 
																			चैत २८, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको आर्थिक विकास र समृद्धिका लागि सरकार र निजी क्षेत्र सँगसँगै रहेको बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघको ५९औं वार्षिक साधारणसभा तथा उद्योग दिवस २०८१ उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सरकारले निजी क्षेत्रका सुझावलाई गम्भीरतापूर्वक लिएको र तदनुरूप नीतिगत सुधार गर्दै देशमा लगानीमैत्री वातावरण सिर्जना गर्दै गइरहेको धारणा राखे ।
‘सरकार निजी क्षेत्रसँग साझेदारीमा काम गर्न पूर्णरूपमा प्रतिबद्ध छ । निजी क्षेत्रकै सुझावका आधारमा पछिल्ला नीतिगत सुधार गरेका छौं । देश विकास सबै मिलेर गर्ने हो । हामी सहकार्यको त्यो नमुनामा काम गरिहेका छौं,’ प्रधानमन्त्री ओलीले भने ।
ओलीले वर्तमान सरकारले नीतिगत स्थिरता र स्थायित्वका लागि काम गरेको बताए । उनले लगानीको वातावरण सुधार गर्न विभिन्न कानुनमा महत्त्वपूर्ण परिवर्तन गरेको र यी कानुनी सुधारको उद्देश्य पारदर्शिता बढाउने, प्रक्रियागत झन्झट कम गर्ने र स्वदेशी तथा विदेशी लगानीकर्ताहरूको विश्वास बढाएको बताए ।
उनले सरकारलाई सही सुझाव दिन आन्दोलन गरिरहनु नपर्ने भन्दै जनतालाई सहज र सरल रूपमा सेवा दिन तीनै तहका सरकार प्रतिबद्ध रहेको पनि बताए ।
यसैगरी प्रधानन्त्री ओलीले देश विकासका लागि सरकारको एकल प्रयास मात्र पर्याप्त नहुने उल्लेख गर्दै देशमा पूर्वाधार विकास तथा ठूला परियोजनाका लागि स्रोतको प्रबन्ध गर्न महासंघको पहमा नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड (एनडीपीएल) कम्पनी स्थापना सह्रानीय काम भएको बताए । यस्ता प्रयासले अर्थतन्त्रलाई आत्मनिर्भरतातर्फ, निर्यात प्रर्वद्धन तथा आयात प्रतिस्थापन र राष्टिय स्वाभिमान निमार्ण गर्ने उनको भनाइ छ ।
उनले निजी क्षेत्रको छाता संगठनका रूपमा रहेको महासंघले औद्योगिक तथा व्यावसायिक समुदायको व्यवसाय प्रवर्द्धनमा मात्र नभई नेपालको आर्थिक विकास र समृद्धि अघि बढाउन आफ्नो सक्रिय भूमिका निर्वाह गरेको उल्लेख गर्दै सरकार र निजी क्षेत्र अहिले देशको आर्थिक विकास र समृद्धिका लागि सँगसँगै अघि बढेको बताए ।
‘निजी क्षेत्रको कार्यक्रममा कुनै पनि देशमा ७ जना मन्त्री आउँदैनन् होला । तर, यहाँ त सबै आएका छन्,’ उनले भने, ‘देश विकास गर्ने सबै मिलेर हो । जनतालाई सुरक्षा प्रदान गर्ने र साथमा छ भन्ने विश्वास दिलाउने सरकारको जिम्मेवारी हो ।’
यस्तै प्रधानमन्त्री ओलीले अब डिपार्टमेन्ट स्टोरको अवधारणाले प्राथमिकता पाउने र ठूलो खेती तथा ठूलो उत्पादनमा जानुपर्नेमा जोड दिए ।
उनले समय परिवर्तन भएकाले सबैले आफूलाई परिवर्तन गर्नुपर्ने आवश्यकता औंल्याए । नेपाली साबुन, स्याम्पु र मन्जन जस्ता स्वदेशी उत्पादनको प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने उनको भनाइ छ ।
प्रविधि आयात र हस्तान्तरणलाई प्राथमिकता दिनुपर्ने र सजिलो काममात्र गरेर देश विकास सम्भव नभएको उनको भनाइ थियो । आयातले मात्र घर नचल्ने बताउँदै यस्तो अवस्थामा देश समृद्ध बनाउन नागरिकले बचत गर्न सिक्नुपर्ने उनले बताए ।
 
                









 
             
                             
                        
                     
                             
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4