News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली क्रिकेट टोलीले जुन महिनामा स्कटल्यान्डमा आयोजना हुने आईसीसी क्रिकेट विश्वकप लिग–२ का लागि तयारी पूरा गरी बिदाइ भएको छ।
- क्यानका अध्यक्ष चतुरबहादुर चन्दले टोलीको अभ्यास र तयारीलाई हौसला प्रदान गर्दै शुभकामना दिएका छन्।
- नेपाली टोलीको कप्तान रोहित पौडेल र उपकप्तान दिपेन्द्रसिंह ऐरी सहित अन्य सदस्यहरूले स्कटल्याण्डमा राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरेका छन्।
३१ वैशाख, काठमाडौं । आगामी जुन महिनामा स्कटल्यान्डमा आयोजना हुने आईसीसी क्रिकेट विश्वकप लिग–२ र त्यसअघि युकेमा हुने अभ्यासका लागि जाने नेपाली टोलीको बिदाइ गरिएको छ ।
बुधबार नेपाल क्रिकेट संघ (क्यान)ले मुलपानीमा एक कार्यक्रमको आयोजना गरी नेपाली टोलीको बिदाइ गरेको हो । नेपाली टोलीले युकेमा अभ्यास क्याम्पमा सहभागी भएर त्यसपछि स्कटल्याण्डमा लिग २ शृंखला खेल्ने छ ।
बिदाइ कार्यक्रममा बोल्दै क्यानका अध्यक्ष चतुरबहादुर चन्दले युके टुरले धेरै हौसला प्रदान गर्ने र अनुभवको अवसर दिने बताउँदै लिग २ शृंखलाका लागि शुभकामना दिए ।
त्यस्तै टोलीका उपकप्तान दिपेन्द्रसिंह ऐरीले तयारी एकदमै राम्रो भएको र स्कटल्याण्डमा गएर राम्रो क्रिकेट खेल्ने बताए । ‘प्राक्टिस राम्रो भएको छ, नयाँ कोच पनि आउनुभएको छ । स्कटल्याण्डमा अलि गाह्रो पिच हुन्छ तर हामी शत प्रतिशत दिनेछौं’ उनले भने ।
सहायक प्रशिक्षक ज्ञानेन्द्र मल्लले यस शृंखलाबाट सुखद नतिजा निकाल्ने उल्लेख गरे । ‘हामी अहिले राम्रो पोजिसनमा त छैनौं । तर स्कटल्याण्डमा त्यो सुधार गर्ने लक्ष्य हुनेछ । तयारी पनि राम्रो भएको छ’ उनले भने ।
नेपाली टोलीका प्रशिक्षक स्टुअर्ट ल पारिवारिक कारणले यसअघि नै इंग्ल्याण्ड गइसकेका छन् भने कप्तान रोहित पौडेलको परीक्षा भएकाले बिदाइ कार्यक्रममा उपस्थित थिएनन् । ल उतैबाट टोलीमा समावेश हुनेछन् भने रोहित केही दिनपछि जाने छन् ।
लिग २ खेल्नका लागि नेपाली टोलीमा रोहित पौडेल कप्तान तथा दिपेन्द्रसिंह ऐरी उपकप्तान छन्। त्यस्तै अन्य सदस्यमा आसिफ शेख, कुशल भुर्तेल, अनिल कुमार साह, भिम सार्की, आरिफ शेख, वसीर अहमद, गुलशन कुमार झा, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, ललित नारायण राजवंशी, नन्दन यादव र रिजन ढकाल छन् ।
प्रतिक्रिया 4