१८ वैशाख, काठमाडौं । नेपाली पुरुष फुटबल टिमको क्लोज क्याम्प मुस्ताङबाट सुरु हुने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को अनुसार नेपाली टोली बिहीबारै मुस्ताङ प्रस्थान गर्नेछ र एक साता उतै प्रशिक्षण गर्नेछ ।
प्रशिक्षणकै एक भागको रुपमा टोली मुस्ताङ जान लागेको हो । मुस्ताङमा नेपाली टोली फिटनेस र एन्डुरेन्समा केन्द्रित हुने एन्फाले जनाएको छ ।
नेपालले आउने जुन ५ मा हङकङसँग हङकङमै मैत्रीपूर्ण खेल खेल्नेछ । यस्तै, एएफसी एसियन कप छनोट अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले जुन १० मा लाओससँग खेल्नेछ । यो खेल लाओसको मैदानमा हुनेछ ।
मुख्य प्रशिक्षक म्याट रोसले बन्द प्रशिक्षणमा ३० खेलाडीलाई बोलाएका छन् । हाई अल्टिच्युडमा प्रशिक्षण गर्दा खेलाडीहरुलाई कठिन हुने भए पनि यसले खेलाडीलाई सहयोग पुग्ने प्रशिक्षक रोसको भनाइ छ ।
उनले मुस्ताङ प्रस्थान गर्नुअघि बिहीबार काठमाडौंमै खेलाडीहरूलाई ब्रिफिङ गरेका थिए । उनले किन मुस्ताङ जानुपर्ने कारण पनि बताएका थिए ।
‘हामी किन मुस्ताङ जाँदैछौं ? त्यहाँ हामीले बढी रेडब्लड सेल्स बनाउनेछौं । यसले अक्सिजन बोक्ने क्षमतामा सुधार गर्छ,’ रोसले खेलाडीहरूलाई ब्रिफिङमा भनेका थिए, ‘यो सबै हाम्रो मुटु र रक्तसञ्चार प्रणालीलाई बलियो र प्रभावकारी बनाउनका लागि हो । बलियो कोषले बढी ऊर्जा दिन्छ । यो सबै कुराले हामीलाई मद्दत गर्छ ।’
प्रतिक्रिया 4