+

एनओसी समस्यासँगै खेल तालिका पनि जुध्दा मुस्तफिजुरले आईपीएल खेल्नेमा अन्योल

२०८२ वैशाख  ३१ गते २२:०५ २०८२ वैशाख ३१ गते २२:०५
एनओसी समस्यासँगै खेल तालिका पनि जुध्दा मुस्तफिजुरले आईपीएल खेल्नेमा अन्योल

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दिल्ली क्यापिटल्सले बंगलादेशका पेस बलर मुस्तफिजुर रहमानलाई आईपीएलका बाँकी खेलका लागि अनुबन्ध गरेको भए पनि, बीसीबीले उनलाई एनओसी नदिएपछि प्रक्रिया समस्या परेको छ।
  • मुस्तफिजुरको राष्ट्रिय टोली र आईपीएल खेल तालिका जुध्न सक्ने भएकाले उनी खेल्न असमर्थ हुन सक्ने सम्भावना छ, जसले टोलीको तयारीमा असर पार्न सक्छ।
  • बंगलादेशले आगामी टी-२० सिरिजहरू युएई र पाकिस्तानमा आयोजना गर्ने योजना बनाएको छ, जुन आईपीएल खेलतालिका सँग जुधिरहेको कारण उनी उपलब्धता अन्योलमा परेको छ।

३१ वैशाख, काठमाडौं । दिल्ली क्यापिटल्सले आईपीएलका बाँकी खेलका लागि बंगलादेशका पेस बलर मुस्तफिजुर रहमानलाई अनुबन्ध गरेको घोषणा गरे पनि सो प्रक्रिया समस्यामा परेको छ।

बंगलादेश क्रिकेट बोर्ड (बीसीबी)ले उनलाई अहिलेसम्म ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) नमागिएको जनाएपछी समस्या देखिएको हो ।

सामान्यतया कुनै खेलाडीले आफ्नो देशको बोर्डबाट एनओसी पाएपछि मात्र आईपीएलले आधिकारिक रुपमा घोषणा गर्ने गर्छ। तर बीसीबीका सीईओ निजामुद्दिन चौधरीका अनुसार मुस्तफिजुरका लागि कुनै पनि आधिकारिक अनुरोध आएको छैन।

‘अनुसूची अनुसार मुस्तफिजुर बंगलादेश टोलीसँगै यूएई जानुपर्नेछ’ चौधरीलाई उद्धृत गर्दै क्रिकइन्फोले लेखेको छ, ‘हामीले आईपीएल अधिकारीबाट कुनै सम्पर्क पाएका छैनौं, मुस्तफिजुरबाट पनि आधिकारिक जानकारी आएको छैन।’

यता मुस्तफिजुरको आईपीएल खेल्ने तालिका र राष्ट्रिय टोलीबाट खेल्ने तालिका पनि जुधेको छ । उनी बंगलादेशको टी-२० टोलीमा छन् जसले अब युएई र पाकिस्तानसँग टी-२० सिरिज खेल्न तयार हुँदैछ। दुवै सिरिजको मिति आईपीएलसँग जुध्ने भएकाले अर्को समस्या पनि उत्पन्न भएको छ ।

बुधबार दिल्ली क्यापिटल्सले उनलाई जेक फ्रेजर-मेगर्कको प्रतिस्थापनको रुपमा भित्र्याएको घोषणा गरेकै केही समयमा नै मुस्ताफिजुर बंगलादेश टोलीसँगै दुबई प्रस्थान गरेका छन् ।

बंगलादेशले मे १७ र १९ मा युएईमा दुई टी-२० खेल्नेछ भने पाकिस्तानमा मे २५, २७, ३० र जुन १ र ३ मा पाँच खेलको सिरिज हुनेछ। उता दिल्ली क्यापिटल्सले मे १८, २१ र २४ मा आफ्नो बाँकी तीन लिग खेल खेल्नेछ र प्लेअफ पुगेमा थप खेलहरू हुनेछन्। त्यसैले मुस्तफिजुरको उपलब्धता अन्योलमा परेको छ।

मुस्तफिजुर रहमान
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय