
२५ वैशाख, पोखरा । चक्रीय अन्नपूर्ण पदमार्ग हुँदै थोरङ पास वा तिलिचो तालसम्म पुग्ने बाटोमै पर्छ, मनाङ गाउँ । गाडी वा पदमार्ग हुँदै चामेबाट ३० किलोमिटर गएपछि अधिकांशको बास बस्ने गाउँ यही हो ।
मनाङ गाउँको छेऊमै छ, गंगापूर्ण ताल । गंगापूर्ण, अन्नपूर्ण चौथोबाट बग्दै आएको हिमनदीले बनेको ताल । शिरमा हिउँ, हिमालबाट बग्दै आउने ग्लासिएर, चारैतिर डाँडाकाँडा, बीचमा निलो दह र छेउबाटै कलकल बग्ने मर्स्याङ्दी नदी । यति भए के चाहियो ? प्रकृतिप्रेमीको मन बहलिइहाल्छ ।
गंगापूर्ण हिमाल हुँदै आइपुग्ने हिमनदीबाट बनेको गंगापूर्ण ताल पुग्दा जो कोही पनि चंगा हुन्छन् । मौसम खुल्दा हिमालको काखमै देखिने गंगापूर्ण अद्भूत देखिन्छ र पुग्नेहरू चिच्याउँदै, उफ्रिँदै मजा लिएका देखिन्छन् ।
गंगापूर्ण निलो ताल र हिमाललाई पृष्ठभूमिमा राखेर फोटो खिचाउँदै रमाइरहेका, तालकै छेउछाउमा प्रकृतिको आनन्द लिँदै पल्टिरहेका, हिमतालको चिसोपानी छोएर महसुस गरिरहेका दृश्यहरू त्यहाँ देखिन्छन् ।
गंगापूर्ण ताल र आसपासको अद्भूत दृश्यकै कारण भारतीय फिल्म ‘उचाइ’ निर्माण पक्षले यही ठाउँ रोजेको थियो ।
अमिताभ बच्चन, अनुपम खेर, बोमन इरानी, परिणिती चोपडालगायत अभिनित फिल्मले सगरमाथा आधारभूमिसम्मको आरोहणलाई देखाउने भएका कारण ताल भने देखाइएको छैन । गंगापूर्ण ताल छेऊकै ठूलो ढुंगामा सगरमाथा बेसक्याम्प लेखेर फिल्म देखाइएको छ ।
‘गंगापूर्ण ताल र यस आसपासको वातावरण देखेर अनुपम खेर निकै मोहित भएका थिए । गंगापूर्णको निश्चल पानीले आफू पनि निश्चल र सफा बनेको उनको प्रतिक्रिया थियो,’ फिल्म छायांकनकै क्रममा भेटेका तथा आफ्नै होटलमा स्वागत गरेका विनोद गुरुङले भने, ‘गंगापूर्ण पुग्ने जो-कोही पनि फुरुंग हुन्छन् ।’
समुद्र सहतदेखि ४ हजार ९ सय १९ मिटर उचाइमा रहेको विश्वकै अग्लो ठाउँमा रहेको तिलिचो ताल पुग्न नसक्नेहरू वा समय नहुनेहरूका लागि ३ हजार ५४० मिटर उचाइमा रहेको गंगापूर्ण गतिलो गन्तव्य बनेको छ ।
मनाङको भूगोल र मौसमको मजा लिन चाहने तर हिँड्न नसक्नेका लागि गाडी पुग्ने भएकाले यहाँसम्मको उत्कृष्ट गन्तव्य बन्ने गरेको छ । तिलिचो पुग्दा मनाङ गाउँभन्दा माथि खाङ्सार छ, त्योभन्दा माथि अर्को बस्ती छैन । एकैपटक धेरै उचाइमा पुग्दा लेक लाग्ने भएकाले थोरङ पास गर्ने र तिलिचो पुग्नेहरू मनाङ गाउँमा बास बस्ने गर्छन् भने कतिपय गाडीमा त्यहीँसम्म पुगेर गंगापूर्ण तालको आनन्द लिएर फर्किने गरेका छन् ।
यही गाउँको नामबाट जिल्लाकै नाम मनाङ बनेको हो । अहिले गंगापूर्ण ताल मनाङ ङिस्याङ गाउँपालिका-६ मा पर्छ । अहिले भने पर्यावरणविद्, स्थानीय र सरोकारवालाको एउटै चिन्ता छ, कतै अद्भूत र मनमोहन गंगापूर्ण तालको अस्तित्व नै मेटिने त होइन ?
२०७८ सालमा आएको बाढीले गंगापूर्ण ताललाई बगरमा परिणत गरिदियो । २०७८ असार र साउनमा भएको वर्षाले मनाङबासीले कहिल्यै नदेखेको बाढी, पहिरो देखे र त्यसकै मारमा पर्यो गंगगापूर्ण ताल पनि । बाढीले ताललाई ढुंगा, माटोले भरिदियो ।
‘गंगापूर्ण ताल मनाङको मात्र होइन, देशकै गहना हो । जति पनि पर्यटक आउँछन्, यो ताल नघुमी फर्किँदैनन् । जलवायु परिवर्तनका कारण केही वर्षदेखि भने यसको अस्तित्वकै चिन्ता बढेको छ,’ स्थानीय व्यवसायी तथा पर्यटन अभियन्ता विनोदले भने, ‘हिमालका ग्लासियर पग्लिएर बग्दै तालमै आउँछ । पानीले बगाएर ल्याएको गेग्रानले बर्सेनि ताल पुरिरहेको छ ।’
गुरुङका अनुसार २०७८ सालको बाढीले ताल नै पुरिदिएको थियो । पछि त्यहाँ गेग्रान निकाल्ने, ड्याम लगाउने गरेर ताललाई जोगाइएको भए पनि पहिलेभन्दा धेरै साँघुरो भइसकेको छ । जलवायु परिवर्तनले हिउँ पर्ने ठाउँमा नपर्ने, हिमाल पग्लिएर कालै हुनेजस्ता समस्याले मनाङको मोहकलाई नै खलबल पारिदिएको पूर्व राष्ट्रिय सभा सदस्य कोमल गुरुङको अनुभव छ ।
तीनै तहका सरकारले बेलैमा सोचेनन् भने एकदिन गंगापूर्ण ताल नै नास भएर जाने विनोदको भनाइ छ ।
‘ताल संरक्षणमा डीपीआर तयार गरी समयमै ध्यान दिन हामी माग गर्छौं,’ अभियन्ता विनोदले भने, ‘बस्ती र गाउँलाई नै असर पार्ने जोखिम नभए पनि तर ताल नै नरहने हो कि भन्ने जोखिम छ ।’ कुनै दिन गंगापूर्ण ताल नै मर्स्याङ्दी नदीमा मिसिने त होइन भने चिन्ता भएको उनले सुनाए ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पनि गंगापूर्ण तालको विचरण गरेर मजा लिए । उनले पनि जलवायु परिवर्तनको मारले गंगापूर्ण तालको अस्तित्वमै उठेको प्रश्नले चिन्तित बने ।
‘अद्भूत र निकै सुन्दर रहेछ गंगापूर्ण ताल तर सँगै जलवायु परिवर्तनले यसमा परिरहेको प्रभावले पनि चिन्तित बनायो । हामी चिन्तामात्रै व्यक्त गरेर बस्ने छैनौं । यसको संरक्षण र जलवायु परिवर्तनको असरले तालको अस्तित्वमा संकट पर्न नदिन केही न केही बजेटको व्यवस्था गर्छौं,’ मुख्यमन्त्री पाण्डेले भने, ‘गण्डकीको प्रमुख गतिविधि भनेकै पर्यटन हो र पर्यटनलाई जोगाइराख्ने, आर्थिक चलायमान बनाउने यस्तै सम्पदाले हो ।’
प्रतिक्रिया 4