद्ध रूपमा अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा नेपाल हाप्किडो संघकी उपाध्यक्ष तारामाया थापा मगर, गण्डकी प्रदेश हाप्किडो संघका अध्यक्ष खेम बहादुर गुरुङ, नेपाल हाप्किडो संघका उपमहासचिव मोहमद हलवाई, कोषाध्यक्ष विजया कुमारी वाईबा, प्रमुख प्रशिक्षक प्रविण गुरुङ लगायतले आफ्ना धारणा राखेका थिए ।
नेपाल हाप्किडो संघले नेपालका विभिन्न स्थानमा हाप्किडो खेललाई प्रवर्द्धन गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा खेलाडी उत्पादन र खेल पुर्वाधार संरचनाको बिकास गर्ने लक्ष्य राखेको छ ।
 
                    










 २०८१ चैत  १७ गते ८:४९
                        २०८१ चैत  १७ गते ८:४९                     
                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
     
     
     
     
     
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4