१९ चैत, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२५ मा मंगलबार धनगढी एफसीले बुटवल लुम्बिनी एफसीलाई ४-१ ले हराउँदा विदेशी खेलाडीहरु हावी भए । पाँच गोल मध्ये चार गोल विदेशी खेलाडीकै नाममा रह्यो । त्यसमा पनि धनगढीका लेवनानी फरवार्ड अहमद हिजाजीले दुई गोल गरे । उनी प्लेअर अफ दि म्याच बने । धनगढीका अर्को गोल ब्राजिलियन खेलाडी सर्जियो बार्बोजाले गरे भने बुटवलका लागि जापानी मिडपिल्डर केन्टा हाराले एक गोल गरे ।
खेलमा गोल गर्ने एक मात्र नेपाली खेलाडी धनगढीका मार्की प्लेअर कृतिश रत्न छुन्जु थिए । शनिवार देखि सुरु भएको एनएसएलमा विदेशी खेलाडी नै हावी भइरहेका बेला एकाध गोल मात्र नेपाली खेलाडीको नाममा छ । मंगलबार कृतिशले बुटवल विरुद्ध उत्कृष्ट गोल गरे ।
पहिलो हाफको खेल १-१ को बराबरीमा सकिएको अवस्थामा ७५औं मिनेटसम्म खेल बराबरीमै थिए । त्यसपछि कृतिशले नै गोल गर्दै धनगढीलाई दोस्रो पटक अग्रता दिलाए । कृतिशले बुटवलका तीन खेलाडीलाई छलाएर उत्कृष्ट फिनिसिङ गरेका थिए । उनको गोल आकर्षक र चर्चा गर्न लायक थियो ।
त्यसपछि अहमद हिजाजीले इन्जुरी टाइममा अर्को सानदार गोल गर्दै धनगढीको जित पक्का जस्तै गरे । त्यसमा सर्जियो बार्बोजाले पनि गोल थपे ।
खेलपछि कृतिशलाई आफ्नो गोलबारे सोध्दा उनले त्यो क्षण खासै याद नभएको बताए । ‘मलाई यादै छैन ।’ उनले पोष्ट म्याच कन्फ्रेन्समा भने ।
धनगढीका स्पानिस प्रशिक्षक हुवा मानुएल मार्टिनेजलाई पनि कृतिशको गोलबारे सोधियो । उनले भने खुलेर प्रशंसा गर्दै विश्व स्टार खेलाडीसँग गोलको तुलना गरे ।
प्रशिक्षक मार्टिनेजले हिजाजीको दुवै गोल उत्कृष्ट रहेको पनि बताए । उनले बार्बोजाको अन्तिम गोल बारे भने धेरै याद नभएको बताए । ‘गोल फुटबलको स्पाइसी हो । जब गोल हुन्छ तपाईँ इन्जोए गर्नुहुन्छ ।’ उनले भने, ‘‘यो म्याराडोना गोल जस्तै हो । पहिलो गोल वन्डरफुल थियो ।’ । प्रशिक्षक मार्टिनजेले कृतिशको गोल मेसि गोल जस्तै भएको बताए । ‘कृतिशको यो मेसी गोल हो ।’ विदेशी प्रशिक्षकले नेपाली खेलाडीको बारेमा यो स्तरको तारिफ विरलै गर्छन् ।
मंगलबार यस सिजनकै एकै खेलमा धेरै गोल हुँदा विदेशी खेलाडी हावी भएपनि कृतिशले गरेको गोल भने पछिसम्म सम्झनलायक नै हुनेछ ।
प्रतिक्रिया 4