
काठमाडौं । फिल्म ‘द महावीर’ निर्माण हुने भएको छ । थिम पोस्टर सार्वजनिक गर्दै निर्माताले नेपाली, हिन्दी र अंग्रेजी भाषामा फिल्म बनाउने जनाएका हुन् ।
‘उठ लडाइ जित’ बटमलाइन तय गरिएको फिल्मको थिम पोस्टरमा युद्ध मैदानलाई चित्रण गरिएको छ । पोस्टरले यो फिल्म कुनै ऐतिहासिक युद्धबारे आधारित हुनसक्ने अड्कल काट्न सकिन्छ ।
मल्टिस्टारर र नेपाली फिल्मका चर्चित कलाकारलाई लिएर बनाउने भनिएको यो फिल्मलाई जिबी आग्रीले निर्देशन गर्नेछन् । वरिष्ठ संगीतकार सुरेश अधिकारी कार्यकारी निर्माताको रुपमा जोडिएका छन् ।
असार २६ गतेदेखि छायांकन सुरु हुनेछ । काठमाडौं वरपर छायांकन गरिने फिल्ममा पहिले र अहिलेका सुपरस्टारलाई सामेल गर्ने भनिएको छ । ‘स्टोरीको मागअनुसार पहिले र अहिलेका सुपरस्टार यसमा हुनेछन्’ उनले भने ।
पटकथा कृष्ण बिके र आग्रीले लेखेका छन् । लक्षरा फिल्सको प्रस्तुति रहने फिल्ममा कृष्ण बिके, बिआर रेड्डी, सन्तोष लुहार निर्माताको रुपमा हुनेछन् । सहनिर्मातामा रम्भा देवी र लक्ष्मण बिके हुनेछन् ।
सरण रिसी छायांकार हुनेछन् । हिन्दी र नेपाली भाषामा निर्माण हुने फिल्ममा डल्बी एटमसको साउन्ड रहने निर्माणपक्षले जनाएको छ । फिल्मको कास्ट र प्रदर्शन मितिबारे जानकारी गराइएको छैन ।
निर्देशक जिबी आग्रीले भने, ‘हामी केही समयपछि कलाकार र रिजिल डेट बारे जानकारी दिनेछौँ । हाम्रो चलचित्रको लाइनअप निकै बलियो र अनपेक्षित हुनेछ ।’
यो फिल्ममा राजेश हमाल, भुवन केसी, रेखा थापा, दयाहाङ राई, सौगात मल्ल, अनमोल केसी, धीरज मगर, आँचल शर्मा, मिरुना मगर, सुशिल श्रेष्ठले अभिनय गर्ने चर्चा छ । यसको पुष्टि भैसकेको छैन । निर्देशक आग्री म्युजिक भिडियो निर्देशकको रुपमा चर्चित छन् ।
प्रतिक्रिया 4