+
+
Shares

किटका नेपाली विद्यार्थी भन्छन् : कलेजमा सामाजिक सञ्जाल चल्न छाड्यो

अनलाइनखबरले सम्पर्क गरेका केआईआईटीमा अध्ययरत् तीन जना विद्यार्थीले कलेजमा शुक्रबार बिहानैदेखि यी सामाजिक सञ्जाल चल्न छाडेको बताएका छन् । एक विद्यार्थीले टेलिफोनमा भने, ‘प्रकृति लम्सालको मृत्यु भएका बेला पनि प्रशासनले केही नेपाली अनलाइन समेत नचल्ने बनाएको थियो ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १९ गते १५:१०

११ वैशाख, काठमाडौं । ओडिसा राज्यस्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा नेपाली विद्यार्थीको मृत्युपछि सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम र रेडइट चल्न छाडेको छ ।

अनलाइनखबरले सम्पर्क गरेका केआईआईटीमा अध्ययरत तीन जना विद्यार्थीले कलेजमा शुक्रबार बिहानैदेखि यी सामाजिक सञ्जाल चल्न छाडेको बताएका छन् । एक विद्यार्थीले टेलिफोनमा भने, ‘प्रकृति लम्सालको मृत्यु भएका बेला पनि प्रशासनले केही नेपाली अनलाइन समेत नचल्ने बनाएको थियो ।’

लम्सालको मृत्यु हुँदा सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम र रेडइटमार्फत विद्यार्थीहरुले प्रशासनमाथि दबाब सिर्जना गराएका थिए । सामाजिक सञ्जालकै दबाबका कारण त्यो घटनाको अन्तर्राष्ट्रियकरण भएको थियो । किटका शिक्षक तथा कर्मचारीहरुले अपशब्दका प्रयोग गरेका दृश्यहरु भाइरल भएका थिए ।

बिहीबार बेलुकी किटमा स्नातक प्रथम वर्षमा अध्ययरत् विद्यार्थी वीरगञ्ज स्थायी घर भएकी १८ वर्षीय पिसा शाहको मृत्यु भएको छ । झुण्डिएको अवस्थामा उनको मृत्यु भएलगत्तै प्रहरीलाई बोलाइएको थियो । त्यसपछि उत्पन्न हुनसक्ने परिस्थितिलाई ख्यालमा राखेर सामाजिक सञ्जालमा नचल्ने बनाइएको हुनसक्ने एक विद्यार्थीले बताए ।

किटले भने सामाजिक सञ्जाल एक्समा एउटा सूचना राख्दै ‘पुष्टि नभएका दाबीहरु विश्वास नगर्न र नफैलाउन’ भनेको छ । ‘अहिले यो विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ र किटले प्रशासनलाई पूर्ण सहयोग गरिरहेको छ’, सूचनामा भनिएको छ ।

यद्यपि, विद्यार्थीहरुले अझै पनि सामाजिक सञ्जालहरु नचलेको बताएका छन् ।

भारतको विदेश मन्त्रालयले आजै विज्ञप्ति जारी गरेर प्रहरीबाट विस्तृत अनुसन्धान भइरहेको बताउँदै किटमा मृत्यु भएकी शाहको परिवारप्रति समवेदना समेत व्यक्त गरेको छ ।

‘यो दुःखद् घटनाको जानकारी पाएको क्षणदेखि नै भारतको परराष्ट्र मन्त्रालय ओडिसा राज्य सरकारसँग निरन्तर सम्पर्कमा छ’, विज्ञप्तिमा भनिएको छ, ‘ओडिसा राज्य सरकारले दिवंगत विद्यार्थीको परिवारलाई पूर्ण सहयोग प्रदान गरेको छ र हाल प्रहरीले घटनाको विस्तृत अनुसन्धान गरिरहेको छ ।’

विज्ञप्तिमा भारत सरकार सबै अन्तर्राष्ट्रिय विद्यार्थीहरुको सुरक्षा, सुरक्षासम्बन्धी चिन्ता र सर्वोपरि हितको सन्दर्भमा अत्यन्त संवेदनशील रहेको समेत भनिएको छ ।

हालसम्म शाहको मृत्युको कारण खुलिसकेको छैन । उनको मोबाइल र ल्यापटप प्रहरीले बरामद गरेको छ । शाहका बुबा र भाइ त्यहाँ पुगेपछि मोबाइलको लक खोलेर जाँच गर्ने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?