+
+
Shares

कारागारमा कैदीबन्दीको गुपचुप मृत्यु, किन खोजिँदैन कारण ?

उपचारका लागि भन्दै अस्पताल लगिएका कैदीबन्दीहरुको श्रृंखलाबद्ध मृत्यु भइरहे पनि प्रशासनले कारण खोज्नतिर ध्यान दिने गरेको छैन

हरि अधिकारी हरि अधिकारी
२०८२ वैशाख ३१ गते ६:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मोरङ कारागारमा दुई कैदीको मृत्यु भएको घटनाले मृत्युको कारण स्पष्ट नभएको र पोष्टमार्टम नगरी शव परिवारलाई जिम्मा लगाइने परम्परा जारी रहेको छ।
  • कारागारमा कैदीहरूको मृत्युको कारण अनुसन्धान नहुनु र स्वास्थ्य सेवाको अवस्थाको कमीले मानव अधिकारकर्मी र नेताहरूले चिन्ता व्यक्त गरेका छन्।
  • नयाँ भवनको उद्घाटनसँगै मोरङ कारागारको क्षमता बढाइएको भए पनि, अझै पनि कैदीहरूको स्वास्थ्य र मानव अधिकार संरक्षणमा सुधार आवश्यक रहेको देखिन्छ।

३१ वैशाख, विराटनगर । जिल्ला कारागार मोरङको थुनामा रहेका दुई जनाको गएको वैशाख तेस्रो साता ६ दिनको अन्तरमा मृत्यु भयो ।

वैशाख २१ गते आइतबार ५४ वर्षीय थुनुवा प्रवीण तामाङले कोशी अस्पतालमा उपचारका क्रममा ज्यान गुमाए । चिकित्सकहरुका अनुसार, उनलाई श्वासप्रश्वासको समस्या थियो ।

वैशाख १५ गते उर्लाबारी नगरपालिका–१ घर भएका कैदी ४३ वर्षीय मित्रकुमार दनुवारको कोशी अस्पतालमै मृत्यु भयो । उनी जबरजस्ती करणी मुद्दामा २५ वर्ष कैद सजाय सुनाइएका कैदी हुन् । दनुवारलाई अस्पताल पुर्‍याएको २ दिनपछि र तामाङको एक दिनपछि मृत्यु भएको हो ।

एक सातामै मृत्यु भएका दुई व्यक्तिको मृत्युको थप कारण खोजिएन । पोष्टमार्टम नगरी कारागारले कागज गरेर परिवारलाई शव जिम्मा लगायो ।

२ चैत २०८१ मा पनि मोरङको पथरीशनिश्चरे नगरपालिका–४ घर भएका ३८ वर्षीय थुनुवा जितबहादुर देवानको मृत्यु भयो । अपराधिक उपद्रव गरेको कसुरमा अदालतले धरौटी बापत मागेको २५ हजार रूपैयाँ बुझाउन नसक्दा उनी कारागार चलान भएका थिए । उनको पनि पोष्टमार्टम भएन ।

मोरङ कारागारमा गत साउनदेखि वैशाखसम्मको ८ महिनामा ८ जना कैदीबन्दीको मृत्यु भइसकेको छ । जसमा ४ जना कैदी छन् । ४ जना पुर्पक्षका लागि थुनामा रहेका थुनुवाहरु हुन् ।

तर, कुनै पनि घटनामा उनीहरुको मृत्युको कारण गम्भीरतापूर्वक खोतल्ने प्रयास गरिएको छैन ।

यी कैदीबन्दी, जसले गुपचुप ज्यान गुमाए
– माघ २९ गते जबरजस्ती करणी मुद्दाका कैदी रतुवामाई नगरपालिका–५ का २९ वर्षीय किसुन टुडू सतारको मृत्यु भयो ।

– पुस २० गते हाडनाता करणी मुद्दामा कैदी बेलबारी नगरपालिका–४ का ६७ वर्षीय अम्मरबहादुर राईले ज्यान गुमाए ।

– पुस ९ गते ज्यान मार्ने उद्योगका थुनुवा ५१ वर्षीय अन्तरे भनिने बिर्खबहादुर लिम्बुको मृत्यु भयो ।

– मंसिर २ गते विराटनगर महानगरपालिका–८ का ५५ वर्षीय कैदी महानन्द राय अमातको मृत्यु भयो ।

– भदौ २३ गते बेलबारी नगरपालिका–४ घर भएका ३४ वर्षीय मनीकुमार तामाङको मृत्यु भयो । उनीविरुद्ध मोरङसहित झापा, सुनसरी, इलाम र धनकुटामा चोरी मुद्दा चलेको थियो ।

– २०८१ वैशाख १ गते लागुऔषध मुद्दाका थुनुवा नरेन्द्र लिम्बू र जेठ ८ गते ३९ वर्र्षीय धनबहादुर थापाको मृत्यु भयो ।

–२०८२ वैशाख १५ गते उर्लाबारी नगरपालिका–१ घर भएका कैदी ४३ वर्षीय मित्रकुमार दनुवारको मृत्यु भयो

–२०८२ वैशाख २१ गते ५४ वर्षीय थुनुवा प्रवीण तामाङको मृत्यु

– २०८१ चैत २ गते मोरङको पथरीशनिच्चरे नगरपालिका-४ का ३८ वर्षीय थुनुवा जितबहादुर देवानको मृत्यु

कारागारको अभिलेखमा कुनै पनि कैदीबन्दीको मृत्यु हुँदा त्यसको कारण उल्लेख गर्नुपर्छ ।

तर, मोरङ कारागारको अभिलेखमा सबैको मृत्युको कारण एउटै छ–अस्पतालमा मृत्यु भएको उपचारकै क्रममा ।’ अर्थात्, चिकित्सकीय जाँच गरेर मृत्युको कारण खोतल्नुपर्नेमा सामान्य औपचारिकताका शब्द मात्र त्यसमा लेख्ने गरिएको छ ।

कारागारको रेकर्डले कैदीबन्दीको शृङ्खलाबद्ध मृत्यु देखाउँछ तर, कैदीबन्दीको मृत्युमा कारागार प्रशासन र राज्य गम्भीर भएको देखिन्न ।

मृत्युको कारण नखोजिँदा कारागारमा कैदी कालगतीले मात्र मरिरहेका छन् कि अरु कुनै समस्याले ज्यान गुमाइरहेका छन् भन्ने विषयमा शंका उत्पन्न हुने मानव अधिकारकर्मीसमेत रहेका एमाले नेता सोमराज थापा बताउँछन् ।

‘कालगतीले मृत्यु हन्छ कि मारिन्छन् भन्ने खोजी गरिनुपर्छ,’ उनले भने,‘ सरकारको नियन्त्रणमा भएका मानिसको मृत्यु सामान्य ठानिनु हुँदैन ।’

यद्यपि, अधिकारीहरुका अनुसार, कारागारमा मृत्यु भएकाहरुको पोष्टमार्टम अनिवार्य गर्नुपर्ने कानुनी बाध्यता छैन । कानुनी बाध्यता नभएका कारण मृत्युको कारण खोजी गर्न राज्यले चासो नदिएको उनी टिप्पणी गर्छन् ।

कतिपय घटनामा कैदीबन्दीको मृत्यु भएपछि प्रक्रियागत झन्झट इंगित गर्दै पोष्टमार्टम नगर्न कारागार प्रशासनले दबाब दिने गर्छ ।

मानव अधिकारकर्मी कोशराज न्यौपाने एउटै कारागारमा निरन्तर कैदीबन्दीको मृत्यु हुँदा राज्यले कारण खोज्नुपर्ने उनी बताउँछन् । ‘मृत्युको कारण खोजेपछि मात्रै कम गर्न सकिन्छ,’ उनी भन्छन् ।

कारागार प्रशासन भन्छ–अस्पताल लगेकै छौं

मोरङ कारागारका प्रमुख गौरव ढुंगेल कारागारभित्र भएका मृत्यु शंकास्पद नभए पोष्टमार्टम नहुने बताउँछन् ।

‘बिरामीलाई उपचारका लागि हामी अस्पताल पुर्‍याउँछौं, हरेक दिन ८–१० जना उपचारका लागि जानुहुन्छ,’ उनले भने, ‘उपचारमा नलगेको भन्ने छैन, त्यसैले कालगतीले ज्यान गुमाउनु भएको मान्छौं ।’

मृत्यु भएका कैदीबन्दीहरुमा कुनै न कुनै शारीरिक समस्या देखिएको बताउँदै उनले कैदीबन्दीलाई अस्पताल लैजानुअघि कारागारमा भएका स्वास्थ्यकर्मीले चेकजाँच गर्ने बताए ।

क्षमता भन्दा पाँच गुणाबढी कैदी रहेको मोरङ कारागारमा कैदीलाई बस्ने र सुत्ने ठाउँ छैन । सानो कोठामा ३५ जनासम्म कैदीलाई राखिएको छ ।

न्युनतम मानवीय आवश्यकताका विषय पनि नराखेका कारण कैदी बिरामी परिरहन्छन् । उनका अनुसार कैदीबन्दीको उपचार खर्च पनि कोशी अस्पताललाई तिर्न बाँकी छ । ६० लाख भन्दाबढी अस्पताललाई तिर्न बाँकी रहेको उनले बताए ।

कारागारको क्षमता बढाइयो

मंगलबार भने जिल्ला कारागार मोरङको नयाँ भवन उद्घाटन भएको छ । ३६ करोड १२ लाख ८५ हजार लागतमा निर्माण भएको भवन मंगलबार गृहमन्त्री रमेश लेखकले उद्घाटन गरे ।

उद्घाटन भएको नयाँ ब्लकमा पुरुष सुधार गृह, महिला सुधार गृह, नेपाल प्रहरी भवन, सशस्त्र प्रहरी भवन, कारागार प्रशासन भवन, कारागार प्रमुखको आवास, सुरक्षा पोष्ट, नाला सडकलगायत संरचना निर्माण भएको छ ।

कारागार विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईका अनुसार नयाँ भवनसँगै पुरानो भवन पनि कैदीबन्दी राखिनेछ ।

नयाँ भवनमा २१८ जना पुरुष र ९९ जना महिला कैदीबन्दी राख्ने क्षमता छ । योसँगै अब मोरङ कारागारको क्षमता ४६८ पुरुष र १५९ जना महिलासहित ६१७ पुगेको छ । पुरानो संरचनाको क्षमता ३०० मात्रै थियो ।

मंगलबार मोरङ कारागारमा कैदीबन्दीको संख्या ९३२ पुरुष, १०९ महिला र ३ जना आश्रितनाबालकसहित १ हजार ४४ जना कैदीबन्दी छन् ।

नयाँ भवनको उद्घाटन गर्दै गृहमन्त्री लेखकले कारागारलाई सुधार गृहको रुपमा अघि बढाइएको बताए ।

‘कारागार मात्रै होइन सुधारगृहका रूपमा विकास गर्ने कुरा छ । सँगसँगै उद्योगग्रामका रूपमा पनि विकास गर्न जरुरी छ,’ उनले भने, ‘मानिस कैदीबन्दीका रूपमा कारागारमा बसिसकेपछि कुनै न कुनै सीप सिकेर केही न केही उत्पादन गर्छ । मानिस उत्पादनसँग जोडिन्छ ।’

लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?