१७ वैशाख, काठमाडौं । विराटनगरमा जारी एमएम कप एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबार सम्पन्न खेलमा भारतको आसाम क्रिकेट क्लबले जित दर्ता गरेको छ। बैजनाथपुर क्रिकेट मैदानमा सम्पन्न खेलमा आसामले कोशी प्रदेशलाई ९७ रनको ठूलो अन्तरले पराजित गरेको हो ।
२१० रनको लक्ष्य पछ्याएको कोशीले ३७.२ ओभरमा ११२ रनमा सबै विकेट गुमायो। कमजोर ब्याटिङ गरेको कोशीका लागि आइस भट्टराई र बिपिन महतोले सर्वाधिक १५ रनको योगदान दिए। चिराग शाहले ११ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
आसामको बलिंगतर्फ तापन कुमार शर्मा र गोकुल शर्माले समान ३ विकेट लिए। राज विश्वले २ तथा चिरन्तन खत्तिनियर र अमित सिन्हाले १-१ विकेट लिए।
त्यसअघि टस जितेर ब्याटिंग गरेको आसाम क्रिकेट क्लबले ४७.३ ओभरमा २०९ रनमा सबै विकेट गुमाएको थियो।
आसामको ब्याटिंगमा कप्तान गोकुल शर्माले सर्वाधिक ७८ रन योगदान दिए जुन क्रममा उनले ९९ बलमा ७ चौका र २ छक्का प्रहार गरे। अरुण सोनारले ५१ रन बनाए जुन क्रममा ७६ बलमा ३ चौका र ३ छक्का प्रहार गरे।
राज विश्वले २४, केभिन संजिवले १५ तथा अमित सिन्हाले १२ रन बनाए। ३३ रनमा ३ विकेट गुमाएको अवस्थाबाट चौंथो विकेटको लागि गोकुल र अरुणले शतकीय साझेदारी गर्दै १०६ रन जोडे।
कोशी प्रदेशको बलिङमा देब्रे हाते स्पीनर प्रेम कामतले सर्वाधिक ४ विकेट लिए जुन क्रममा १० ओभरमा ३ मेडन गर्दै ४ विकेट लिए। बिपिन कुमार महतो र भुपाल लुइँटेलले समान २ विकेट लिए। फिर्दोश अन्सारी र प्रकाश कार्कीले १/१ विकेट लिए।
अलराउण्ड प्रदर्शन गरेका आसामका गोकुल शर्मा प्लेयर अफ द म्याच घोषित भए।
आफ्नो पहिलो खेलमा कोशीले नेपाल पुलिस क्लबलाई पराजित गरेको थियो। आसामसँग हार पछि अब समुह ‘बी’ बाट फाइनल पुग्ने टिमको निर्क्योल बिहिबार हुने नेपाल पुलिस क्लब र आसाम बीचको खेलले निर्धारण गर्नेछ।
आसामले पुलिसलाई पराजित गरेको खण्डमा आसाम दुवै जितको साथ समुह विजेताको रुपमा फाइनल पुग्नेछ। यदी पुलिस विजयी भएको खण्डमा पुलिस, कोशी र आसाम मध्ये नेट रन रेटमा अघि हुने टिम फाइनल पुग्नेछ।
समुह ‘ए’ बाट त्रिभुवन आर्मी क्लब फाइनल प्रवेश गरिसकेको छ। फाइनल खेल शनिबार हुनेछ।
 
                    










 २०८२ वैशाख  १७ गते १६:०१
                        २०८२ वैशाख  १७ गते १६:०१                     
                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
     
     
     
     
     
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4