 
															२१ चैत, काठमाडौ । कानुन, न्याय तथा संसदीय मामलामन्त्री अजयकुमार चौरसियाले राजावादी शक्तिलाई दुई तिहाइ जनमत ल्याएर संविधान संशोधन गरी चाहेको व्यवस्था ल्याउन चुनौती दिएका छन् ।
बिहीवार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा मन्त्री चौरसियाले जनताको मन जितेर आफूले चाहेको व्यवस्था ल्याउन चुनौती दिएका हुन् । ‘संविधानसभाको चुनावबाट गणतन्त्र आएको हो । अब यो संविधान नै परिवर्तन गर्ने हो भने कुनै राजनीतिक पार्टीले त्यस्तो इच्छा राख्छ भने दुई तिहाइभन्दा बढी बहुमत ल्याओस्’ उनले भने, ‘संविधानमा जेजे संशोधन गर्नुपर्छ गरोस् ।’
मन्त्री चौरसियाले नेपाली जनताले चाहे भने जे पनि हुने बताए । उनले तीनकुने घटनाको सम्पूर्ण जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने बताए ।
‘मिडियामा आएर गरिने क्रान्तिकारी कुराले देशका लागि कति राम्रो या नराम्रो हुन्छ, सोच्नुपर्छ’ उनले भने, ‘अस्तिको घटनामा पूर्वराजाले जिम्मा लिनुपर्छ । दुर्गा प्रसाईंले मात्रै यसको जिम्मा लिएर हुँदैन ।’
उनले प्रश्न गरे, ‘राजाले एउटा वक्तव्य पोखराबाट जारी गरेका थिए । त्रिभुवन विमानस्थलबाट स्वागतसाथ पूर्वराजालाई लानु जरुरी थियो ?’
लोकतान्त्रिक व्यवस्थामा राजनीतिक पार्टीहरूको विकल्प पार्टीहरू नै भएको मन्त्री चौरसियाले बताए । संविधानसभामार्फत जनताले हटाएको राजतन्त्रले पुनः संविधान उल्ट्याएर तानाशाही लाद्न खोज्ने प्रवृत्ति देखाउनेहरूसँग सरकारले कुनै किसिमको सम्झौता गर्न नहुने उनको धारणा थियो ।
मन्त्री चौरसियाले स्रोतसाधानको कमीका कारण जनताका असन्तुष्टिहरूलाई सम्बोधन गर्न नसकेको स्पष्ट पारे ।
मन्त्री चौरसियाले २०५८ सालको घटनामा राजा वीरेन्द्रको वंश नाशपछि तत्कालीन सरकारका नेतृत्वकर्ता तथा दलहरूले ढुङ्गामुडा खाएर ज्ञानेन्द्र शाहलाई राजा बनाएको स्मरण गरे ।
 
                









 
             
                             
                        
                     
                             
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4