 
																			१८ चैत, काठमाडौं । गएको शुक्रबार तीनकुने क्षेत्रमा भएको हिंसात्मक प्रदर्शनको जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । सोमबार प्रतिनिधिसभा र राष्ट्रिय सभालाई छुट्टाछुट्टै सम्बोधन गरेका प्रधानमन्त्री ओलीले तीनकुने घटनाको पृष्ठभूमिमा पूर्वराजा ज्ञानेन्द्र शाह नै रहेको ठोकुवा गरे ।
यस्तो ठोकुवामा पुग्नु अगाडि उनले पूर्वराजा ज्ञानेन्द्रको गत ७ फागुनको अभिव्यक्ति स्मरण गरे । ‘पूर्वराजा ज्ञानेन्द्र शाहले गत ७ फागुनमा आफू अघि बढ्न साथ देऊ भन्दै वक्तव्यबाजी गर्नुभयो,’ प्रधानमन्त्री ओलीले भने । त्यसको लगत्तै ठाउँ-ठाउँमा पूर्वराजाको स्वागतमा कार्यक्रम राखिएको र जनमत भड्काउने काम सुरु भएको उनको भनाइ थियो ।
‘२५ फागुनमा कथित स्वागत सवारी आयोजना गरियो र १४ चैतमा समाज बिथोल्न लागि परेका एक जना अवाञ्छित व्यक्तिलाई आफ्नै निवासमा डाकेर कथित जनकमान्डर तोक्नुभयो र हिंसात्मक वारदातमा खटाउनुभयो ।’
२५ फागुनमा पोखराबाट जहाजमा काठमाडौं आएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई उनका समर्थकले त्रिभुवन विमानस्थल बाहिर स्वागत गरेका थिए । निर्मल निवाससम्मै पुर्याउन समर्थकको र्याली निकालेका थिए । त्यसलाई प्रधानमन्त्री ओलीले ‘कथित स्वागत’ को संज्ञा दिएका हुन् ।
१५ चैतमा राजावादीले तीनकुनेमा प्रदर्शन गरेका थिए । उक्त प्रदर्शनमा पूर्वराजा ज्ञानेन्द्रले दुर्गा प्रसाईंलाई आन्दोलन कमान्डर तोकेका थिए । प्रसाईंलाई अवाञ्छित व्यक्तिको संज्ञा दिँदै प्रधानमन्त्री ओलीले त्यस्ता व्यक्तिलाई आन्दोलनको कमान्डर भनेर प्रर्दशनमा पूर्वराजा ज्ञानेन्द्रको आलोचना गरे ।
प्रसाईंको नेतृत्वमा राजावादीले काठमाडौंको तीनकुनेमा गरेको प्रदर्शन हिंसात्मक भएको थियो । तर, प्रदर्शन नसकिँदै प्रदर्शन स्थल छाडेर उनीहरूले आसपासका निजी घरहरूमा क्षति पुर्याएका थिए । निजी घरमा लगाइएको आगोमा जलेर एक पत्रकारको जलेर मृत्यु भयो । गोली लागेर अर्का एक प्रदर्शनकारीको मृत्यु भएको थियो ।
राजावादीहरूले नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयमा आगजानी गरे । माओवादी केन्द्रको पार्टी कार्यालयमा तोडफोड प्रयास गरे । जडीबुटी कम्पनीमा आगजनी गरे । अन्नपूर्ण पोष्टको कार्यालयमा आगो लगाए ।
कान्तिपुर मिडिया हाउसको भवनमा आगजनी प्रयास गरे । अन्य मिडिया हाउसमाथि समेत आगजानी र तोडफोड प्रयास गरे । प्रदर्शनका क्रममा ३० जनाभन्दा बढी घाइते भएका छन् । यी गतिविधिको प्रधानमन्त्री ओलीले आलोचना गरेका हुन् । राजावादीको आन्दोलनका कमान्डर प्रसाईंको चरित्रबारे पनि प्रधानमन्त्री ओलीले संसद्मा प्रश्न उठाए ।
‘सभा वा मन्तव्य हैन, प्रदर्शनको कथित जनकमान्डर आफैंले हाँकेको गाडी प्रहरीमाथि नै चढाउने गरी निषेधित क्षेत्र तोड्न दौडाइयो । भीड नियन्त्रण गर्न प्रशासनले गरेको प्रयासका विरुद्ध, प्रहरीको बन्दुक खोस्ने, गुन्डागर्दी र कुटपिट गर्ने, लुटपाट गर्नेजस्ता बारदात सुरु गरियो’ प्रधानमन्त्री ओलीले राजावादीको प्रदर्शन स्मरण गरे ।
उनका अनुसार त्यसदिन तीनकुनेमा प्रदर्शन नाममा आपराधिक घटना भएको थियो । ‘निजी व्यक्तिको घर, सार्वजनिक भवन, सञ्चार गृह, पार्टी कार्यालय, औषधि कारखाना र सवारीका साधनमाथि ढुंगामुढा गर्ने, तोडफोड गर्ने, आगजनी गर्ने र डिपार्टमेन्टल स्टोरहरू लुटपाट गर्ने जस्ता आपराधिक घटना सुरु गरियो,’ ओलीले राजवादीको प्रदर्शनको आलोचना गर्दै भने ।
प्रधानमन्त्री ओलीका अनुसार राजवादीले त्यसदिन ‘निजी व्यक्तिको घरमा आगजनी मात्रै गरेनन् मानिसलाई भित्रै थुनेर बाहिरबाट ताला लगाई जिउँदै जलाउने हिंस्रक, आतातायी कार्य भयो । अन्तर्राष्ट्रिय विमानस्थलमा आगजनी गर्ने र प्रज्ज्वलनशील पदार्थमा आगो लगाई विस्फोट गराउने आतंककारी काम समेत भयो ।’
प्रहरीको सवारीसाधन मात्रै हैन, आगो निभाउन आएका दमकलमाथि आक्रमण भएको स्मरण गर्दै प्रधानमन्त्री अोलीले भने, ‘यी सबै निन्दनीय र खेदजनक कार्य हुन् ।’ उक्त घटनामा संलग्नहरू जोसुकै भएपछि कारबाहीको दायरामा ल्याउने प्रधानमन्त्री अोलीको प्रतिबद्धता छ ।
‘…जुनसुकै कभरमा किन नहोउन्, कडा प्रशासनिक कारबाही हुन्छ,’ ओलीले भेन, ‘घटनामा संलग्नहरूमाथि छानबिन सुरु भएको छ । यसका योजनाकार को हुन् र को-को संलग्न छन् ? सरकारले यस सन्दर्भमा छानबिन र अनुसन्धान गरिरहेको छ ।’
ज्ञानेन्द्र नै जिम्मेवार
सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले गत ७ फागुनको वक्तव्य स्मरण गर्दै तीनकुने घटनालाई जोडेका हुन् । ‘प्रारम्भिक अध्ययनमा यी सबै घटनाले स्पष्ट पार्छ– तत्कालीन राजा ज्ञानेन्द्र शाहले संविधानसभाको ऐतिहासिक निर्णयपछि भएको सम्झौताको उल्लंघन गर्नुभएको छ,’ प्रधानमन्त्री ओलीले भने ।
पहिलो संविधानसभाले १५ जेठ २०६५ मा २४० वर्षे लामो शाहवंशीय राजतन्त्रको अन्त्य गरेको थियो । माओवादी १० वर्षे सशस्त्र युद्ध, २०६२/६३ सालको संयुक्त जनआन्दोलनको पृष्ठभूमिमा जननिर्वाचित संविधान सभाले राजतन्त्र अन्त्य गर्दै नेपाललाई गणतान्त्रिक मुलुक घोषणा गरेको थियो । त्यसबेला पूर्वराजा ज्ञानेन्द्रलाई पूर्व राष्ट्रप्रमुखको हैसियतमा रहन सक्ने गरी दिएको सुविधा ख्याल गर्न प्रधानमन्त्री ओलीको आग्रह छ ।
‘त्यतिखेर नागरिकको हैसियतमा शान्त जीवन बिताउने, नागरिकको कानुनी र संवैधानिक अधिकार प्रयोग गरी व्यापार व्यावसाय सञ्चालन गर्ने, पूर्व राष्ट्रप्रमुखको हैसियतमा सरकारले सुरक्षाको प्रबन्ध गर्ने र उहाँलाई नागार्जुन दरबार प्रयोग गर्न र उहाँको माताले प्रयोग गरिरहेको नारायणहिटी दरबार परिसरको भवन प्रयोग गर्न दिने सहमति भएको हो,’ अोलीले भने ।
त्यसबेला गृहमन्त्री थिए– कृष्णप्रसाद सिटौला । सिटौला हाल राष्ट्रिय सभा सदस्य छन् । तत्कालीन गृहमन्त्री सिटौलाले सरकारको तर्फबाट पूर्वराजा ज्ञानेन्द्रसँग संवाद र व्यवस्थापन गरेको प्रधानमन्त्री ओलीले स्मरण गरे ।
तीनकुने घट्ना प्रकरणको सन्दर्भ उठाउँदै प्रधानमन्त्रीले आपराधिक घटनमा पूर्वराजा ज्ञानेन्द्र शाहले समेत छुट नपाउने चेतावनी दिए ।
‘आपराधिक घटनमा संलग्न कसैले पनि उन्मुक्ति पाउँदैन, पाउनु हुन्न । यसमा तत्कालीन राजा शाहले पनि उन्मुक्ति पाउनु हुन्न,’ ओलीले भने, ‘फेरि राजा बन्छु, व्यवस्था मास्छु भन्नेले यी सबै शृङ्खलाबद्ध घटनामा आफ्नो धारणा सार्वजनिक गर्नु पर्दैन ?’
पूर्वराजा ज्ञानेन्द्र शाहलाई ओलीको प्रश्न छ– मानिस मार्नलाई दुरुत्साहन गर्ने जनकमान्डर, इतिहासले कुनामा फ्याँकेका व्यक्ति अभियानका संयोजक, धनजनको क्षति र लुटापाट शासक बन्ने मनसुवा बोक्ने व्यक्ति सिरकभित्र चुपचाप कसरी हुन सक्छ ?’
यी सबै घटनाको मुख्य जिम्मेवार पूर्वराजा ज्ञानेन्द्र नै रहेको प्रधानमन्त्री ओलीले दोहोर्याए । ‘यी सबै घटनाको मूल जिम्मेवार उहाँ हो, ज्ञानेन्द्र शाहले लिनुपर्छ । बाँकी छानबिन र कारबाहीको सिलसिला अगाडि बढिरहेको जानकारी गराउँछु’ राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै ओलीले भने ।
राप्रपालाई प्रश्न – शपथ नमान्ने ?
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपालाई समेत ओलीले संविधान पालना गर्न सुझाए । ‘ताजुबको कुरा छ– दुनियाका अगाडि सांसद भएपछि कहिले कहिले मन्त्री, उपप्रधानमन्त्री के के भएर, संविधान मान्छु भन्ने शपथ लिएर, देश र जनताको नाममा शपथ लिएर आफैँले गरेको प्रतिज्ञा, आफैँले खाएको कसम पालना गर्नुपर्दैन ?’ राप्रपालाई प्रधानमन्त्री ओलीको प्रश्न छ ।
कि राप्रपाले शपथ लिएको अवसरको खोजी मात्रै हो, छद्म मात्रै हो भन्न सक्नुपर्ने अन्यथा संविधान मानेर अगाडि बढ्नुपर्ने उनको आग्रह छ । संसद् संविधानको विरोध गर्ने थलो होइन भन्ने ख्याल गर्न पनि उनको चेतावनी छ । ‘संसद् संविधानको विरोध गर्ने थलो होइन भन्ने कुरा म स्पष्ट पार्न चाहन्छु,’ ओलीले भने, ‘संसद् लोकतन्त्रको विरोध गर्ने थलो होइन ।’
संविधान सभाले राजतन्त्रलाई बिदा गरेको, संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा गरेको उल्लेख गर्दै उनले राजतन्त्र फर्काउने कुरा संसद्मै गर्नु संवैधानिक हुन नसक्ने बताए ।
असंवैधानिक कुरा राख्ने ठाउँ संसद् हुन नसक्ने उनले दोहोर्याए । संविधानको पालना गरेर अगाडि बढ्नुपर्ने भन्दै उनले संविधान अनुसार आफ्नो गतिविधि अगाडि बढाउन सबैलाई उनको आग्रह छ ।
 
                









 
                     
                                     
                                 
 
 
 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4