१७ वैशाख, काठमाडौं । आगामी वर्ष जापानमा हुने २०औं एसियाली खेलकुदमा पनि क्रिकेट समावेश हुने भएको छ। एसियाली ओलम्पिक परिषद (ओसिए) र आइची–नागोया एशियन गेम्स आयोजन समिति बीचको बैठकपछि यो निर्णय गरिएको हो। प्रतियोगिता आगामी वर्ष सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म हुनेछ।
ओसिए द्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘स्पोर्ट्स कार्यक्रमको तयारीसँगै आइचि–नागोया एशियन गेम्स बोर्ड अफ डाइरेक्टर्सको ४१औं बैठकमा क्रिकेट र मिक्स्ड मार्सियल आर्ट्स खेललाई औपचारिक रूपमा स्वीकृति दिइएको हो।’
पछिल्लोपटक सन् २०२३ मा भएको एसियाली खेलकुदमा क्रिकेट समावेश गरिएको थियो। त्यसलाई सन् २०२६ मा पनि निरन्तरता दिइने भएको हो । पहिलेझैं टी–२० फर्म्याटमा खेलाइने छ ।
कति देश सहभागी हुने भन्ने निर्णय यसै साता हुने बैठकमार्फत तय गरिनेछ। पछिल्लो ह्याङ्जो एशियन गेम्समा १४ पुरुष र ९ महिला टोलीले क्रिकेट खेलेका थिए। खेल कहाँ खेलिने भन्नेबारेमा अझै निर्णय हुन बाँकी छ।
आयोजकहरूले आईसीसीले न्यूयोर्कमा प्रयोग गरेको जस्तो मोड्युलर स्टेडियमको विकल्प पनि विचार गरिरहेको जनाइएको छ। क्रिकेट जापानको आइचि प्रिफेक्चरमै हुने भए पनि स्थान तोकिएको छैन।
ओसिएका अनुसार दक्षिण एसियामा क्रिकेटको लोकप्रियता र सन् २०२८ को लस एन्जलस ओलम्पिकमा टी–२० क्रिकेट समावेश हुने भएपछि खेलमा चासो उच्च रहने अपेक्षा गरिएको छ। क्रिकेटले १९०० मा पेरिसमा भएको ओलम्पिकपछि पहिलोपटक ओलम्पिकमा स्थान पाउन लागेको हो।
एसियन गेम्समा ४१ वटा खेल समावेश हुनेछन् र ४५ देशका १५ हजार खेलाडी तथा अफिसियल सहभागी हुनेछन्। भारतका पुरुष र महिला दुवै क्रिकेट टोलीले सन् २०२३ मा चीनको हाङजाओमा सम्पन्न एसियन गेम्समा स्वर्ण पदक जितेका थिए। कोरोना महामारीका कारण उक्त खेल ढिला गरिएको थियो।
 
                    










 २०८२ वैशाख  १७ गते १३:३८
                        २०८२ वैशाख  १७ गते १३:३८                     
                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
     
     
     
     
     
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4