+
नेपाली क्रिकेट टोली :

युके टुर : लिग २ अगाडि इंग्लिस कन्डिशन बुझ्ने अवसर

२०८२ वैशाख  ३१ गते १८:०७ २०८२ वैशाख ३१ गते १८:०७
युके टुर : लिग २ अगाडि इंग्लिस कन्डिशन बुझ्ने अवसर

३१ वैशाख, काठमाडौं । नेपाली क्रिकेट टोलीले आउँदो जुनमा स्कटल्याण्ड गएर आईसीसी विश्वकप लिग २ को एकदिवसीय शृंखला खेल्दै छ । त्यसअघि नेपाली टोलीले युकेमा केही समय अभ्यास पनि गर्नेछ ।

युकेमा नेपालले विभिन्न चार क्लबसँग खेल्ने तालिका छ । सो क्रममा नेपालले कार्डिफ युनाइटेड, मेरिलबोन क्रिकेट क्लब (एमसीसी), ग्लोसेस्टरशायर, ग्लामोर्गनसँग अभ्यास खेलहरू खेल्ने छ ।

युकेमा गर्ने अभ्यासले कन्डिशन बुझ्नलाई ठुलो मद्दत पुग्नेछ भने त्यसले स्कटल्याण्डमा उस्तै प्रकारको पिच र कन्डिशन हुने भएकाले नेपाली टोलीलाई फाइदा पुग्ने देखिन्छ ।

नेपाली क्रिकेट टोली बुधबार नै प्रस्थान गर्दै छ र अभ्यास क्याम्पपश्चात् त्यहीँबाट स्कटल्याण्ड जानेछ । प्रशिक्षक स्टुअर्ट ल यसअघि नै इंग्ल्याण्डमा छन् ।

कन्डिशन बुझ्ने अवसर

नेपाली क्रिकेट टोलीले स्कटल्याण्डमा लिग २ खेल्नुअघि बेलायतमा गर्ने अभ्यासले सहयोग पुग्ने देखिन्छ। बेलायतको मौसम र पिचको अवस्था स्कटल्याण्डको जस्तै छ, किनभने दुवै देशको मौसम चिसो, हावाहुरीयुक्त र ग्रीन पिच हुने भएकाले पेस र स्वीङ बलिङका लागि उपयुक्त हुन्छ।

नेपालमा यस्तो अवस्था कम हुने भएकाले नेपाली खेलाडीहरूलाई त्यस्तो परिस्थितिमा खेल्न अभ्यास गर्नु आवश्यक छ जुन् अब युके टुरका क्रममा गर्न सक्ने छन् । बेलायतमा अभ्यास गर्दा खेलाडीहरूले स्विङ र सीम बलिङको अभ्याससँगै ब्याटरले पनि त्यसमा अभ्यस्त हुने गरी अनुभव बटुल्न सक्नेछन्, जसले गर्दा स्कटल्याण्डमा हुने खेलमा सजिलो हुन्छ।

स्कटल्याण्डको क्रिकेट मैदान

त्यसैगरी त्यहाँ खेल्दै गर्दा खेलाडीहरूले आफ्नो कमजोरी पत्ता लगाउन, नयाँ रणनीति बनाउनुका साथै आत्मविश्वास बढाउन सक्नेछन्। बेलायतमा अभ्यास गरेपछि खेलाडीहरू स्कटल्याण्डको मौसम र पिचसँग परिचित हुने भएकाले गर्दा प्रतियोगितामा राम्रो प्रदर्शन गर्न सहज हुन्छ। यस कारणले बेलायतमा अभ्यास गर्नु नेपाली टोलीका लागि धेरै फाइदाजनक हुनेछ।

स्कटल्याण्डमा खेल्न कठिन हुने भएकाले खेलाडीहरू पनि यहाँको अभ्यासले लिग २ खेलमा धेरै सहयोग पुग्ने बताउँछन् । उपकप्तान दिपेन्द्रसिंह ऐरीले युकेको अभ्यास राम्रो गरेर लिग २ मा आफ्नो शतप्रतिशत दिएर खेल्ने बताउँछन् ।

लिग २ मा केन्द्रित अभ्यास

नेपाली टोलीका सहायक प्रशिक्षक ज्ञानेन्द्र मल्लले नेपाली टोलीले अब खेल्ने लिग २ को शृंखलामा बढी केन्द्रित हुने गरी युकेको अभ्यासले खेलाडीको कन्फिडेन्स लेभल बढ्ने बताएका छन् । त्यस्तै प्रशिक्षक स्टुअर्ट ल पनि पछिल्लो समय इंग्ल्याण्डमा नै बस्दै आएकाले त्यहाँ अभ्यास गर्न सहज हुने बताए ।

‘पक्कै पनि स्कटल्याण्डमा खेल्न अलि टफ नै हुने गर्छ, त्यसकारण त्यहाँ गएर अभ्यास गर्नु भनेको अब महत्वपूर्ण लिग २ को शृंखलाका लागि एउटा राम्रो अभ्यास हुनेछ’ उनले भने, ‘हाम्रो नयाँ कोच स्टुअर्ट ल पनि इंग्ल्याण्डमै धेरै समय बिताएकाले त्यो प्लस पोइन्ट हो।’

यता उपकप्तान दिपेन्द्रसिंह ऐरीले पनि युकेको अभ्यासले टिमलाई स्कटल्याण्डमा खेल्न सजिलो बनाउने धारणा राखे । ‘त्यहाँको कन्डिशन टफ हुन्छ हामीले देखेकै छौं, यहाँ पनि राम्रो अभ्यास भएको छ र अब यस्तै अभ्यास युकेमा पनि गरेर हामी लिग २ का लागि राम्रो तयारी गर्न सक्छौं’ उनले भने ।

सहायक प्रशिक्षक मल्लले नेपालको टोलीमा पेस बलिङको विकल्प पनि धेरै रहेको र त्यसले बेलायत र स्कटल्याण्ड दुवैमा सहयोग पुग्नुका साथै पेस बलरहरूले ब्याटबाट पनि केही योगदान दिन सक्ने कुरा उल्लेख गरे ।

यस्ता छन् टोली

नेपालले युकेमा अभ्यास गर्ने टोलीहरूमा इंग्ल्याण्डको काउन्टी क्लबहरू पनि छन् । तीमध्ये एक टोली ग्लामोर्गानसँग नेपालले वान डे म्याच खेल्नेछ । यस टोलीमा दक्षिण अफ्रिकाका कोलिन इन्ग्राम, जर्सीका असा ट्राइब, श्रीलंकाका असिथा फर्नान्डोलगायतका खेलाडीहरू छन् ।

त्यस्तै अर्को काउन्टी क्लब ग्लोसेस्टरशायरसँग नेपाली टोलीले टी-२० खेल्ने तय छ । यस टोलीमा अस्ट्रेलियाका क्यामरन ब्यानक्रफ्ट, क्यामरन ग्रीनलगायतका खेलाडीहरू पनि समावेश छन् । ग्रीन अस्ट्रेलियाको टेस्ट टोलीमा परिसकेका छन् ।

यद्यपी यी खेलाडीहरू नेपालको अभ्यास खेलमा खेल्छन् वा खेल्दैनन् त्यसबारेमा आधिकारिक जानकारी भने आइसकेको छैन । धेरैजसो इंग्ल्याण्डकै काउन्टी खेलाडीहरू खेल्ने सम्भावना हुन्छ ।

नेपालले सबैभन्दा पुरानो मेरिलिबोन क्रिकेट क्लब (एमसीसी)सँग पनि वान डे खेल्ने तालिका छ भने कार्डिफ युनाइटेडसँग पनि वान डे खेल्नेछ ।

***

लिग २ खेल्नका लागि नेपाली टोलीमा रोहित पौडेल कप्तान तथा दिपेन्द्रसिंह ऐरी उपकप्तान छन्। त्यस्तै अन्य सदस्यमा आसिफ शेख, कुशल भुर्तेल, अनिल कुमार साह, भिम सार्की, आरिफ शेख, वसीर अहमद, गुलशन कुमार झा, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, ललित नारायण राजवंशी, नन्दन यादव र रिजन ढकाल छन् ।

नेपाली क्रिकेट टोली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय