+

२०औं एसियन गेम्समा खेलाडीलाई ‘क्रुज सिप’मा राखिने, एथ्लेट भिलेज नबनाइने

२०८२ वैशाख  १८ गते ११:४४ २०८२ वैशाख १८ गते ११:४४
२०औं एसियन गेम्समा खेलाडीलाई ‘क्रुज सिप’मा राखिने, एथ्लेट भिलेज नबनाइने

१८ वैशाख, काठमाडौं । अर्को वर्ष जापानको आइची नागोयामा आयोजना हुने २०औं एसियन गेम्समा खेलाडी र अफिसियलहरुलाई ‘क्रुज सिप’मा राखिने भएको छ । आइची नागोया एसियन गेम्स २०२६ मा यसअघिका एसियन गेम्समा जस्तो एथ्लेट भिलेज नबनाइने भएको हो ।

नयाँ एथ्लेट भिलेज निर्माण गर्नुको सट्टा एसियन गेम्सका लागि नागोया पोर्टमा फ्लोटिङ एथ्लेट भिलेज बनाइने ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले जनाएको छ । छुट्टै एसियन गेम्स भिलेज बनाउनका लागि निर्माण लागत धेरै पर्ने भएकोले एथलेटक भिलेज नबनाउने निर्णय भएको ओसिएले जनाएको छ ।

आयोजक समिति एआईएएजीओसीले नागोया पोर्टको किन्जो पियरमा बाँधिएको क्रुज जहाजलाई अस्थायी भिलेजको रूपमा लीजमा लिने निर्णय गरेको हो ।उक्त फ्लोटिङ एथ्लेट भिलेजमा खेलाडी र अफिसियल गरी ४ हजार ६०० जना राख्न मिल्नेछ ।

बुधबार नागोया टोक्यु होटलमा भएको आइची-नागोया एसिययन गेम्स २०२६ को पहिलो प्राविधिक प्रतिनिधि (टेक्निकल डेलेगेट्स) बैठकमा उक्त तथ्याङ्क प्रस्तुत गरिएको हो ।

नागोया पोर्ट नजिकै प्रतियोगिता स्थल भएका २० वटा खेलका खेलाडीहरू उक्त जहाजमा बस्नेछन् ।

२०औँ एसिययन गेम्समा एसियाका ४५ सदस्य राष्ट्रका करिब १५ हजार खेलाडी र अफिसियलहरु सहभागि हुने अनुमान छ । त्यसमध्ये आधाभन्दा बढी नागोया शहरमा रहनेछन् ।

त्यसमध्ये ४,६०० जना क्रुज जहाजमा, २,४०० जना एसियन गेम्स ‘भिल्ला’ (अस्थायी कन्टेनर घरहरू) मा र १,२०० जना होटलहरूमा बस्नेछन् । यसरी कुल ८ हजार २०० जनाको लागि व्यवस्था गरिने भएको छ ।

प्राविधिक प्रतिनिधिहरुको उक्त बैठकमा ६७ प्राविधिक प्रतिनिधिहरू सहित ३५० जना सहभागी भएका थिए ।

यस्तै बैठकमा पाँच स्थानमा खेलाडीहरूका लागि ३० वटा आवास व्यवस्था रहने जानकारी पनि दिइएको थियो । जसमध्ये आइची (२० वटा आवास), टोक्यो (२), शिजुओका (३), गिफु (४) र ओसाका (१) मा आवास रहनेछ ।

गार्डेन पियरस्थित एसियन गेम्स भिल्लामा वाटर पोलो, बास्केटबल ५x५, महिला फुटबल, जु-जित्सु, मोडर्न पेन्टाथलन, सफ्ट टेनिस, भलिबलका खेलाडीहरूका साथै शेफ दे मिसनहरूहरु बस्नेछन् ।

यस्तै किन्जो पियरस्थित क्रुज जहाजमा आर्चरी, बास्केटबल ३x३, डुंगा/कायक (स्प्रिन्ट), माउण्टेन बाइक साइक्लिङ, बीएमएक्स साइक्लिङ, पुरुष फुटबल, जिम्नास्टिक्स, ह्यान्डबल, जुडो, कबड्डी, कुराँश, मिक्स मार्शल आर्ट्स, रोइङ, रग्बी, सेपाकतक्रा, स्पोर्ट क्लाइम्बिङ, स्क्वास, टेनिस, भारोत्तोलन, कुस्ती र उसुका खेलाडी रहनेछन् ।

ब्याडमिन्टन, क्रिकेट, पुरुष तथा महिला फुटबल र सफ्टबलका खेलाडीहरु नागोया होटलहरूमा बस्नेछन् । गार्डेन पियरको एसियन गेम्स भिल्ला र किन्जो पियरको क्रुज जहाज मिलाएर एथ्लेट्स प्लाजा बनाइनेछ । यी दुई पियरबीचको ६.५ किमी दूरी सटल बसबाट आउ जाउ गर्न १५ मिनेट लाग्नेछ ।

नागोया क्षेत्रबाहिर तर आइची प्रान्तभित्रै अन्य चारवटा खेलाडी आवास उप-क्षेत्रहरू रहनेछन् । त्यसमध्ये ओवारीमा गल्फ र महिला ह्यान्डबलका गरी ४०० जना बस्नेछन् ।

यस्तै चितामा एथ्लेटिक्स, ब्रेकिङ, बीच भलिबल, बीएमएक्स फ्रिस्टाइल साइकलिङ, ई-स्पोर्ट्स, फेन्सिङ, स्केटबोर्डिङका गरी कूल २,५०० जना हुनेछ ।

यसैगरी वेस्ट मिकावामा डुंगा/कायक – स्लालम, महिला फुटबल, सुटिङ, टेबल टेनिसका १,२०० जना र ईस्ट मिकावामा बेसबल बेसबल, बक्सिङ, रोड साइकलिङ, कराते, सेलिङ, सर्फिङ, तेक्वान्दो, ट्रायथलनका गरी १,७०० जना हुनेछन् ।

यस्तै आइची प्रान्तबाहिरका अन्य चार आवास क्लस्टरहरू समेत रहनेछन् । जस्मध्ये टोकियोमा हुने स्विमिङ र डाइभिङका साथै घुडौमा ७०० जना बस्नेछन् ।

यसैगरी शिजुओकामा आर्टिस्टिक स्विमिङ, ट्र्याक साइकलिङ, पुरुष फुटबलका गरी ४०० जना. गिफुका महिला फुटबल र हक्कीको ८०० जना र ओसाकामा पुरुष फुटबलका १०० जना हुनेछन् ।

बैठकमा खेलाडीहरूको युनिफर्म, आगमन र प्रस्थान, यातायात, लगिस्टिक, तथा खानपान सम्बन्धी विषयहरूमा पनि छलफल भएको थियो ।

तीन दिन लामो प्राविधिक प्रतिनिधि (टीडी) बैठकको बाँकी कार्यक्रमहरूमा प्रतियोगिता स्थलहरूको भ्रमण, व्यक्तिगत छलफलहरू र खेलसम्बन्धी बैठकहरू समावेश हुनेछन् ।

अनौठो अनुभव हुने विश्वास
जापानको आइची-नागोयामा आयोजना हुने २०औँ एसियन गेम्सको क्रममा क्रुज जहाजमा बस्न पाउने खेलाडीहरूका लागि यो ‘जीवनमा एकपटक मात्रै आउने अनुभव’ हुने खेल अफिसियलहरुको विश्वास छ ।

बीएमएक्स रेसिङ का प्राविधिक प्रतिनिधि म्याक्स म्यागर ले आफ्ना खेलाडीहरूले समुद्री जहाजमा बस्न पाउँदा एक विशेष अनुभव प्राप्त गर्ने बताए । ‘यस्ता अद्वितीय अनुभव सधैं राम्रो हुन्छ । एसियन गेम्सको इतिहासमै पहिलोपटक बन्दरगाहमा बाँधिएको क्रुजलाई खेलाडीहरूको भिलेज बनाउने निर्णय भएको छ’ उनले भने, ‘मलाई लाग्छ यो खेलाडीहरूका लागि निकै रोमाञ्चक अनुभव हुनेछ । शायद जीवनमा एकपटक मात्रै पाइने । यो निकै रोचक हुनेछ र म यस विचारलाई पूर्ण समर्थन गर्छु ।’

सिङ्गापुरकी साइकलिङ माउन्टेन बाइक की प्राविधिक प्रतिनिधि बिअट्रिस अल्फ्रेड लाजावा ले पनि पानीमाथिको यस्तो भिलेजले धेरै सकारात्मक पक्षहरू ल्याउने बताइन् ।

उनले भनिन्, ‘मलाई लाग्छ यो खेलाडीहरूका लागि एक अद्वितीय अनुभव हुनेछ । होटलमा बस्दा भन्दा धेरै फरक खेलका खेलाडीहरूसँग अन्तरक्रिया गर्न यो राम्रो अवसर हुनेछ ।’

आयोजक समिति एआईएएजीओसीले प्राविधिक प्रतिनिधिहरूलाई क्रुज जहाजमा बस्ने खेलका सूची समेत प्रस्तुत गरेको थियो ।

४,६०० जनाको क्षमता भएको क्रुज जहाज र गार्डेन पियरमा २,४०० जनाको लागि बनाइएका एसियन गेम्स भिल्लाहरू (अस्थायी कन्टेनर घरहरू) मिलेर एथलेट्स प्लाजा निर्माण गरिनेछ । यी दुई स्थान ६.५ किलोमिटर टाढा रहेका छन्, जसबीच १५ मिनेटमा पुग्ने सटल बस सेवा उपलब्ध हुनेछ ।

२०औं एसियन गेम्स सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म जापानको आइची-नागोयामा हुनेछ ।

२०औं एसियन गेम्स

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय