+

ब्वाइज युनियन तेस्रो स्थानमा, श्री भगवती र मध्यपुरले अंक बाँडे

२०८२ वैशाख  ३१ गते १८:५५ २०८२ वैशाख ३१ गते १८:५५
ब्वाइज युनियन तेस्रो स्थानमा, श्री भगवती र मध्यपुरले अंक बाँडे

३१ बैशाख, काठमाडौं । शहीद स्मारक बी डिभिजन लिग अन्तर्गत बुधबार भएको पहिलो खेलमा ब्वाइज युनियन क्लबले श्री कुमारी क्लबलाई ५-३ ले पराजित गरेको छ । यस जितपछि ब्वाइज युनियन तेस्रो स्थानमा उक्लेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा ब्वाइज युनियनलाई जिताउन दिव्यविक्रम चौधरीले दुई तथा सुजित बुढाथोकी, विनोद राई र सुसन लामाले एक-एक गोल गरे ।

श्री कुमारीका लागि पाल्देन तामाङ, अरुण शाह र यामन महर्जनले एक-एक गोल गरे ।

खेलमा अग्रता श्री कुमारीले लिएको थियो । पाल्देन गुरुङले १९औं मिनेटमा पेनाल्टीमा गोल गर्दै श्री कुमारीलाई अग्रता दिलाएका थिए । तर त्यो अग्रता लामो समय टिकेन ।

सुजितले २४औं मिनेटमा ब्वाइज युनियनका लागि बराबरी गोल फर्काए । विनोदले ३२औं मिनेटमा गोल गर्दै ब्वाइज युनियनलाई पहिलो पटक अग्रता दिलाए । दिव्यविक्रमले ५७औं मिनेटमा गोल गर्दै ब्वाइज युनियनले ३-१ को अग्रता बनाए । श्री कुमारीका अरुण शाहले ६३औं मिनेटमा गोल गर्दै गोल अन्तर कम पार्ने प्रयास गरेका थिए ।

ब्वाइज युनियनका सुसन लामाले ८७औं मिनेटमा गोल गरेपछि ब्वाइज युनियनले ४-२ को अग्रता बनायो । श्री कुमारीका यामन महर्जनले ८९औं मिनेटमा गोल गर्दै खेल ४-३ को अवस्थामा ल्याए ।

दिव्यविक्रमले इन्जुरी टाइममा व्यक्तिगत दोस्रो गोल गरेपछि ब्वाइज युनियनले ५-३ को रोमाञ्चक जित हात पारेको हो ।

जितपछि ब्वाइज युनियनले ११ खेलबाट १९ अंक जोडेको छ । पराजित श्री कुमारीको समान खेलबाट १३ अंक छ र दशौँ स्थानमा छ । श्री कुमारीको रेलिगेसन खतरा अझै टरिसकेको छैन ।

लिग अन्तर्गत बुधबारै भएको खेलमा दोस्रो स्थानको श्री भगवतीले मध्यपुर युथ एसोसिएसनसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको छ । यस बराबरीपछि श्री भगवतीको ११ खेलबाट २३ अंक भएको छ र ए डिभिजनमा बढुवा हुनका लागि अझै कुर्नुपर्ने भएको छ । मध्यपुरको ११ खेलबाट १२ अंक छ र १२औं स्थानमा छ । बराबरीले मध्यपुरलाई पनि रेलिगेसन खतरा बढेको छ ।

विक्रान्त नरसिंह रानाले १९औं मिनेटमा गोल गर्दै श्री भगवतीलाई पहिले अग्रता दिलाएका थिए । तर साहिल केसीले ६१औं मिनेटमा मध्यपुरका लागि बराबरी गोल फर्काए ।

यस खेलपछि बी डिभिजन लिगको ११औं चरणका खेलहरु सकिएका छन् ।

११औं चरणसम्म अपराजित प्लानिङ ब्वाइज युनाइटेडले दुई खेल अगावै ए डिभिजन लिगमा बढुवा पक्का गरिसकेको छ । अब अर्को एक टोलीको बढुवा टुङ्गो लाग्न बाँकी छ ।

बी डिभिजन लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय