१८ वैशाख, काठमाडौं । इंग्ल्याण्डमा आगामी वर्ष हुने आईसीसी महिला टी-२० विश्वकप २०२६ को फाइनल खेल ऐतिहासिक लर्ड्स क्रिकेट मैदानमा खेलाइने भएको छ । फाइनल खेल जुलाई ५ मा लर्ड्समा खेल्ने पक्का भएको हो ।
बिहीबार लर्ड्समा आयोजित कार्यक्रममा प्रतियोगिता आयोजना हुने सात स्थान सार्वजनिक गरिएको हो । लर्ड्सको फाइनलसहित अन्य खेलहरू एडज्बास्टन, ह्याम्पशायर बौल, हेडिङ्ले, ओल्ड ट्राफोर्ड, द ओभल र ब्रिस्टल काउन्टी ग्राउन्डमा हुनेछ।
यो विश्वकप जुन १२ बाट सुरु भई २४ दिनसम्म चल्नेछ र कुल ३३ खेल हुनेछन्। पूर्ण खेल तालिका पछि सार्वजनिक गरिनेछ। प्रतियोगितामा सहभागी हुने १२ टोलीलाई दुई समूहमा बाँडिनेछ र समूह चरणपछि नकआउट चरण हुँदै फाइनल हुनेछ।
यो संस्करणमा १२ टोली सहभागी भएको अहिलेसम्मकै ठूलो सहभागिता हो। आयोजक इंग्ल्याण्ड, अष्ट्रेलिया, भारत, न्युजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका र वेस्ट इन्डिजले स्थान सुरक्षित गरिसकेका छन्।
बाँकी ४ टोली छनोट प्रतियोगिता मार्फत छनोट हुनेछन्। नेपाली महिला टोलीले पनि छनोटको पहिलो चरण अर्थात् विश्वकप एसिया छनोट यही मे महिनामा खेल्दै छ ।
आईसीसी अध्यक्ष जय शाहले भनेका छन्, ‘सन् २०२६ को महिला टी२० विश्वकपका लागि मैदानहरूको घोषणा एक महत्वपूर्ण क्षण हो। यो प्रतियोगिताले विश्वभरका उत्कृष्ट खेलाडीहरूलाई एउटै मञ्चमा ल्याउनेछ, जहाँ कौशल, आत्मा र खेल भावना देखिनेछ।’
उनी थप्छन्, ‘लर्ड्समा सन् २०१७ को महिला विश्वकप फाइनलको ऐतिहासिक सफलता अझै सम्झन लायक छ, र त्यसैले फाइनलका लागि लर्ड्सभन्दा उपयुक्त स्थल अरु केही हुन सक्दैन।’
प्रतिक्रिया 4