१० वैशाख, काठमाडौं । अस्ट्रेलियन पूर्वक्रिकेटर माइकल स्लेटरलाई घरेलु हिंसासम्बन्धी अभियोगमा दोषी ठहर गर्दै चार वर्षको जेल सजाय सुनाइएको छ । तर उनले पहिले नै एक वर्षभन्दा बढी समय हिरासतमा बिताएकाले बाँकी सजाय निलम्बित गरिएको छ र उनलाई तुरुन्त रिहा गरिएको छ।
स्लेटरले एक महिलालाई घाँटी दबाएको, पछ्याएको, कुटपिट गरेको र घरभित्र जबरजस्ती प्रवेश गरेको लगायतका सातवटा अभियोग स्वीकार गरेका थिए। यी घटना सन् २०२३ डिसेम्बरमा क्वीन्सल्यान्डको सनशाइन कोस्टमा भएको बताइएको छ। उनले ती महिलालाई गालीगलौज गरेका सन्देश पनि पठाएका थिए, जुन प्रहरीले २०२४ मार्चमा उनलाई जाँच गर्दा फेला पारेका थिए।
स्लेटरलाई जेलबाट रिहा गर्न कानुनी प्रक्रियामा ढिलाइ हुनसक्थ्यो, किनभने उनीमाथि मादक पदार्थ सेवन गरी गाडी चलाएको अर्को मुद्दा पनि बाँकी थियो। तर, उनले त्यसमा पनि दोषी ठहरिँदा अदालतले उनलाई रिहा गरिदिएको हो।
न्यायाधीशले स्लेटरलाई बाँकी सजाय पाँच वर्षसम्म निलम्बनमा राखिएको बताएका छन्। यदि उनले अब कुनै गम्भीर अपराध गरे भने फेरि जेल जानुपर्नेछ।
सन् २०२२ मा पनि न्यू साउथ वेल्सको अदालतले उनलाई महिलामाथि आक्रमण, प्रतिबन्ध आदेशको उल्लङ्घन लगायतका आरोपमा दोषी ठहर गरिसकेको थियो। ती घटनामा उनले ती महिलालाई जर्बजस्ती तानेर चोट पुर्याएका थिए र त्यसपछि अदालतको आदेश उल्लंघन गर्दै दर्जनौं पटक सम्पर्क गर्ने प्रयास गरेका थिए।
स्लाटरले १९९३ को एशेज सिरिजमा अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए र उनले अस्ट्रेलियाका लागि ७४ टेस्ट खेलमा ५३१२ रन बनाएका थिए। उनले २००४ मा क्रिकेटबाट सन्यास लिएपछि टिभी कमेन्टेटरको रूपमा काम गरेका थिए।
 
                    










 २०८२ वैशाख  १० गते १६:२५
                        २०८२ वैशाख  १० गते १६:२५                     
                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
     
     
     
     
     
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4