१२ वैशाख, काठमाडौं । नेपाल भलिबल संघ (एनभीए) ले काभा अवार्डमा दुई अवार्ड प्राप्त गरेको छ । काठमाडौं शुक्रबार भएको सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) को एनुअल जेनेरल असेम्बली (एजीएम) को अवसर वितरण गरिएको काभा अवार्ड नेपाल भलिबल संघले दुई अवार्ड प्राप्त गर्दा संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दले पनि एक अवार्ड पाए ।
काभा अवार्ड अन्तर्गत इन्टरनेसनल एक्सलेन्स अवार्ड, फेडेरेसन अफ दि इअर अवार्ड, परफरमेन्स अवार्ड र डिस्टिङ्गुइस्ट सर्भिस अवार्ड गरी चार विधामा अवार्ड वितरण गरिएको थियो । त्यसमध्ये नेपाल भलिबल संघले फेडेरेसन अफ दि इअर अवार्ड र परफरमेन्स अवार्ड प्राप्त गरेको हो ।
सन् २०२४ मा काभाको प्रतियोगितामा जितेको मेडलको आधारमा परफरमेन्स अवार्डमा नेपाल भलिबल संघले गोल्ड अवार्ड प्राप्त गर्यो । २०२४ मा नेपालले कूल ७ अन्तर्राष्ट्रिय मेडल जितेको थियो ।
यस्तै उज्वेकिस्तान भलिबल फेडेरेसनले सिल्भर र र्गिस्तान भलिबल फेडेरेसनले ब्रोन्ज अवार्ड पायो ।
काभाले आयोजना गरेको काभाको विभिन्न प्रतियोगिताहरुमा जितेको पदकका आधारमा परफरमेन्स अवार्ड वितरण गरिएको काभाले जनाएको छ । यसैगरी सन् २०२४ मा काभाको प्रतियोगिता आयोजना गर्ने र सहभागिताको आधारमा फेडेरेसन अफ दि इअर अवार्ड वितरण गरिएको हो ।
जसमा नेपाल भलिबल संघले सिल्भर अवार्ड प्राप्त गर्यो । माल्दिभ्स भलिबल महासंघले गोल्ड र उज्वेकिस्तान भलिबल संघले ब्रोन्ज अवार्ड पायो ।
यसैगरी एफआईभिबीका प्रतियोगिताहरुमा जितेको अवार्डका आधारमा इन्टरनेसनल एक्सलेन्स अवार्ड वितरण गरिएको थियो । जसमा काभा सदस्य मध्ये धेरै पदक जित्ने इरानसहित कजाखस्तान र पाकिस्तानलाई अवार्ड प्रदान गरियो ।
यसैगरी काभा सदस्य राष्ट्रहरुमा वर्षभर उत्कृष्ट काम गर्ने व्यक्ति, कम्पनी र संघहरुलाई डिस्टिङ्गुइस्ट सर्भिस अवार्ड प्रदान गरियो । नेपाल भलिबल संघका जितेन्द्र बहादुर चन्दले पनि यो अवार्ड प्राप्त गरे । काभाको प्रतियोगिता आयोजना गर्न गरेको प्रयास, काभा क्षेत्रको भलिबलको विकासमा गरेको योगदानका आधारमा उनलाई अवार्ड प्रदान गरिएको हो ।
चन्दसहित कीर्गिस्तानका एलबुजा, श्रीलंकाका एएस मलाका, उज्वेकिस्तानका फेयजल, इरानका मारिएम हासावी, पाकिस्तानका मुहम्मद चौधरी, बंगलादेशका अतिकुल इस्लाम, भारतका श्रीनिभासान, अफगानिस्तानका मोहमम्द युसुफ, इरानका सायद मिलाद, भुटानका किङ्जाङ वाङ्दी, माल्दिभ्सका मोहमम्द साइद र माल्दिभ्सकै अब्दुल्लाह जुहैरले डिस्टिङ्गुइस्ट अवार्ड प्राप्त गरे ।
 
                    










 २०८२ वैशाख  १२ गते १३:४४
                        २०८२ वैशाख  १२ गते १३:४४                     
                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
     
     
     
     
     
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4