
काठमाडौं । फिल्म ‘महाराजधिराज’मा अभिनेता रमेश उप्रेती अनुबन्धित भएका छन् । शीर्षमध्येको एक भूमिकामा उनी अनुबन्धित भएको निर्माताले जनाएका छन् ।
लामो समयपछि उनी अभिनयमा फर्किन लागेका हुन् । पछिल्लोपटक उनी ‘ऐश्वर्या’मा देखिएका थिए । बीचमा उनी यो फिल्मको दोस्रो श्रृंखला ल्याउने तयारीमा थिए । केही फिल्म पनि साइन गरेका थिए ।
यसबीच नयाँ फिल्म ‘महाराजधिराज’मा उनी जोडिएको खबर आएको हो । यो फिल्मलाई परिच्छेद सेनले निर्देशन गर्न लागेका हुन् । ‘प्रेमगञ्ज’पछि उनको यो दोस्रो निर्देशकीय प्रोजेक्ट हुनेछ । सेनले यसअघि मन्त्र, एक भागवत् गीता, पर्खि बसेँ तिमीलाई, अग्निदहनको पटकथा लेखेका छन् ।
‘महाराजधिराज’को शीर्ष भूमिकामा पल शाह पनि छन् । उनी चित्रित पोस्टर सार्वजनिक गर्दै निर्माताले यसअघि दशैंको फूलपातिमा फिल्म आउने बताएका थिए ।
प्रस्तुतकर्ता विराज बिष्ट हुन् । उनले यसअघि ‘बुलाकी’ निर्माण गरेका थिए, जसले राष्ट्रिय चलचित्र पुरस्कार जितेको थियो । फिल्मको निर्मातामा टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्का छन् ।
प्रतिक्रिया 4