+
+
Shares

दोलखाको सोक्ला भ्यालीमा ‘रक क्लाइम्बिङ’ महोत्सव तथा प्रतियोगिता हुँदै

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १६ गते १५:०५

१६, वैशाख, काठमाडौं । दोलखा जिल्लालाई साहसिक पर्यटकीय गन्तव्य बनाउन ‘सोक्ला रक क्लाइम्विङ महोत्सव तथा प्रतियोगिता २०८२’ आयोजना हुने भएको छ ।   सोक्लाश्वरी पर्यटन विकास समाजको आयोजनामा यही वैशाख २० र २१ गते महोत्सव आयोजना गर्न लागिएको समाजका अध्यक्ष अर्जुन पाख्रिनले जानकारी दिए ।

पाख्रिनका अनुसार ‘एडभेन्चर क्लाइम्बिङ हव’का रूपमा दोलखाको सोक्ला भ्यालीको प्रवर्द्धन गर्ने उद्देश्यले दोलखाको भीमेश्वर नगरपालिका-२ स्थित सोक्ला भ्यालीमा महोत्सव आयोजना गर्न लागिएको हो ।

सोक्ला रक क्लाइम्विङ महोत्सवको यो तेस्रो संस्करण रहेको पाख्रिनले बताए ।

उनका अनुसार सोक्ला र चक्पा क्षेत्रमा पर्ने गुमडाँडाको भीर ४२० मिटर अग्लो पहाडमा छ । रक क्लाइम्बिङका लागि २५-२५ मिटरका दुई वटा सिंगल पिचको रक रुट तयार गरिएको छ । यसवर्ष रक रुट १०० मिटरको उचाइमा पुर्‍याउने लक्ष्य राखिएको छ ।

कार्यक्रममा हिमाल आरोही, स्काउट, नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरीसँगै पर्यटक प्रहरीको समेत सहभागिता रहेन छ । साथै पर्यटनसँग सम्बन्धित संघ, संस्थाहरू समेत सहभागी हुने आयोजकले जानकारी दिएका छन् ।

महोत्सवसँगै हुने रक क्लाइम्बिङ प्रतियोगितामा सहभागी हुने आरोहीले एक हजार शुल्क तिर्नुपर्ने छ । प्रतियोगितामा सहभागी हुनेले नगद पुरस्कारसहित प्रमाणपत्र पाउनेछन् ।

महोत्सव तथा रक क्लाइम्बिङ प्रतियोगिताका लागि नेपाल पर्यटन बोर्ड र भीमेश्वर नगरपालिकाको आर्थिक सहयोग गरेको छ ।

सोक्ला भ्यालीमा साहसिक गन्तव्यको विभिन्न सम्भावना रहेको पाख्रिनले बताए । यहाँ बन्जिजम्प, जिपलाइन, साइक्लिङ, चराका प्रजातिको अध्ययन केन्द्र, मरेङ खोलामा क्यानोनिङ, सिंगटीदेखि सोक्ला भ्यालीसम्म र्‍याफ्टिङ जस्ता सम्भावना भएको उनको भनाइ छ ।

पाख्रिनका अनुसार सदरमुकाम चरिकोटबाट आठ किलोमिटर दूरीमा रहेको सोक्ला गाउँ धार्मिक एवं सांस्कृतिकरूपमा समेत महत्वपूर्ण रहेको छ । यो गाउँ विशेषगरी कृषि पर्यटनसँगै, पर्यापर्यटन, साहसिक पर्यटन, चरा पर्यटन, गौरीशंकर हिम शृंखलाको दृश्य हेर्ने गन्तव्य र धार्मिक अध्ययन् अनुसन्धानका लागि यो क्षेत्र प्रसिद्ध रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?