
२२ वैशाख, सुर्खेत । यार्सागुम्बा संकलनका लागि डोल्पालाका पाटनहरू आगामी जेठ ५ गतेदेखि खुला गरिने भएको छ ।
डोल्पाको सदरमुकाम दुनैमा बसेको सर्वपक्षीय बैठकले आगामी जेठ ५ गतेदेखि सबै पाटनहरू खुला गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए ।
‘गत वर्षभन्दा यो पटक अलि छिटो पाटनहरू खुल्ला गर्ने निर्णय भएको छ’, प्रजिअ महतले भने, ‘समयमै पानी र हिमपात भएपछि एक महिनाका लागि पाटन खुल्ला गर्ने सर्वपक्षीय सहमति भएको छ ।’
उनका अनुसार यार्चागुम्बा संकलनका लागि शे-फोक्सुन्डो राष्ट्रिय निकुञ्ज क्षेत्र र डिभिजन वनको क्षेत्रमा पर्ने सम्पूर्ण पाटन आम मान्छेहरूका लागि खुल्ला गरिने छ ।
यार्सा टिप्न पाटन जानेहरूका लागि तीन प्रकारका प्रवेश अनुमति पत्रको व्यवस्था गरिएको छ । जसअनुसार मध्यवर्ती क्षेत्रभित्रका बासिन्दालाई एक हजार, डोल्पा जिल्लाभित्रकालाई दुई हजार र जिल्ला बाहिरकालाई तीन हजार शुल्क निकुञ्जले निर्धारण गरेको छ ।
बैठकले पाटनमा सामुदायिक वन उपभोक्ता समितिबाट माग भएमा सुरक्षाका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान र नेपाल प्रहरी परिचालन गर्ने समेत निर्णय गरिएको प्रजिअ महतले बताए ।
लोप हुँदै गएको बहुमूल्य जडीबुटी यार्चागुम्बा संरक्षणका लागि पाटन क्षेत्रमा फोहोर सङ्कलन गर्ने व्यक्ति वा समूहलाई नगदसहित पुरस्कृत गर्न सम्बन्धित समिति र स्थानीय तहसँग सहकार्य गर्ने निर्णय समेत भएको छ ।
पाटन क्षेत्रको गस्तीका लागि निकुञ्ज कर्मचारी र सेना परिचालन भइसकेकाले तोकिएको मितिअगावै पाटन क्षेत्र पुग्नेलाई कारबाही गरिने बताइएको छ । प्रत्येक वर्ष डोल्पाका उच्च हिमाली क्षेत्रमा रहेका पाटनमा हजारौं सर्वसाधारण यार्सा संकलनका लागि पुग्ने गर्छन् ।
डोल्पामा २०४० सालदेखि यार्साको व्यावसायिक सङ्कलन सुरु भएको थियो । यार्सा संकलनका लागि डोल्पा, जाजरकोट, रुकुम पश्चिम लगायतका क्षेत्रहरूबाट अधिकांश घर नै खाली गरेर जाने गर्दछन् ।
प्रतिक्रिया 4