१४ वैशाख, काठमाडौं । पोखरा थण्डर्सका आयुष घलान नेपाल सुपर लिग (एनएसएल) २०२५ को मोस्ट भ्यालुएबल प्लेअर घोषित भए ।
पोखरा थण्डर्सलाई पहिलो पटक एनएसएलको फाइनल पुर्याउन योगदान गरेका आयुष अन्य प्रतिस्पर्धीलाई पछि पार्दै उत्कृष्ट खेलाडी बने ।
फाइनलमा ललितपुर सिटीसँग २-१ ले पराजित भए पनि २१ वर्षे आयुषले मैदानमा भने उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले एमभीपी भएबापत नगद २ लाख ५० हजार पुरस्कार पाए ।
आयुषले यो आफ्नो व्यक्तिगत कारणले भन्दा पनि टिमको सहयोगले गर्दा यो अवार्ड जित्न सफल भएको बताएका छन् । ‘सुरुमा मेरो पोजिसन हरेक टिमले रिड गरेपछि हाम्रो कोचले भिडियो एनालाइज गरेर नम्बर १० रोल दिनुभयो । एमभीपी पाएको व्यक्तिगत होइन जस्तो लाग्छ । मेरो टिममेट हाम्रो सबै टिम र प्यानले गर्दा पाएको जस्तो लाग्छ ।’
यसैगरी पोखराकाकै विदेशी गोलकिपर गुइलेर्मो प्रिसोले उत्कृष्ट गोलकिपरको अवार्ड जिते । च्याम्पियन ललितपुरका खेलाडीले पनि दुई अवार्ड पाए । सन्तोष खत्री इमर्जिङ प्लेअर अफ दि सिजन घोषित भए भने मणिकुमार लामाले इनर्जेटिक प्लेअर अफ दि सिजनको अवार्ड जिते ।
प्रतियोगिताभर ५ गोल गरेका धनगढी एफसीका अहमद हिजाजीले सर्वाधिक गोलकर्ताको अवार्ड जिते ।
उत्कृष्ट किपर प्रिसो र सर्वाधिक गोलकर्ता हिजाजीले नगद एक लाख ५० हजार तथा इमर्जिङ सन्तोष र इनर्जेटिक मणिले समान एक लाख प्राप्त गरे ।
यस्तै झापा एफसीले फेयर प्लेको अवार्ड जित्यो ।
प्रतिक्रिया 4