
काठमाडौं । शुक्रबारदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘जार’लाई प्रिमियर गरिएको छ । नेपालीभाषी बहुल पूर्वोत्तर भारतका सिक्किम र सिलिगुडीमा प्रिमियरपछि मंगलबार ललितपुरस्थित क्यूएफएक्सको हलमा प्रिमियर गरिएको हो ।
मगर समुदायको संस्कृति झल्किने नृत्यसहित सुरु भएको प्रिमियरमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, कांग्रेस सांसद उदय जबरा, नेतृ हिसिला यमी, फिल्मकर्मीहरू मनीषा कोइराला, विपिन कार्की, केकी अधिकारी, प्रदीप भट्टराई, ज्ञानेन्द्र देउजा, दीपेन्द्र लामा, नवल नेपाल लगायत सहभागी थिए ।
प्रिमियरमा फिल्मले उत्कृष्ट प्रतिक्रिया प्राप्त गरेको निर्माताद्वारा प्रेषित विवरणमा उल्लेख छ । फिल्म हेरेपछि नेता भट्टराईले इन्द्रबहादुर राईको कथामा बनेको २०० सय वर्ष पुरानो परिवेशको यो फिल्ममार्फत नयाँपुस्ताले तत्कालिन समाज र जार प्रथाको इतिहास बुझ्न सजिलो हुने बताए ।
‘पाठकले रुचाएको कथालाई निर्देशकले उही मर्ममा कलात्मक शैलीले प्रस्तुत गर्नुभएको छ । नयाँ पुस्ताले नेपालको इतिहास बुझ्नका लागि पनि चलचित्र ‘जार’ हेर्नुपर्छ भन्ने मलाई लागेको छ,’ उनले भने, ‘आफूले आईएसीमा पढेको इन्द्रबहादुर राईको जार कथालाई आज चलचित्रमा हेर्न पाउँदा निकै आनन्द आयो ।’
यो फिल्मलाई राज्य कर छूट दिनुपर्ने भट्टराईको आग्रह छ । सांसद जबराले फिल्म मौलिक लागेको बताए । फिल्मले सामाजिक सन्देश दिएको बताउँदै उनले फिल्म हेर्न आग्रह गरे ।
अभिनेत्री कोइरालाले ‘जार’ नेपाली फिल्मको बढ्दो गुणस्तरको प्रमाण भएको बताइन् । ‘हामीले पछिल्लो समय उत्कृष्ट चलचित्र दिएका छौँ र ‘जार’ त्यसैको निरन्तरता हो । यसले हाम्रो इतिहास र साहित्यलाई चलचित्रको माध्यमबाट जीवन्त बनाएको छ । प्राविधिक पक्षमा केही चुनौती भए पनि कथा भन्ने शैलीमा हामी विश्वस्तरमा प्रतिस्पर्धा गर्न सक्छौँ’ उनले भनिन् ।
अभिनेता कार्कीले ‘जार’ नेपाली फिल्मको विकासमा एउटा महत्वपूर्ण पाइला भएको बताए । अभिनेत्री अधिकारीले निर्देशक फुर्वाछिरिङ लामाको आत्मविश्वासको प्रशंसा गरिन् ।
नेतृ यमीले ‘जार’ समसामयिक सन्दर्भको सशक्त फिल्म रहेको बताइन् । अहिले आर्थिक राजनीतिक समस्या नै नेपाली युवा युवतीको घाँटीमा जार बनेर झुन्डिएको उनले बताइन् । अहिले हजारौँ युवती एयरपोर्टबाट विदेशतिर लखेटिने गरेको स्मरण गर्दै उनले सरकारमा रहेकाले यो फिल्म हेर्नुपर्ने बताइन् ।
निर्देशक लामाले ‘जार’ हेरेपछि निर्देशकको कलात्मक उत्कृष्टता र नेपाली सिनेमामा नयाँ उचाइ भएको प्रतिक्रिया दिए ।
प्रिमियरपछि अभिनेता सौगात मल्लले आफूले २६/२७ वर्ष देखि कल्पना गरेको फिल्ममा काम गर्न पाउँदा निकै खुसी लागेको बताए । अभिनेता अनुपविक्रम शाहीले इतिहासलाई फिल्मले पर्दामा उतार्ने प्रयास गरेको बताउँदै दर्शकको साथ पाउनेमा आशावादी रहेको बताए ।
सन् १८०० को दशकको वास्तविक घटनामा आधारित यो फिल्म शुक्रबारदेखि प्रदर्शन तयारीमा छ । होप रिल्स, एलए सेभेन सर्टस, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा निर्माण भएको फिल्मको छायांकन सिक्किममा गरिएको छ । कार्यकारी निर्मातामा त्रिलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन् ।
प्रतिक्रिया 4