
बसन्त ऋतुसँगै पोहोर साल मेरो कोठा अगाडि घरको बाँहाबाट ढुकुरले बचेरा हुर्काएर लग्यो । यो वर्ष पनि हुर्किएर पँखेटा फट्फटाउँदै उड्ने अन्तिम तयारी गरिरहेका आफ्ना बचेरालाई लैजाने तयारीमा छ । पोहोर साल बचेरा एक्लै थियो, यस पटक सुन्दर जोडी छ । यो दुईटा बसन्तमा ढुकुर र उसको जीवनशैलीसँग म धेरै परिचित भएँ ।
परिस्थितिको परवाह नगरी ढुकुरले आफ्ना बचेराप्रति देखाएको अपार लगाव र प्रेमको हिमचुली उसको व्यवहारमा झल्किरहन्छ । यो दृश्यले निस्वार्थ प्रेम, समर्पण र बफादारिताको प्रतीक नेपाली साहित्यमा ढुकुरलाई दिइएको उपमा कमै हुन्छ । समयसँगै आफ्नो परीक्षामा ढुकुर पास भइरहेको छ । देश चलाउने शासकहरू भने पटक–पटक फेल भइरहेका छन् ।
वैशाख १७ गते ती शासकहरू फेरि एकपटक फेल भएका छन् । चाह्यो भने एउटा मनुवाले देश कहाँदेखि कहाँ पुर्याउँदो रहेछ भन्ने कुरा पुनः यही आँखाले देख्नुपर्यो र यही कानले सुन्नुपर्यो । घटना जे भए पनि दुर्घटना भएन, त्यस मानेमा हामी नेपाली सुखी र खुसी हुनुपर्छ । घटनालाई सतहमा मात्र हेरेर हुँदैन, यसको अन्तर्यमा भयानक षडयन्त्र भएको हुनुपर्छ । नेता रेशम चौधरीसँग जोडिएको घटनाले राज्य संरचना कुन अवस्थामा छ र कस्तो अपराधिक मानसिकताबाट चलेको छ भन्ने कुरा छर्लङ्गै भयो ।
यतिबेला आमनागरिकलाई देशमा सरकार भएको कुनै अनुभूति छैन । सरकारले आफ्नो वैधानिकता र औचित्य गुमाइसकेको महसुस हुन्छ । यसर्थ, ‘दुःख पाइस् मंगले, आफ्नै ढंगले’ भन्ने नेपाली उखानको चरितार्थ भएको छ । सरकार चौतर्फी घेराबन्दीमा परेको छ । अन्तर्राष्ट्रिय कूटनीति असन्तुलित छ । प्रधानमन्त्रीलाई भ्रमणको लागि निम्तो दिनुपर्यो भनेर बिन्तीपत्र चढाउँदै सार्वजनिक रूपमा हिँड्नुपर्ने बाध्यता आइपरेको छ ।
शिक्षकदेखि डाक्टरसम्म लघुवित्त पीडितदेखि सहकारी पीडितसम्म सडकमा छन् । हाँसउठ्दो कुरा त, अख्तियारको दुरुपयोग गर्दै राज्यको सम्पत्ति खर्च गरेर सरकारको नेतृत्व गरिरहेका सरकारी मान्छेहरू (खासगरी नेकपा एमाले)ले नै सडकबाटै धम्की दिइरहेको छ । निवर्तमान शिक्षामन्त्री विद्या भट्टराईले तयार गरेको आधारलाई टेकेर शिक्षक आन्दोलनको २९औं दिनमा शिक्षकको माग उधारो र आंशिक भए पनि सम्बोधन भयो भनेर प्रचार गरिएको छ । यदि त्यस्तो गर्नु नै थियो भने चैत महिनाको २२–२५ गतेभित्रै यही काम गरिदिएको भए देशले यो क्षति बेहोर्नुुपर्ने थिएन । निवर्तमान मन्त्री भट्टराईले कुर्सी छाडेर सफा टेम्पुमा यात्रा गर्नुपर्ने थिएन ।
यता, सरकार नेतृत्वको क्रियाकलापप्रति सत्ता साझेदार प्रमुख दल नेपाली कांग्रेसका जिम्मेवार नेताहरूबाट असन्तुष्टि मात्र होइन, उनीहरूबाटै सार्वजनिक रूपमा उग्रविरोध भइरहेको छ । यतिसम्म कि, कांग्रेस महामन्त्री गगन थापाले त प्रधानमन्त्रीको विस्तरासम्मै बिचौलियाहरू पुग्छन् भन्नेसम्मको अभिव्यक्ति दिएका छन् ।
उता, अक्सिजनको अभावले छट्पटाइरहेको एमाले वृत्तभित्र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको संकेत र सक्रियताले भेन्टिलेसनको काम गरेको सन्देश फैलिएको छ । भविष्यमा यसको दृश्य कस्तो आउला, पर्दा खुल्दै गएपछि थाहा हुँदै जाला ।
सुशासनको मुकुण्डोभित्र फैलिरहेको कुशासनको महामारीले आमनागरिक आक्रान्त छन् भने बिचौलियाहरू मालामाल छन् । भ्रष्टाचार गाउँगाउँसम्म संस्थागत हुँदैछ । देशको अर्थतन्त्र निरन्तर ओरालो यात्रामा छ । जादुमय ढंगले रोकिएर उकालो लाग्ने कुनै छाँटकाँट छैन । मुलुक फाइनान्सियल एक्सन टाक्स फोर्स (एफएटीएफ) को ग्रे लिस्टमा परेको छ । यस्तो बेला पनि मुलुकले एउटा गर्भनर प्राप्त गर्न नसक्नुको कारण के हो ? भन्ने कुरा सर्वसाधारण नागरिकलाई भनिराख्नै पर्दैन ।
एकातिर, आकाशिएको महँगीले बेरोजगारी शहरिया जनजीवन अस्तव्यस्त छ भने अर्कोतिर रोजगारीको खोजीमा प्रतिदिन करिब २ हजारभन्दा बढी युवाशक्ति विदेश पलायन भइरहेका छन् । अत्यधिक बसाइँसराइले गाँउ खाली हुँदै जाँदा गाउँमा मलामी छैनन्, शहरमा जनसंख्याको चाप बढ्दैछ । शिक्षा, स्वास्थ्य र कृषि झन्झन् नाजुक हुँदै गएको छ । उपरोक्त परिस्थितिको दृष्टिले देश दुर्घटनाको डिलैडिल अघि बढिरहेको छ भन्ने कुरा अनुमान गर्न कठिन हुँदैन ।
तीव्र गतिमा भएको विज्ञान र प्रविधिको विकासले सिंगो विश्व नै एक मानव शरीर जस्तै भएको छ । शरीरको जुनसुकै अंगमा छोए पनि प्रभाव परिहाल्छ । अमेरिकामा डोनाल्ड ट्रम्पको सत्तारोहणसँगै त्यहाँको नीतिमा आएको परिवर्तनले दोस्रो विश्वयुद्धपछि स्थापित भएको मूल्य र मान्यता ‘बर्लिनको पर्खाल’ जस्तै क्रमशः ढलिरहेको छ ।
हालको विश्व राजनीतिक परिघटनाले हामीलाई पनि प्रभावित नपार्ने कुरै भएन । यस्तो बेलामा हाम्रो जस्तो मुलुकको प्रमुख अस्त्र नै प्रभावकारी कूटनीति हुनुपर्ने हो । तर सरकारको ध्यान त्यतातिर पटक्कै देखिँदैन । शक्तिशाली राष्ट्रबीचको अन्तरविरोध र स्वार्थको कारण क्षेत्रीय युद्धको चपेटामा खाडी राष्ट्र पर्यो भने त्यसको परिणामले हामीलाई भयावह संकटमा पार्ने निश्चित छ । किनभने, खाडी राष्ट्रमा रोजगारको निम्ति ३५ लाख भन्दाबढी नेपाली छन् । उनीहरूकै भरमा यता लाखौँ परिवारका करोडौं सदस्य निर्भर छन् । कथंकदाचित त्यहाँ अनपेक्षित संकट आइलागेमा यहाँ रेमिटेन्स ठप्प हुनेछ । उनीहरूको उद्धार देशको निम्ति महाप्रलय बन्नेछ । त्यतिबेला, आइलाग्ने दशाको पूर्वानुमान अहिले नै गर्न सकिँदैन ।
त्यसका लागि युद्धस्तरमा खटेर परिणाम देखिने गरी नागरिकलाई सरकारले विश्वास दिलाउँदै लैजानुपर्ने हो । तर सरकार प्रतिक्रियाको राजनीतिमा समय बर्बाद गर्दै रमाइरहेको छ । दिनमा दर्जनौँ सार्वजनिक कार्यक्रममा ‘सरकार ढल्दैन–ढल्दैन’ भनेर सरकार प्रमुखले नै समय र शक्ति खर्च गरिराखेका छन् ।
सरकार यतिबेला समाजलाई विभाजन गराउन सामाजिक, सांस्कृतिक र धार्मिक असहिष्णुता चुल्याउन सुनियोजित ढंगले लागिपरेको महसुुस हुन्छ । केही ताजा घटनाहरूले त्यही कुरालाई बल पुर्याउँछ ।
लोकतन्त्रमा मानव अधिकार आधारभूत सर्त हो । त्यही अधिकारको निम्ति इतिहासमा कहिले शान्तिपूर्ण त कहिले विद्रोहात्मक लामो संघर्ष भयो । स्वयं केपी शर्मा ओली लगायत हजारौँ हजार राजनीतिक योद्धाहरू राजबन्दीको मुद्दामा अमानवीय ढंगले जेलनेल बस्नुपर्यो । हजारौँले जीवन बलिदान गर्नुपर्यो । फलस्वरूपः नेपालको गणतान्त्रिक संविधानमा मानव अधिकारको सुनिश्चितासँगै संविधानतः आज स्वयं केपी शर्मा ओली नै प्रधानमन्त्री छन् ।
ठिक यही बेला राप्रपाका नेता रवीन्द्र मिश्रलाई हतकडी लगाएर हिँडाइरहेको दृश्यले पञ्चायती क्रुर शासनको झल्को दिन्छ । राजतन्त्रकालीन व्यवस्थामा लोकतान्त्रिक गणतन्त्रवादीहरूलाई अमानवीय र दुव्र्यवहार भयो । आज लोकतान्त्रिक गणतन्त्रवादीहरूले बदलास्वरूप त्यो व्यवहार गर्नु गलत हो । यदि गरिन्छ भने स्वतः प्रश्न उठ्छ– लोकतान्त्रिक गणतन्त्रवादी र राजतन्त्रवादीबीच के भिन्नता हुन्छ ?
यी र यस्तै कर्मले लोकतन्त्रमाथि नै गम्भीर प्रश्न उठाउने कुचेष्टा भइरहेको छ । यसबाट स्पष्ट हुन्छ, सरकारकै पहलमा असहिष्णुतालाई उकेरा हाल्ने काम भइरहेको छ । यस्तो घृणित र अलोकतान्त्रिक कार्य तुरुन्त बन्द गरिनुपर्छ ।
२७ वर्ष लामो जेल जीवन बिताएका नेल्सन मण्डेलाले आफ्नो जीवन दर्शन र दृष्टिकोणलाई भुलेर असहिष्णुतापूर्वक कदम उठाएको भए विश्व मानव समुदायले ठूलो क्षति बेहोेर्नुपर्ने थियो । तर उनले व्यक्तिगत बदलाको निम्ति नभई दक्षिण अफ्रिकाको समग्र भविष्यका लागि संघर्ष गरेका थिए । त्यसलाई व्यवहारबाटै स्थापित गरे । मण्डेलाले बदला र घृणा होइन, मानवीय करुणासहित विरोधिहरूसँग सहकार्य गर्दै लोकतान्त्रिक प्रणालीलाई सफल पार्न अब्बल नेतृत्व प्रदान गरे । के इतिहासबाट हामी यस्ता कुरा सिक्न सक्दैनौँ ?
यतिबेला, धर्मनिरपेक्षताको बदनाम गर्दै/गराउँदै असहिष्णुताको उत्कर्षतिर समाजलाई धकेल्ने निरन्तर गलत प्रयास भइरहेको छ । ‘आफ्नो थैलीको मुख कसेर बाँध्नू, साथीलाई चोरको आरोप नलगाउनू’ भन्ने चर्चित नेपाली उखानलाई आत्मसात गर्दा जीवनको दर्शन भेटिने गर्छ ।
माक्र्सवादले पनि भन्छ कि, वस्तुको आन्तरिक पक्ष नै प्रधान हुन्छ । जे हुँदैछ र हुन खोज्दैछ त्यो हाम्रो आन्तरिक पक्षकै कारणले हो । कतिपय भुक्तभोगीहरूले भनेका थिए र विश्लेषकहरूले भनिरहेका छन्– नेपालको ऐतिहासिक राजनीतिक घुम्तीहरूमा भारतीय मिडियाको सघन उपस्थिति हुने गर्छ ।
पछिल्लो समयमा केही जिम्मेवार भारतीय मिडिया घरानाले सन्तुलित रिपोर्टिङ गरे तापनि विशेषतः दक्षिणपन्थी विचार राख्ने अधिकांश मिडियाले धर्मनिरपेक्षताको विरोधलाई नेपाली जनताको आवाज भनेर गलत प्रचार गरिरहेका छन् । कतिले त धर्मनिरपेक्षतालाई भारत–नेपाल सम्बन्धलाई बिगार्ने अभिप्रायले चीन र पश्चिमी राष्ट्रहरूको प्रभाव रहेको भन्दै उत्तेजनात्मक र दुष्प्रचार गरिरहेका छन् ।
दक्षिणपन्थी पार्टीहरूले हिन्दूराष्ट्रको पक्षमा घोषित नीति नै अघि सारे पनि कांग्रेस र एमालेले धर्मनिरपेक्षतालाई संवैधानिक रूपमै स्वीकार गरिसकेका छन् । तर कांग्रेस भित्रका परम्परावादी नेताहरूले पार्टीको औपचारिक कार्यक्रमहरूमै धर्मनिरपेक्षताको विरुद्धमा कम्मर कसेर अजेन्डा उठाउँदै आएका छन् ।
पछिल्लो समयमा, संविधान संशोधनको बहानामा नेपाली कांग्रेसका नेता डिला संग्रौलाको संयोजकत्वमा गरिएको अन्तक्र्रिया कार्यक्रमबाट निकालिएको निष्कर्ष प्रतिवेदनमा धर्मनिरपेक्षताको खारेजी र हिन्दूराष्ट्र स्थापनाको सिफारिस गरिएको छ । त्यस्तै, नेकपा एमालेका नेताहरूले पनि धर्मनिरपेक्षतको सम्बन्धमा अस्पष्ट अभिव्यक्तिहरू दिएका थुप्रै प्रमाण छन् ।
उदाहरणका लागि, पूर्वएमाले नेता घनश्याम भुसालले एमालेको औपचारिक बैठकमा धर्मनिरपेक्षताबारे स्पष्ट र एकरूप नीति नभएको भन्दै त्यसबेला कडा आलोचना गरेको कुरा सार्वजनिक भएको थियो । केपी ओलीले त, पशुपतिनाथमा करोडौंको जलहरी चढाएको र चितवनको माडीमा रामको जन्म भएको भन्दै धेरै राज्यकोषको दुरुपयोग गरेका छन् । यी तथ्यहरूबाट प्रमाणित हुन्छ– थैलीको मुख योजनावद्ध खोलिदिने काम ठूला पार्टीका नेताहरूबाटै भइरहेको छ ।
हेक्का रहोस्, बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक संविधानको आत्मा हो । गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशिताको प्रमुख चार खम्बामाथि नेपालको संविधान उभिएको छ । यी चार खम्बामध्ये कुनै एक खम्बा ढले नेपालको संविधानको धुरी ढल्नेछ । त्यसपछि देश कहिल्यै निस्किन नसक्ने द्वन्द्वको चक्रभित्र फस्ने खतरा छ । त्यही द्वन्द्वको बाटो भएर देशको सार्वभौमिक सत्तामाथि वैदेशिक हस्तक्षेप हुनेछ र देशको मानचित्र धर्मसंकटमा पर्नेछ । केपी ओलीको क्रियाकलापले त्यही स्थितिलाई निम्तो दिइरहेको अनुमान लगाउन गाह्रो छैन ।
अन्तमा, त्यो ढुकुरले जीवन सिकायो । आफ्ना सन्तानप्रतिको अभिभावकत्व सिकायो । ढुकुरले आफ्नो नियम र कर्तव्यप्रति लगनशिलता देखायो । अझ घोत्लिँदा ढुकुरले शान्ति, मेलमिलाप र सहअस्तित्वको सन्देश प्रवाह गर्यो । सन्तान र जीवनप्रतिको कर्तव्य र पद्धतिमा भ्रष्ट आचरण कहिल्यै देखाएन । तर त्यसविपरीत सरकार भने देश र जनताप्रति कहिल्यै उत्तरदायी भएन । अभिभावकत्व प्रदान गरेन । सरकारको आचरण भ्रष्ट भयो । घिउ देखाएर, गोबर बेच्ने व्यापारी जस्तै भयो । फेरि भनौं– सरकार ! सानो ढुकुरबाट ठूलो दर्शन सिक ।’
प्रतिक्रिया 4