
१७ वैशाख, काठमाडौँ । टोखा नगरपालिका-७ बानियाटारमा मंगलबार कुकुरलाई लठ्ठीले कुटीकुटी मार्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा टोखा नगरपालिका-७ बानियाटारका अंकित भुजेल रहेका छन् ।
काठमाडौँ महानगरीय प्रहरी वृत्त महारजगञ्जका प्रहरी नायव उपरीक्षक (डीएसपी) निरञ्जन थापाले स्थानीयले कुकुरलाई लाठीले कुटिरहेको जानकारी दिएपछि पक्राउ गरेको बताए ।
उनका अनुसार भुजेले आफूलाई र अन्य केही व्यक्तिलाई टोकेको आरोपमा कुकुरलाई लाठ्ठीले कुटीकुटी मारेका थिए ।
पक्राउ परेका उनीमाथि आवश्यक कारबाहीका लागि थप अनुसन्धान भइरहेको डीएसपी थापाले बताए । उनले भने, ‘कुकुरलाई क्रुरतापूर्वक किन मारियो भनेर थप अनुसान्धन जारी छ । ’
पशु बोल्न सक्दैन वा उसका लागि बोलिदिने कोही छैन भनी जथाभावी पशुको हत्याहिंसा हुने गरेको पशु अधिकारकर्मी विश्वराम कार्की बताउँछन् । पशुप्राणीमाथि हत्या–हिंसा गर्नेलाई कानुन भए पनि कडाइका साथ कारबाही नगरिँदा यस्तो कृत्य बढिरहेको उनको भनाइ छ ।
के हुन्छ सजाय ?
नेपालको प्रचलित कानुनले कुनै पनि पशुप्राणीलाई निर्दयी व्यवहार गर्न, क्रुरतापूर्वक हत्या गर्न बन्देज गरेको छ । यस्ता कृत्य गर्नेलाई तीन महिनासम्म कैद र पाँच हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने प्रावधान छ।
मुलुकी अपराध संहिता २०७५ ले कुनै पनि पशुप्राणीलाई क्रुरतापूर्वक हत्या गर्नु ‘अपराध’ भनेको छ । कानुन विज्ञ अधिवक्ता पदमबहादुर श्रेष्ठका अनुसार यस किसिमको हिंसा देखिएमा प्रहरी कार्यलयमा उजुरी गर्न सकिन्छ । प्रहरीले जाहेरी लिएन भने जिल्ला प्रशासन कार्यलय र जिल्ला सरकारी वकिल कार्यलयमा पनि यसको उजुरी दिन मिल्छ ।
कुकुरको हत्या मात्र होइन, कुनै पनि उनीहरूलाई कुनै पनि किसिमको निर्दयी व्यवहार गर्न, तड्पाउन पाइँदैन । यस्तै घरपालुवा कुकुर रोगी र बुढो भएपछि सडकमा छाड्नु पनि अपराध हो । ‘उल्लेखित कुनै पनि किसिमको हत्या–हिंसा भएको छ भने तुरुन्त प्रहरीमा उजुरी दिनुपर्छ’ अधिवक्ता श्रेष्ठ बताउँछन् ।
प्रतिक्रिया 4