+

सर्पको टोकाइबाट बच्ने १० उपाय, टोकिहाले के गर्ने ?

२०८१ चैत  २२ गते १५:०१ २०८१ चैत २२ गते १५:०१
सर्पको टोकाइबाट बच्ने १० उपाय, टोकिहाले के गर्ने ?

तराई तथा पहाडी भू-भागमा गर्मी तथा वर्षा याममा सर्पको बिगबिगी हुन्छ। पहिले पहाडी क्षेत्रमा भन्दा तराई–मधेसमा सर्पको टोकाइबाट धेरैले समस्या भोगेको पाइन्थ्यो । पछिल्लो समय जलवायु परिवर्तनका कारण पहाडी क्षेत्रमा पनि गर्मी बढ्दो छ, साथै सडक बनेपछि गाडी तथा अन्य माध्यमबाट पनि विषालु सर्पहरू पहाडी क्षेत्रमा पुगिरहेका छन्।

विषालु सर्पले टोकेपछि समयमै उपचार नपाएर धेरैले अकालमा ज्यान समेत गुमाउने गरेका छन् । सर्पदंशबाट बच्नका लागि सावधानी अपनाउनु र जोखिम कम गर्नु महत्त्वपूर्ण हुन्छ ।

सर्पदंशबाट बच्ने १० उपाय 

१. सर्पको वासस्थानमा सावधानी अपनाउने

सर्पहरू प्राय झाडी, घाँस, ढुंगाको काप, काठको थुप्रो र जमिन तथा भित्ताका प्वालहरूमा लुक्छन् । यस्ता ठाउँमा जाँदा सावधानी अपनाउनुपर्छ ।  विशेष गरी गर्मी मौसम र वर्षायाममा सर्पको सक्रियता बढ्ने भएकोले यो बेला बढी सतर्कता अपनाउनुपर्छ ।

२. उचित पोशाक लगाउने

जङ्गल, खेतबारी वा सर्पको जोखिम भएको ठाउँमा जाँदा लामो बुट, मोटो मोजा, र लामो प्यान्ट लगाउनु पर्छ ।  खुल्ला खुट्टा हिँड्नु हुँदैन । तराई मधेशतिर भूईंतल्ला वा ढाेका बाहिर आँगन, बलेसीमा राखिएका जुत्ता वा बुटभित्र सर्प लुकेर बसेकाे हुनसक्छ । त्यसैले जुत्ता, बुट निकालेर लाउनु अगाडि ध्यान पुर्‍याउनु पर्छ ।

३. हातखुट्टा जोगाउने

झाडी वा अँध्यारो ठाउँमा हातखुट्टा राख्नुअघि राम्ररी जाँच्ने ।  ढुङ्गा वा काठ उल्ट्याउँदा सावधानी अपनाउने, किनभने सर्प त्यहाँ लुकेको हुनसक्छ ।

४. रातको समयमा सावधानी अपनाउने

केही सर्पहरू रातको समयमा बढी सक्रिय हुन्छन् । राति हिँड्दा टर्च लाइटको प्रयोग गर्ने र आफ्नो वरपर ध्यान दिने ।

५. घर वरपर सफा राख्ने

घर वरपर झाडी, काठको थुप्रो, र फोहोर नराख्ने । जमिनका प्वालहरू भए पुर्ने । सर्पको आश्रय हुने ठाउँहरू हटाउने । घरको झ्याल ढोकामा जाली राख्ने ।

६. सर्पलाई नछुने वा नजिस्काउने

सर्प देखेमा टाढैबाट बाटो फेर्ने । सर्पलाई जिस्काउने, मार्ने वा समात्ने प्रयास नगर्ने । सर्प मरेको जस्तो देखिए पनि वास्तवमा मरेको नहुनसक्छ । त्यस्तो अवस्थामा नचलाउने।

७. सुत्ने ठाउँको व्यवस्थापन गर्ने

गाउँघरमा भुईँमा सुत्नुपरेमा झुलको प्रयोग गर्ने ।  सुत्ने ठाउँ वरपर सर्प छ कि छैन जाँचेपछि मात्र सुत्ने । सकेसम्म पलङ वा खाटमा मात्रै सुत्ने ।

८. सर्पको पहिचान र जानकारी राख्ने

आफ्नो क्षेत्रमा पाइने सर्पहरूको बारेमा जानकारी राख्ने । विषालु र अविषालु सर्पहरूको भिन्नता बारे आधारभूत ज्ञान राखिराख्नु पर्छ ।

९. खेतबारीमा काम गर्दा सावधानी अपनाउने

खेतमा काम गर्दा हातले घाँस वा बाली नभाँच्ने, बरु लाठी वा औजारको प्रयोग गर्ने । खेत बारीको झाडीमा सर्प लुकेको हुनसक्छ । पोखरी, तलाउ, खोला, नदीनालामा विषालु सर्प पनि हुन सक्छन् । यस्ता स्थानमा पौडी खेल्दा, खोला तर्दा सावधानी अपनाउने ।

१०. प्राथमिक उपचारको ज्ञान र तयारी

सर्पदंश भएमा के गर्ने भन्ने प्राथमिक जानकारी राख्ने ।नजिकैको स्वास्थ्य चौकी वा अस्पतालको सम्पर्क नम्बर राख्ने । सर्पदंशको जोखिम भएको ठाउँमा जाँदा एन्टि भेनम (विषालु सर्पको विषविरुद्धको औषधि) उपलब्ध हुने ठाउँको जानकारी राख्ने ।

थप सुझाव

यदि सर्पले टाेकिहालेमा शान्त रहने, धेरै हिँडडुल नगर्ने विष फैलिन सक्छ ।

दंश भएको ठाउँलाई तल झारेर राख्ने, त्यो ठाउँलाई नचलाइ राख्ने ।

तुरुन्त नजिकको स्वास्थ्य संस्थामा जाने ।

सर्पले टोकेको ठाउँमा कपडा तथा डोरीले कसेर नबाँध्ने, चुस्ने वा काट्ने जस्ता गलत उपाय नअपनाउने । झारफुक गर्न तिर समय खेर फाल्नु हुँदैन ।

यी सावधानीहरू अपनाएर सर्पदंशको जोखिमलाई धेरै हदसम्म कम गर्न सकिन्छ ।

सर्पको टोकाइ
लेखक
कमल देवकाेटा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय