
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अभिनेत्री सुरक्षा पन्तको प्रतिरक्षामा उभिएका छन् । एमाले निकट जनसांस्कृतिक महासंघको मंगलबार आयोजित महाधिवेशनमा बोल्दै प्रधानमन्त्रीले एक टिभी अन्तर्वार्तामा भनेका कुरालाई लिएर राजावादीबाट आलोचित अभिनेत्री पन्तको बचाउ गरे ।
कलाकार र फिल्मलाई बहिष्कार गर्दा अरुलाई फरक नपर्ने बताउँदै प्रधानमन्त्रीले राजावादीले सहन नसकेको बताए ।
उनले भने, ‘थुप्रै छन् मान्छेहरू हेर्ने, सुन्नेहरु । कला मनपराउनेहरू, विभेद नगर्नेहरू, स्वतन्त्रताको झण्डा उठाउनेहरू थुप्रो छन् । अर्को एउटा कलाकारले को बोल्नुभएको थियो- फिल्म बहिष्कार रे । कस्तो सहनै नसकेको होला ।’
प्रधानमन्त्रीले अघि भने, ‘एकजना कलाकारले एउटा मंचमा एकदुई शब्द बोल्दिएछिन् । डेमोक्रेसी भनेको सुन्नै नसक्ने, स्वतन्त्रता भनेको सुन्नै नसक्ने, वाक स्वतन्त्रता भनेको सुन्नै नसक्ने, कसैले विचार प्रकट गरेको सुन्नै नसक्ने । तानाशाहीको प्रेत कस्तरी चम्किएको होला ?’
कलाकार र फिल्मलाई बहिष्कार गर्छु भन्नेप्रति प्रधानमन्त्री आक्रामक सुनिए । उनले भने, ‘नाती, पनाती, खलातीलाई राजा बनाउने कि भन्दा त्यस्तो कुरा त नगरौं है त्यो नचाहिने कुरा भन्दा तिम्रो जिन्दगीभरी बहिष्कार गरेर पुग्छ । घरमा गएर सोध आमालाई, म स्वतन्त्र नागरिक हुँ राजा चाहिन्न भन्दा तिमी भात खान्छौं कि आमाको रिसले निस्किएर हिँड्छौ । फेरि तानाशाहीको प्रेत घरीघरी तर्साउन आइरहन्छ ।’
अभिनेत्री पन्तले केही साताअघि प्रदर्शनरत फिल्म ‘खेल’को प्रवर्धनको लागि एक युट्युब अन्तर्वार्तामा पूर्वयुवराज पारस शाहका छोरा हृदयेन्द्र हेन्डसम रहेको र उनी फिल्ममा अभिनय गर्न उपयुक्त रहेको धारणा राखेकी थिइन् । उनको यो अभिव्यक्तिपछि सामाजिक संजालमा राजावादीले सुरक्षालाई आलोचना गरिरहेका छन् ।
प्रतिक्रिया 4